स्वास्थ्य

खोटाङमा फेरी देखिए संक्रमित

खोटाङमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । जिल्लाका ११ जना संक्रमित उपचारपछि घर फर्किसकेको केही समयपछि बराहपोखरी गाउँपालिका–५ पौवासेराका एक ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पूष्टी भएको हो । विदेशबाट काठमाडौं ओर्लिएर बराहपोखरी जानेक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माबिको क्वारेन्टिनमा राखिएका पुरुषलाई शनिबार कोरोना संक्रमण पूष्टी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

सरस्वती माबिमा राखिएका १७ जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाइएकामा उनको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमतिलाई हाल जिल्ला अस्पतालको आइसोलेसनमा लगेर राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । क्वारेन्टिनमा उनीसँगै एउटै कोठामा राखिएका अन्य तीन जनाको पुनः पिसिआर परीक्षणको तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना र ऐसेलुखर्क गाउँपालिकाका १ जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किसकेका छन् । खोटाङमा ६५५ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण भएको पूष्टी भएको थियो ।

प्रकाशित: १० श्रावण २०७७ १२:२४ शनिबार

कोरोना संक्रमित