स्वास्थ्य

तीन जिल्लाका लागि ओखलढुंगामा होल्डीङ सेन्टर स्थापना

प्रदेश नं. १ को तीन जिल्लाका लागि ओखलढुंगामा होल्डीङ सेन्टर स्थापना गरिएको छ । सोलुखुम्बु, खोटाङ्ग र ओखलढुंगाको तीन स्थानीय तहका लागि जिल्लाको मानेभञ्ज्याङ्ग–७ हर्कपुरमा होल्डीङ सेन्टर स्थापना गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलहुदै तथा अन्य मुलुकबाट फर्केका नागरिकलाई राख्नका लागि तीन जिल्लाको मुख्य नाका हर्कपुरमा ५० बेड क्षमताको होल्डिङ सेन्टर स्थापना गरिएको जिल्ला कमाण्ड पोष्टका संयोजक तथा ओखलढुंगा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । विदेशबाट फर्केका ओखलढुंगा लगायत सोलुखुम्बु र खोटाङ्गका नागरिक यस होल्डीङ्ग सेन्टरमा केहि समय राखिने प्रजिअ पौडेलको भनाई छ ।  

होल्डिङ सेन्टरमा रहेकाहरुलाई सम्बन्धित जिल्ला तथा स्थानीय तहमा पठाउन समन्वय हुने उनले बताए । यसअघि विदेशबाट फर्केका यि तीन जिल्लाका नागरिकहरु सुनसरीको चतारामा रहेको होल्डिङ सेन्टर भएर आउनु पर्ने बाध्यता रहेको थियो । प्रदेश सरकारको आर्थिक सहयोगमा हर्कपुर माध्यमिक विद्यालयमा होल्डीङ सेन्टर स्थापना गरिएको जिल्ला कमाण्ड पोष्ट ओखलढुंगाले जनाएको छ ।

प्रकाशित: ८ श्रावण २०७७ ०७:३२ बिहीबार

ओखलढुंगामा होल्डीङ सेन्टर प्रदेश नं. १