स्वास्थ्य

प्रदेश १ मा १९ जना कोरोना संक्रमित थपिए

प्रदेश १ को पाँच वटा जिल्लामा मंगलबार १९ जना कोरोना भाइरस (कोभिड-१९ )का नयाँ संक्रमित पुष्टि भएका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएअनुसार मोरङमा ४ पुरुष, झापामा ४ पुरुष, इलाममा २ पुरुष, सुनसरीमा १ पुरुष तथा उदयपुरमा ५ पुरुष र ३ महिला गरी १९ जनामा कोरोना भाइरस संक्रमित भेटिएका हुन् । मंगलबार कोरोना भाइरस संक्रमण मुक्त कोही पनि नभएकाले डिस्चार्ज नभएको मन्त्रालयले जनाएको छ ।  

उदयपुरको बेलकामा ५ पुरुष, ३ महिला, मोरङको धनपालमा २, रतुवामाई र कटहरीमा १–१ पुरुष, झापाको मेचीनगरमा २, दमक र गौरीगञ्जमा १–१ पुरुष, इलामको इलाम नगरपालिकामा २ पुरुष र स्थायी ठेगाना सर्लाही भएका सुनसरीका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।  

प्रदेश १ मा कोरोना भाइरस संक्रमितको ८ सय २४  जना पुगेको छ भने ७ सय १० जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार मात्रै ६ सय ६९ जनाको कोरोना परीक्षण गर्दा ३ महिला र १६ जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए । उनका अनुसार प्रदेशमा ३७ हजार ६० जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३६ हजार २ सय ३६ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्न र रिपोर्ट आउन २/३ दिन लाग्ने गरेको थियो । तर, अहिले दैनिक स्वाब संकलन गर्ने गरेको र स्वाबको रिपोर्ट त्यही दिन थालेको मन्त्रालयले जनाएको छ ।  

कोसी अस्पताल कोभिड उपचार केन्द्र विराटनगरमा २१ जना, सुन्दरहरैंचास्थित गोठगाउँको कोभिड-१९ आइसोलेसन अस्पतालमा ६२, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, सोलुखुम्बु जिल्ला अस्थाइ केन्द्रमा ४ जना, ताप्लेजुङ जिल्ला अस्थाइ केन्द्रमा १ जना र उदयपुरस्थित चौडन्ढिगढी कोभिड-१९ आइसोलेसन केन्द्रमा १ जना संक्रमितको उपचार भइरहेको र नयाँ थपिएका संक्रमितलाई आइसोलेसन भर्नाका लागि व्यवस्थापन गर्दै गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ६ श्रावण २०७७ ११:१३ मंगलबार

कोरोना संक्रमित प्रदेश १