स्वास्थ्य

टेकुमा एचआइभीको औषधि नियमित

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन्। कोभिड–१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट दिइँदै आएको छ।  

कोभिड–१९ सङ्क्रमण बढिरहेकाले अधिकांश सेवा अरु अस्पतालमा सरिएको छ। एचआइभी सङ्क्रमितमध्ये जटिल समस्या भएकालाई अरु अस्पतालाट सेवा दिइने गरे पनि सामान्य अवस्थाका सङ्क्रमित यहीँ औषधि लिन आउने गरेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए। यो अस्पताल एचआइभीमैत्री भए पनि अन्यत्र यस्तो वातावरण नपाइने भन्ने गुनासो आउने गरेको उनले बताए। उनले भने, उनीहरुलाई यहाँ जस्तो सहज नभए पनि अहिलेको अवस्थामा जानैपर्छ।

अस्पतालले सेवा अरु अस्पतालमा सारेपछि कतिपयले दुःख मनाउ गर्ने गरेको निर्देशक डा राजभण्डारीले बताए। एचआइभी सङ्क्रमितले  सोचेजस्तो सेवा नपाएको भनी गुनासो गर्ने गरेका छन्। उनीहरु एकदेखि दुई महिनामा एक पटक औषधि लिन आउने गरेका हुन्। अस्पतालमै भर्ना हुनुपर्ने गम्भीर बिरामी वीर अस्पताललगायतका अस्पतालमा जाने गरेका छन्। अस्पतालले यो सेवासँगै रेविजविरुद्धको खोप यहीँबाट सञ्चालन गर्दै आएको छ। यो सेवा अरु अस्पतालमा सार्न सहज नभएको भनी यहीँबाट सेवा सञ्चालन भइरहेको हो।  

प्रकाशित: २६ असार २०७७ ०८:३० शुक्रबार

एचआइभी नियमित औषधि