स्वास्थ्य

अस्पतालको कोठै असुरक्षित

कुरुवामाथि जबरजस्तीको प्रयास

अस्पताल जो धेरै समस्या बिरामी परेर जाने ठाउँ हो । अस्पताल जस्तो संवेदनशिल ठाउँमा आफू असुरक्षित हुन्छु भन्ने कसैको पनि सोच हुँदैन र सोच्दैनन् । तर, बुधबार ठीक त्यसको उल्टो घटना भयो विराटनगरस्थित कोसी अस्पतालको फिमेल मेडिकल वार्डमा ।

कोसी अस्पतालको फिमेल मेडिकल वार्डमा उपचार गराइ रहेकी बहिनीको हेरविचारका लागि कुरुवा बस्न एक साताअघि आएकी २१ वर्षीया युवतीलाई जबरजस्तीको प्रयास भएको घटना बहिरिएको छ ।  

कोसी अस्पतालको सुरक्षा व्यवस्था कमजोर हुँदा समय समयमा बिरामी र कुरुवाका सामान चोरी भएको घटना सार्वजनिक हुँदै आएको थियो । अस्पतालको सुरक्षा अवस्थालाई चुनौती दिँदै खोटाङ घर भई सुनसरीको इटहरी–४ मा डेरा गरी बस्दै आएकी युवतीलाई बुधबार बिहान साढे ३ बजेतिर अस्पतालको वार्डमा जबरजस्तीको प्रयास भयो ।  

फिमेल मेडिकल वार्डको २०२ नम्बरको खाली बेडमा सुतेकी युवतीलाई बुधबार बिहान ३ बजेतिर एक्कासी चुम्बन गर्दा आफू ब्यूँझिएर हेर्दा अगाडि एक अपरिचित युवालाई हुन्छन् । ‘म सुतिरहेको थिएँ । मलाई चुम्बन गर्दै संवेदनशिल ठाउँमा हात हाल्न थालेको थाहा पाएर  ब्यूँझिएर,’ युवतीले भनिन्, ‘बिहानको ३.३० बजेको हुनुपर्छ र आफूले प्रतिकार गर्दा अस्पतालको २ तले सिँढीबाट हाम्फालेर भाग्यो ।’ म नर्भस भएकाले कराउन पनि सकिन र अतालिएको बेलमा कराउनु पर्छ भनेर आएन । उ भाग्ने क्रममा सबै सिँढीको गेट बन्द भएकाले माथिबाटै हाम्फाल्यो र भाग्यो उनले भनिन् ।  

‘बल्ल होस आयो र अरुलाई हल्ला गरेर बोलाएँ,’ युवतीले भनिन्, ‘हामी सबै तल पुग्दा उ भागी सकेको रहेछ । तल्लो तलमा कुरुवा बस्नु भएको महिलालाई सोध्दा एक जना पुरुष खुट्टा खल्चाक खल्चाक बाहिर गयो भन्नु भयो ।’ त्यसपछि एकैचोटी मलाई यस्तो भयो भन्न पनि सकिन र बिस्तारै घटना सुनाएँ । त्यो केटा अस्पतालको स्टाफ नभए पनि यहाँको स्टाफसँग आउनेजाने रहेछ । मैले केटाको हुलिया बताएपछि नर्सहरूले यो मान्छे हो कि होइन भनेर फोटो देखाउँदा त्यही केटाको फोटो चिने उनले भनिन् ।  

पीडत युवतीको आफन्तले जिल्ला प्रहरी कार्यालयमा घटनाको जानकारी गराउँदै उजुरी दर्ता गराए । ‘प्रहरीले घटनालाई सामान्य लिँदै ‘अभद्र व्यवहारमा मुद्दा दर्ता गरेकोप्रति हाम्रो चित्त बुझेको छैन,’ उनीहरुले भने, ‘यौन दुव्र्यवहारको मानसिकता लिएर त्यस्तो व्यवहार गर्छ भने कसरी अभद्र भन्न मिल्छ ?’  

प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुधबार साँझ मोरङको कटहरी–४ नयाँ बजारका २४ वर्षीय सुरजकुमार मण्डललाई पक्राउ गरे जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बिरामी कुरुवा बसेकी युवतीमाथि दुव्र्यवहार गरेको पाइएपछि खोजी गरेर मण्डललाई पक्राउ गरेको बताए ।  

रातको समयमा ती युवा कसरी अस्पतालको महिला वार्डमा पुग्न सके र बिरामी कुरुवामाथि दुव्र्यवहार गर्न भ्याए भन्ने बारेमा थप अनुसन्धान अघि बढाएको छौं, राईले भने । पक्राउ परेका मण्डल हेल्थ असिस्टेन (एचए) अध्ययन गरेका युवा हुन् । उ केही समयअघि कोसी अस्पतालमै स्यंमसेवकका रुपमा काम गरेको खुलेको छ । उविरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले अभद्र व्यवहार मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित: ११ असार २०७७ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App