स्वास्थ्य

रामदेवलाई मन्त्रालयको चेतावनी : कोरोनाको औषधि बनाएको भनेर प्रचार गर्न बन्द गर

रामदेव

भारतको आयुष मन्त्रालयले योग गुरु बाबा रामदेवलाई कोरोना निको पार्ने औषधि बनाएको भन्दै प्रचारप्रसार नगर्न चेतावनी दिएको छ।  

स्वास्थ्य मामिला हेर्ने उक्त मन्त्रालयले रामदेवको पतञ्जलि आयुर्वेद लिमिटेडलाई पत्र पठाई त्यो औषधिबारे विस्तृत अध्ययन नहुँदासम्म प्रचार बन्द गर्न निर्देशन दिएको हो।  

पतञ्जलि समूहले मंगलबार बिहान कोरोना निको पार्ने दाबी गर्दै ‘कोरोनिल ट्याब्लेट’ र ‘सवारी भाती’ दुई औषधि सार्वजनिक गरेको थियो।  

साथै पतञ्जलिका अध्यक्ष आचार्य बालकृष्णले आफ्नो कम्पनीले कोरोनाको औषधि बनाएकोबारे सबै जानकारी मन्त्रालयलाई दिएको दाबी गरेका थिए।  

यो पनि पढ्नुहोस्

कोरोना निको पार्ने औषधि बनाएको बाबा रामदेवको दाबी

तर मन्त्रालयले यसबारे कुनै जानकारी नभएको भन्दै यस्तो विज्ञापन बन्द गर्न भनेको हो। अन्यथा कानुनबमोजिम कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ।  

पत्ता लगाएको भनेको औषधि कसरी बनेको, गरिएका अनुसन्धान स्थल, अस्पताल, विधि, नमुना, आदि विस्तृत विवरण उपलब्ध गराउन पनि मन्त्रालयले पतञ्जलिसँग माग गरेको छ।  

यस्तै मन्त्रालयले उत्तराखण्ड प्रदेश सरकारलाई पनि पतञ्जलिलाई कोरोनिल उत्पादन गर्न दिइएको लाइसेन्सको प्रति र अन्य विवरण उपलब्ध गराउन भनेको छ। पतञ्जलिकाे मुख्य कार्यालय उत्तराखण्ड प्रदेशको हरिद्वारमा छ।

प्रकाशित: १० असार २०७७ ०९:४३ बुधबार

कोरोनाको औषधि रामदेव