स्वास्थ्य

सँधै ढिलो आउँछ डब्लुएचओको सुझाव

कोभिड कहर

अपूर्व मान्डभिली

कोरोना भाइरसको विश्वव्यापी नियन्त्रणमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेतृत्व रहे पनि यो निकायले संक्रामक भाइरसका बारेमा भइरहेका अनुसन्धानबारे सही जानकारी संकलन गर्न र उपयुक्त सुझाव दिन नसकेको वैज्ञानिकहरुले औंल्याएका छन्।

सोमबार गरिएको पत्रकार सम्मेलनमा डब्लुएचओका एक अधिकारीले लक्षण नभएका भाइरस संक्रमितबाट रोग सर्ने सम्भावना अत्यन्त न्यून रहेको बताएका थिए। अनुसन्धानकर्ताले सो भनाइमाथि प्रश्न गरेपछि भोलिपल्टै (मंगलबार) डब्लुएचओले सो भनाइ गलत भएको स्वीकार गरेको छ। त्यसो त विश्व स्वास्थ्य संगठनको समीक्षा वैज्ञानिक धारणाभन्दा फरक भएको यो पहिलो घटना होइन।

संगठनले आममानिसले मास्क लगाउनुपर्ने सुझाव ढिलो गरेर गत शुक्रबारमात्र सार्वजनिक गरेको थियो जब कि अधिकांश वैज्ञानिक तथा सरकारले महिनौंअघि मास्क लगाउन सुझाव दिएकाथिए। संगठनले हावामा तैरिने ससाना कण अर्थात् एरोसोल भाइरस संक्रमणको महŒवपूर्ण कारक नहुने लगातार बताउँदै आएको थियो। तर अधिकांश अध्ययनले यो महŒवपूर्ण कारक हुनसक्ने देखाएका थिए।  

मिनेसोटा विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ माइकल ओस्टरहोल्म भन्छन्, ‘भाइरसका हावामा तैरिने ससाना कण अर्थात् एरोसोलका विषयमा संगठनको भनाइ र  अन्तर्राष्ट्रिय अध्ययनको निष्कर्षमा बेमेल देखिएकोछ।’ यस्ता विषयमा हुने गरेका फरक वैज्ञानिक मतले नीतिगत प्रभाव पनि पार्ने गरेकाछन्। भाइरसको संक्रमण रोक्नबिरामीलाई मात्र आइसोलेट गरेर नपुग्ने भनेर संसारका अधिकांश  देशले लकडाउनको रणनीति अख्तियार गरेकाछन्। तर कोरोना भाइरस हावामा तैरिने अत्यन्त सूक्ष्म कणका कारण सर्न सक्ने स्थितिमा मानिसले हावा राम्रोसँग प्रवाह नहुने स्थानमा हुने भिडबाट बच्नुुपर्ने हुन्छ। यस्तो बेला संक्रमणबाट बच्न हात धुनुमात्र पर्याप्त हुँदैन।

त्यसो त विश्व स्वास्थ संगठनले परम्परागत रुपमा वैज्ञानिक प्रमाणको समीक्षा गर्दा  सावधानीपूर्ण दृष्टिकोण राख्दै आएकोछ। तर अनुसन्धानहरुको गति हाल परिवर्तन भएकोछ। हिजोआज वैज्ञानिकले अनुसन्धानका प्रारम्भिक प्रतिवेदन तत्काल प्रकाशन गर्दैआएका छन्। उनीहरुले आफ्नो अनुसन्धानलाई अरु विषय विज्ञद्वारा गरिने  समीक्षालाई पर्खनेगरेका छैनन्। त्यसो त यस्ता धेरै अनुसन्धान छाटो समयमानै भ्याक्सिन बनाउनतथा भाइरसका बारेमा थप जानकारी दिन उपयोगी पनि भएकाछन् तर यिनले थप भ्रम सिर्जना पनि गरेकाछन्। कतिपयले त उच्च  प्रोफाइलका अनुसन्धानलाई फिर्ता समेत लिएकाछन्।  

विश्व स्वास्थ्य संगठनले आम मानिसले मास्क लगाउनुपर्ने सुझाव गत शुक्रबार मात्र सार्वजनिक ग-यो जब कि अधिकांश वैज्ञानिक तथा सरकारले मास्क लगाउन महिनौंअघि नै सुझाइसकेका थिए।  

‘विकसित महामारीको वर्तमान अवस्थामा विश्व स्वास्थ्य संगठनले ढिलो प्रतिक्रिया दिने गरेकोछ’, हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक आशिष झा भन्छन्, ‘तर उत्तम वैज्ञानिक डाटाका लागि हामी संगठनलाई नै विश्वास गर्ने गरेकाछौं।’ लक्षण नदेखिएका बिरामीबाट हुने संक्रमणका बारेमा संगठनले गत फेब्रुअरीदेखिनै आफ्नो धारणा परिवर्तन गरेकोछैन। चीनसँग मिलेर गरेको संयुक्त अध्ययनको प्रतिवेदनमा लक्षण नभएका बिरामीबाट हुने संक्रमण त्यति प्रस्ट भइनसकेको, यस्तो सम्भावना अत्यन्त न्यून रहेको र यो संक्रमण फैलनका लागि प्रमुख कारण नभएको उल्लेख गरिएको थियो।  

पछिल्ला अध्ययनहरुले यस्ता खाले संक्रमणको स्तर ४० प्रतिशतसम्म रहने देखाएका थिए भने हाल आएर यो मात्र ३५ प्रतिशत रहेको अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले जनाएकोछ। यी अध्ययनका कारण अमेरिकालगायत विश्वका अन्य देशले हरेक व्यक्तिले मास्क लगाउनुपर्ने व्यवस्थालाई अनुमोदन गरेकाछन्।

तर सोमबार विश्व स्वास्थ संगठनकी टेक्निकल प्रमुख डा. मारिया भान केरखोवले लक्षण नदेखिएका बिरामीबाट अन्यलाई रोग सर्ने सम्भावना अत्यन्त न्यून रहेको बताइन्। उनको यो भनाइको वैज्ञानिक समुदायले व्यापक आलोचना ग¥यो। उनीहरुले लक्षण महसुस नभएका बिरामीबाट पनि भाइरससर्ने गरेको अध्ययनहरुले देखाएको तर्क गरे। यो प्रतिक्रियापछि केरखोवले दुईतीनवटा अध्ययनका आधारमा आफ्नो प्रतिक्रिया आधारित रहेको र यो संगठनको नीति नभएको भनेर प्रस्टीकरण दिइन्। ‘मैल एउटा प्रश्नको उत्तरमा सो भनाइराखेकी हुँ’, उनले भनिन्, ‘यो संगठनको घोषित नीति होइन।’ उनले केही राष्ट्रले उपलब्ध गराएको प्रमाण तथा प्रकाशित नभएका केही अध्ययन प्रतिवेदनका आधारमा उक्त धारणा व्यक्त गरेको पनि बताइन्। तर आलोचक र संगठनका अन्य अधिकारीले समेत यस्ता धारणा आउनुअघि सूचनाको स्रोतबारे संगठन पारदर्शी हुनुपर्ने बताएकाछन्।

‘संगठनको प्रमुख दायित्व भनेकोनै वैज्ञानिक नेतृत्व हो’, संगठनअन्तर्गतको ‘कोलाबोरेटिङ सेन्टर अन नेसनल एन्ड ग्लोबल हेल्थ ल’ का निर्देशक लरेन्स गोस्टिन भन्छन्, ‘तर वैज्ञानिक समुदायसँग मेल नखाने यस्ता भनाइबाट संगठनको विश्वसनीयतामा प्रश्न उठ्छ।’

गत अप्रिलमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार लक्षण देखिनुअघिका २ दिन अरुलाई संक्रमण सर्ने हिसाबले अत्यन्त जोखिमपूर्ण हुन्छन् भने ४४ प्रतिशत नयाँ संक्रमण लक्षण नदेखिएका संक्रमितमार्फत हुने गर्छ। संगठनले यस्ता बिरामीलाई रोग लाग्नुअघिका बिरामी अर्थात् प्रि–सिम्टोमेटिक भनेर संज्ञा दिएकोछ। ‘प्राविधिक रुपमा यस्लाई ठीकै मान्न सकिन्छ’, हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक झा भन्छन्,‘तर समग्र आशय र उद्देश्यका हिसाबले उनीहरु लक्षण नदेखिएका अर्थात् एसिम्टोमेटिक बिरामीनै हुन्।’

केरखोव यी दुई शब्दावलीको प्रयोगमार्फत कस्ता खाले मानिसलाई संकेत गरिएको भनेर प्रस्ट पार्न खोजिएको दाबी गर्छिन्।‘तर दुर्भाग्यवस यी शब्दावलीको प्रयोगमा एकरुपता छैन’, उनी भन्छिन्, ‘यो विषयलाई अझ जटिल बनाउने मेरो मनशाय होइन।’

संगठनले हाच्छ्युँ गर्दा तथा खोक्दा निस्कने कणहरु रोगको संक्रमणका प्रमुख कारण रहेको र संक्रमणका हिसाबले हावामा तैरिने अत्यन्त ससाना कण अर्थात् एरोसोलको भूमिका अत्यन्त कम हुने धारणा लगातार व्यक्त गर्दै आएकोछ। पछिल्ला दिनहरुमा सार्वजनिक गरिएका प्रमाणले भने हावामा तैरिने ससाना कण पनि रोग संक्रमणका लागि उत्तिकै जिम्मेवार रहेको देखाएकाछन्। ‘संगठनले के कुरामा ध्यान पु¥याउन सकेको छैन भने खोक्दा, गफ गर्दा र श्वासप्रश्वासका क्रममा समेत एरोसोल निस्कने गर्छन्’, अमेरिकास्थित भर्जिनिया टेकमा हावाबाट हुने भाइरस संक्रमणका विषयमा अनुसन्धान गरिरहेका लिन्से मार भन्छन्।संगठनका अधिकारी लिन्से मारको तर्कमा सहमत देखिन्छन् तर उनीहरु यस्ता एरोसोलले संक्रमणमा गर्ने असरका बारेमा प्रस्ट नभएको तर्क गर्छन्। ‘हालसम्म एरोसोलबाट संक्रमण भएको पुष्टि भएको छैन’, संगठनको कोरोना भाइरस टिमका प्राविधिक प्रमुख डा. बेनेडेटा एलेग्रान्जी भन्छन्। केही वैज्ञानिक भने एरोसोलको विषयमा संगठनले अत्यन्त सानो घेरामा परिभाषा गरेको तर्क गर्छन्। उनीहरु थोरै समयसम्म हावामा तैरिने ससाना कण निलेपछि संक्रमण हुने बताउँछन्।  

संगठनको परिभाषा बीसौं शताब्दीको सुरुमा रहेको एरोसोल र हावाबाट हुने संक्रमणसम्बन्धी धारणामा आधारित रहेको आरोप मेरिल्यान्ड विश्वविद्यालयका एरोबायोलोजीका विज्ञ डा. डोन मिल्टनको छ। ‘सन् १९५०सम्म क्षयरोग धेरै समयसम्मको संसर्गबाट मात्र सर्छ भन्ने ठानिएको थियो’, उनी भन्छन्, ‘हामीलाई अहिले यो थाहा छ कि यो एरोसोलबाट मात्र सर्छ।’

मास्क र एरोसोलका विषयमा विश्व स्वास्थ्य संगठनको अडान वैज्ञानिक अध्ययनको  भन्दा स्वास्थ्यकर्मीलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्रीको आपूर्ति व्यवस्थाको चिन्ताले बढी प्रभावित रहेको आरोप वैज्ञानिकहरुको छ। संगठनले हालै उपचारका क्रममा एरोसोल निस्कने भएकाले स्वास्थ्यकर्मीले रेस्पारेटरी मास्क लगाउनुपर्ने सुझाव दिएको थियो।  

संगठनकी केरखोवले आपूर्तिका हिसाबले नभई विज्ञानका हिसाबले डब्लुएचओको निर्देशिका जारी भएको दाबी गरिन्। ‘व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को अभाव समस्याको विषय हो’, उनले भनिन्, ‘तर यसले हामीले सिफारिस गर्ने विषयलाई कुनै परिवर्तन गर्दैन। अधिकांश विज्ञ सबै विषयमा डब्लुएचओ गलत नभएपनि हावाबाट तथा लक्षण नदेखिएका बिरामीबाट संक्रमण हुनेजस्तो संवेदनशील विषयमा आफ्ना  भनाइ सार्वजनिक गर्दा विचार पु¥याउनुपर्ने बताउँछन्। ‘हामीलाई कतिपय कुरा थाहाछैन’, डा. मिल्टन थप्छन्, ‘संगठनलाई पनि धेरै कुरा थाहा छैन।’ संगठनकी केरखोव भन्छिन्, ‘यो सही हो, धेरै अध्ययनले यो विषयलाई निक्र्योलमा पु-याउन सक्छन्। हामी हरेक दिन नयाँनयाँ अध्ययन भइरहेको तथ्यलाई  स्वीकार गर्छौं।’

(न्युयोर्क टाइम्समा प्रकाशित सामग्रीको नेपाली अनुवाद)

प्रकाशित: २९ जेष्ठ २०७७ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App