स्वास्थ्य

तापक्रम नाप्दै घर पठाउँदै

किट अभावका कारण रोल्पका क्वारेन्टाइनमा बसेकाहरूलाई आरडिटी नगरी घर पठाइएको छ । हालसम्म जिल्लामा सात हजारभन्दा बढी क्वारेन्टाइनमा बसेको भए पनि तीन सय पाँचजनाको मात्र आरडिटि गरिएको छ । रोल्पाका बिभिन्न स्थानका क्वारेन्टाइनमा रहेका सात हजार बढीलाई गत सातादेखि घर पठाउन थालिएको हो । १४ दिन क्वारेन्टाइनमा बसेका उनीहरूको सामान्य तापक्रम मात्र नापेर घर पठाइएको थियो । 

जिल्लामा आरडिटि किट अभावका कारण क्वारेन्टाइनमा बसेकाहरूको तापक्रम नापेर मात्र घर पठाउनु परेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । सुरुमा क्वारेन्टाइनमा बसेका सबैको आरडिटी गर्ने भनिएको थियो । 

क्वारेन्टाइनमा बस्नेहरूको संख्या अनुमान गरेभन्दा बढी भएपछि आरडिटि आरडिटी गर्न नसकिएको हो । ‘क्वारेन्टाइनबाट घर पठाइएकाहरूलाई एक हप्ता होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्यमा केही समस्या भए तत्काल स्वास्थ्य संस्था वा जनप्रतिनिलाई सम्पर्क गर्न पनि भनिएको छ,’नगर प्रमुख केसीले भने । 

त्यसो त रोल्पामा क्वारेन्टाइनमा बस्नेहरूले सामान्य मापदण्ड पनि पूरा नगरेको पाइएको छ । बाहिरबाट आएका र गाउँमै रहेकाहरू भेटघाट गर्ने गरेको गुनासो पनि आउने गरेको छ भने १४ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भनिए पनि एक हप्तामै घर पठाउने गरिएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाका अनुसार आरडिटी किट नभएपछि कतिपयलाई होम क्वारेन्टाइन बस्न अनुरोध गर्दै सात दिनमै घर पठाइएको हो ।

काठमाडौं उपत्यकाका इँटाभट्टामा र अन्य जिल्लामा मजदुरी गर्न गएका सयौं रोल्पाली घर फर्किएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । तर जिल्लाका कतिपय स्थानीय तहमा क्वारेन्टाइनको सामान्य मापदण्ड पनि पूरा नगरी उनीहरूलाई घर फकाइएका छन् । जिल्लामा हालसम्म सात हजार सात सय ९० जना क्वारेन्टाइनबाट घर फर्किसकेका छन् भने एक सय ४८ जना अझै क्वारेन्टाइनमै छन् । जिल्ला स्वास्थ्य प्रमुख अनिल केसीका अनुसार किट पर्याप्त आयो भने भारत र तेस्रो मुलुकबाट आएकाको आरडिटी गरिनेछ ।

प्रकाशित: ३ जेष्ठ २०७७ २२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App