स्वास्थ्य

सुदुरपश्चिममा किट अभावले परीक्षण रोकियो, संकलन भएका नमुना तीन दिनदेखि थन्किए

धनगढी- सुदूरपश्चिममा आरएनए एक्पेक्सन किट अभावका कारण थ्रोट स्वावको जाँच रोकिएको छ।  परीक्षण बन्द भएपछि शंस्कास्पद ५५ जनाको संकलन गरिएको थ्रोट स्वाव थन्किएका छन।  सुदूरपश्चिममा दुई वटा पिसिआर मेसिन भएपनि परीक्षण अत्यन्त सुस्त गतिमा हुँदा भारतबाट फर्केका र क्वारेन्टाईनमा बसेका अधिकाशंको परीक्षण नै हुन सकेको छैन।  सुस्त परीक्षण भैरहेकोमा किट अभाव हुँदा त्यो पनि बुधवारदेखि बन्द भएको हो।  चीनबाट ओम्नी समूहले ल्याएको पिसिआर मेशिन सुदूरपश्चिममा पठाइएको थियो।  

गुणस्तर कम हुँदा यो मेशिनमा दिनभरी ४, ५ जनाको मात्र थ्रोट स्वाव जाँच हुने सुस्त गति भएपछि कृषी तथा पशुपंक्षी मन्त्रालयमा रहेको बढी जाँच क्षमताको आरटीपिसिआर मेसिन ल्याएर धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको थियो।  यो मेशिनवाट ४ घण्टामा ९६ जनाको नमुना परीक्षण हुने क्षमता भएपनि परीक्षण अत्यन्त न्युन हुने गरेको थियो।  औसत दिनमा ३० जतीमात्र परीक्षण गरेर अहिलेसम्म धनगढीमा ६ सय ३३ जनाको नमुना जाँच भएको प्रयोगशाला प्रमुख रमेश शाहीले बताए।

बुधवार साँझ ४ जना परीक्षण भएकोमा त्यस यता आरएनए एक्पेक्सन किटको अभावमा परीक्षण रोकिएको छ।  परीक्षण बन्द हुदाँ बिभिन्न जिल्लावाट आएका ५५ नमुना थन्क्याइएका छन।  पिसिआर बिधीवाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक हुने गर्छ।  आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण रोकीएको समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा कोरोना फोकल प्रमुख नरेन्द्र सिंह कार्कीले बताएका छन।  यो किटको अभावको समस्या सुदूरपश्चिममा मात्र नभई देशभरी रहेको उनको भनाई छ। ‘किटको अभाव देशभरी नै हो, तर काठमाडौंमा ३० हजार किट आईसकेकोले याहाँ पुगेपछि जाँच शुरु हुने छ’उनले भने।

संकलित नमुना समेत थन्किएकाले संकास्पद व्यक्तीका अन्य नमुना संकलन पनि रोकिएको छ।  ईमर्जेन्सीका लागी १० वटा जती किट राखिएको र शुक्रवार केही ईमन्जेसी नमुना जाँच गरिएको ल्यावका प्रमुख शाहीले बताएका छन।

सुदूरपश्चिममा भारतकाबाट करिव डेढलाख जना प्रवेश गरेकाले परीक्षण बढी भन्दा बढी गनुपर्ने विज्ञहरुको सुझाव रहँदै आएको छ।  भारतबाट प्रवेश गरेर घर घर गएकाको परीक्षण हुन सकेको छैन नै, क्वारेन्टाईनमा बसेका अधिकाशंको समेत थ्रोट स्वाव जाँच हुन सकेको छैन।  दार्चुला र बैतडीको सिमावारी बाट केही दिन अघि प्रवेश गराइएको २ हजार भन्दा बढी मजदुरको समेत परीक्षण भएको छैन।  यस अघि पनि भारतबाट फर्केर क्वारेन्टाईनमा बसेकाहरुको र्यापिड टेष्ट जाँचमात्र गरेर घरघर पठाइएको थियो।  भारतबाट ठूलो संख्यामा घर फर्केका र लकडाउनमा समेत निरन्तर लुकिछिपी भारतबाट प्रवेश गरिरहेकाले उच्च जोखिममा रहेको सुदूरपश्चिममा परीक्षणको दायरा बढाउनुपर्ने विज्ञ शुभेषराज कायस्थ बताउँछन। ‘र्यापिड टेष्टकै आधारमा कोरोना भाईरस छैन भनेर क्वारेन्टाईनवाट घर पठाउन मिल्दैन’उनी भन्छन,‘सुदूरपश्चिममा बढी भन्दा बढी परीक्षण बढाएर सम्भावित संक्रमण फैलिने खतरालाई कम गर्नु जरुरी छ। ’

सुदूरपश्चिममा अहिलेसम्म पिसिआर विधीद्वारा २ हजार ९ सय ७८ नमुना संकलन भएकोमा २ हजार ९ सय २३ को परीक्षण भएको छ।  ५ जना पोजेटिभ र अन्य सवै नेगेटिभ आएको छ।  र्यापिड डाईग्नोष्टिक टेष्ट १४ हजार ६ सय १६ जनाको भएको छ।  १० जनाको पोजेटिभ आएको थियो।  पोजेटिभ आएका १० जनाको पिसिआर द्वारा जाँच गर्दा सवै नेगेटिभ आएको छ।

घरफर्केका संक्रमितको पुन: जाँच भएन

कोरोना संक्रमणवाट मुक्त भएर घर फर्केकाहरुलाई पुन: संक्रमण भए नभएको निश्चित गर्न घर फर्केका ३ जना संक्रमितको परीक्षण गर्न सकिएको छैन।  अस्पतालवाट फर्केपछि एक साता होम क्वारेन्टाईनमा वस्ने र त्यसपछि एक पटक जाँच गर्ने भनिएपनि अहिलेसम्म जाँच हुन सकेको छैन।  घर फर्केका धनगढी उपमहानगरपालिका ५ का युवकको भने पुन जाँच हुदाँ रिपोर्ट नेगेटिभ आएको छ।  कैलाली लम्की चुहा नगरपालिका वानं १ का ६१ बर्षिय महिला, वानं ९ का २१ बर्षिय युवक र कंचनपुर बेदकोट नगरपालिका वानं १० का पुरुष को पुन जाँच हुन सकेको छैन।  दुईवटा रिपोर्६ नेगेटिभ भएपछि संक्रमितलाई घर पठाइने गरेकोले पुन जाँच गर्नैपर्ने गाईडलाईन नभएपनि सुनिश्चित गर्नका लागी पुन जाँच गरिने सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन शेरबहादुर कमरले बताए।

नेपालमा घर फर्केका ३ जनामा पुन संक्रमण देखिएकाले याहाँ पनि जाँच गर्ने तयारी गरिएको उनले बताए।  केमिकलको अभावले परीक्षण बन्द भएका कारण अहिले उनीहरुको जाँच हुन नसकेको कमरले बताए। ‘परीक्षण सुचारु भएपछि उनीहरुको परक्षण गरिने छ’उनले भने।

प्रकाशित: २६ वैशाख २०७७ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App