स्वास्थ्य

संकटमा राउटे समुदाय

तस्बिर : राउटे बस्तीमा भत्ता वितरण गर्दै दैलेखको गुराँस गाउँपालिकाका लेखा प्रमुख टोपबहादुर शाहीलगायत नगेन्द्र उपाध्याय / नागरिक

सुर्खेत – जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका मुखिया वीरबहादुर शाहीको नौ जनाको परिवार छ। मुखिया वीरबहादुरसहित तीन छोराको कमाईले उनको चुल्होमा आगो बल्छ। श्रीमतीलाई चार छोराछोरी स्याहार्न र खाना पकाउन ठिक्क हुन्छ। कोरोना संक्रमण रोक्नका लागि भइरहेको बन्दाबन्दी (लकडाउन) का कारण उनको परिवार अहिले संकटमा छ।

 सरकारले दिने सामाजिक सुरक्षा भत्ता र काठका भाँडाकुँडा विक्री गरेर हुने आम्दानीनै राउटे समुदायको मुख्य स्रोत हो। ‘कारोनाले अहिले जंगल जान पाइँदैन्,’ मुखिया वीरबहादुरले भने, ‘सहयोगी (सहयोग दिने) पनि बस्तीमा आउँदैनन्।’ फिरन्ते यो समुदाय लकडाउनयता भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चुखोलामा बस्दै आएको छ। कोरोना संक्रमण रोक्न अहिले बसिरहेको बस्तीबाट राउटे समुदायलाई बाहिर आउन दिएको छैन्। जंगलमा प्रवेश गर्न पाएका छैनन्। ‘भत्ताको रकमले सात दिन पनि खान पुग्दैन्,’ वीरबहादुरले भने, ‘अरूले पनि सहयोग गरिदिन पाए हुँथ्यो।’
अर्का राउटे चन्द्रमान शाहीको पनि नौ जनाको परिवार छ। उनको परिवारमा काम गर्न सक्नेको संख्या तीन जना मात्रै छ। लकडाउनअघिसम्म बस्ती हेर्न दैनिक मानिसहरु आउँथे। सहयोगीहरु पनि नियमित बस्ती पुग्ने गर्थे। उनीहरुले दिने पैसा, खाद्यान्नलगायतले दैनिकी चलाउन सहज हुन्थ्यो।

लकडाउन पछि राउटे बस्तीमा कोही आउँदैनन् । काठका भाँडावर्तन बनाउने पेशा रोकिएको मात्रै छैन् दाताहरुको सहयोग पनि अहिले ठप्प छ। ‘हामीलाई अहिले ठूलो संकट आइलागेको छ,’ चन्द्रमानले भने, ‘ठुलो परिवार भएकाले छिट्टै चामल सकिन्छ, दिन कोही आउँदैनन्।’एउटै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र पढलेख नगर्ने यो समुदायमा एक सय ५२ जना सदस्य छन्। राउटे सम्वन्धी काम गर्दै आइरहेको सामाजिक सेवा केन्द्र (सोसेक)का पूर्व अध्यक्ष हिरासिंह थापा लकडाउनको प्रभाव राउटे समुदायलाई पनि परेको बताउँछन्। ‘राउटे समुदाय सिकार खेल्न र काठ काट्न जंगल जान पाएको छैन्, बस्ती नै शिल गरिएका कारण सहयोगीहरु पनि पुग्न सकेका छैनन्,’ थापाले भने, ‘विश्वव्यापी संकटले राउटे समुदायलाई पनि अछुतो राखेको छैन्।’ 

राउटे समुदाय कोरोना संक्रमणको उच्च खोजिममा पनि छ। सरसफाई नगर्ने, महिनामा एक पटक मात्रै नुहाउने, सौचालय प्रयोग नगर्ने यो समुदाय एउटै ठाउँमा झुम्मिएर बस्छ। बस्तीमा कोरोना संक्रमण रोक्नका लागि सररफाई र खानपानमा ध्यान केन्द्रीत गर्नुपर्ने आवश्यकता छ। गुराँस गाउँपालिकाका स्थायी बासिन्दा राउटे समुदाय एउटै ठाउँमा नबस्ने भएकाले सरसफाईलगायतका विषयमा ध्यान केन्द्रीत गर्न समस्या हुने गरेको अध्यक्ष खेमराज वली बताउँछन्। ‘एउटै ठाउँमा बस्ने भइदिए सौचालयलगायतका पूर्वाधार बनाउन सहज हुन्थ्यो, सहयोग एकद्धार हुन्थ्यो,’ उनले भने, ‘नियमति डुलिरहने समुदाय भएकाले हामीलाई पनि काम गर्न समस्या हुने गरेको छ।’

ऋण मागेर भत्ता

लकडाउनका कारण समस्यामा परेका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। सुर्खेत भेरीगंगा नगरपालिकाको छिन्चुखोलामा रहेका राउटे समुदायलाई बुधबार बस्तीमैै पुगेर लेखा प्रमुख टोपबहादुर शाहीले सामाजिक सुरक्षा भत्ता वितरण गरेका थिए। 
‘लकडाउनका कारण आर्थिक स्रोत बन्द भएपछि छाक टार्न पनि राउटे समुदायलाई समस्या भएको जानकारी पाएपछि व्यापारीहरुबाट ऋण मागेर भत्ता वितरण गरेका हौं,’ शाहीले भने, ‘भत्ता पाएपछि केही दिन राउटे समुदायलाई सहज हुन्छ।’ मुखिया सुर्यनारायण शाहीले सत्तासँगै खाद्यान्नको व्यवस्था गरिदिन माग गरे। ‘अहिले पैसा भएर पनि किनेर खान सक्ने अवस्था छैन्, हामी जंगलमा छौं,’ उनले भने, ‘खाद्यान्न पनि भइदिए सहज हुन्थ्यो।’

 

प्रकाशित: २५ वैशाख २०७७ ११:४४ बिहीबार

लकडाउन राउटे भत्ता