स्वास्थ्य

नेपालगन्जमा संक्रमित बढेसँगै उच्च जोखिममा कर्णाली

वीरेन्द्रनगर, - चैतको पहिलो साता मन्त्रिपरिषद् बैठकले कर्णाली र सुदूरपश्चिममा कोभिड–१९ अर्थात् कोरोना भाइरसको जोखिम बढ्नसक्ने निष्कर्ष निकाल्यो । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका हजारौं नागरिक रोजगारीका लागि भारत जान्छन् । भारतका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्कंन थाले र सीमामा ज्वरो नापेर मात्र फर्काउँदा सरकारले यस्तो निष्कर्ष निकालेको थियो । त्यति बेला नेपालमा एक जनामा कोरोना भाइरस पृष्टि भइसकेको थियो ।

चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । त्यसयता कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को प्रमुख सहर नेपालगन्जसम्म पुग्दा संक्रमितको संख्या ६९ पुगेको छ । ६ वटा प्रदेशमा कोरोना संक्रमण देखिँदा कर्णालीमा भने हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् । कर्णालीसँग सीमा जोडिएको अर्काे प्रदेश सुदूरपश्चिममा भने कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये १६ जना निको भएका छन् । 

तर, अहिलेसम्म कर्णालीमा भने कोरोना पुष्टि भएको छैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गतको प्रयोगशालाका इन्चार्ज ओम आचार्यका अनुसार कर्णालीमा पिसिआरबाट एक हजार ६९ जनाको कोरोना परीक्षण गरिएको छ । त्यस्तै कर्णालीका १० वटै जिल्लामा आरडिटी प्रविधिबाट पनि कोरोना परीक्षण गरिएको छ । उनका अनुसार करिब पाँच सयभन्दा बढीको काठमाडौंमा कोरोना परीक्षण गरिएको थियो । कर्णालीमा कोरोनाको जोखिम भनिए पनि परीक्षण प्रभावकारी नहुँदा समस्या भएको कतिपयको भनाइ छ । कर्णालीमा करिब १५ हजारभन्दा बढी सर्वसाधारण भित्रिएका छन् ।

पिसिआर परीक्षणबाट रुकुम पश्चिममा दुईजना र आरडिटी परीक्षणबाट सल्यान र मुगुका एक÷एकजनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यतिबेला कर्णालीमा त्रास पैदा भएको थियो । काठमाडौं लगेर पुनः परीक्षण गर्दा उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरदेखि १०७.९ किलोमिटरको दुरीमा रहेको बाँकेमा कोरोना पृष्टि भएपछि पुनः कर्णालीमा त्रास छाएको छ । बाँकेमा कर्णालीको बाक्लो आवतजावत हुने गर्छ । 

‘कर्णालीमा कोरोना कतिखेर कहाँ देखिन्छ, यसै भन्न सकिँदैन,’ कर्णाली प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले भने, ‘सरकारले प्रभावकारी रूपमा जनताको स्वास्थ्य परीक्षण गर्नुपर्छ ।’ आरडिटी परीक्षणबाट मात्रभन्दा पिसिआर प्रविधिबाट शंकास्पद व्यक्ति सबैको कोरोना परीक्षण हुनुपर्ने उनको भनाइ छ ।

सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) प्रभावकारी हुनु, प्रदेश बाहिर तथा विदेशबाट आएकाको स्वास्थ्य परीक्षण गरिनु र शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्नु नै कर्णालीमा कोरोना भित्रिन नसकेको कर्णाली प्रदेश सरकारी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जनाइन् । ‘कर्णाली जोखिममा थियो,’ उनले भनिन्, ‘यो रोग नियन्त्रण भइनसकेको र यसको उपचार पनि पत्ता नलागेकाले कर्णाली यसै सुरक्षित छ भन्न सकिँदैन ।’

समयमै नाका–नाकामा हेल्थ डेस्कसँगै स्वास्थ्य परीक्षण गरिनु, लकडाउनलाई कडाइ गरिनु र कोरोना परीक्षण प्रभावकारी रूपमा गरिनुले यहाँ कोरोना संक्रमण नदेखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गतको प्रयोगशालाका इन्चार्ज आचार्यले जनाए । कर्णालीमा स्वास्थ्य परीक्षण प्रभावकारी रूपमा भएको र यहाँका बासिन्दामा कोरोना संक्रमण नहुँदा कोरोना नदेखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । ‘काठमाडौं र हामीले गर्ने परीक्षण एउटै हो,’ उनले भने, ‘तर अहिलेसम्म देखिएको छैन ।’ सुर्खेतमा मात्र पिसिआर दुई सय ८९ र आरडिटीबाट १४ सय ३७ जनाको कोरोना परीक्षण गरिएको उनले जानकारी दिए ।

जोखिमसँगै त्रास बढ्यो
कर्णालीको बढी आवतजावत हुने सहर नेपालगन्जमा कोरोनाको संख्या बढ्दै गएपछि कर्णालीमा थप जोखिमसँगै त्रास पनि फैलिएको छ । सरकारले लगाएको लकडाउनपछि पनि नेपालगन्जबाट कर्णाली आउनेको संख्या नरोकिँदा यहाँ जोखिम बढेको हो ।

अलपत्र परेकाहरू नेपालगन्ज हुँदै आउने गरेकाले यहाँ जोखिमसँगै त्रास फैलिएको सुर्खेतका सुरेश केसीले जानकारी दिए । नेपालगन्जमा आइतबार ९ जनामा कोरोना भएको पृष्टि भएसँगै यहाँ १० जनामा कोरोना देखिएको छ । केही दिनमात्र नेपालगन्ज विमानस्थलबाट हुम्ला उडान गरिएको थियो । त्यहाँबाट आएका सबैको कोरोना परीक्षण गरिएको छैन । जसले कर्णालीमा कोरोनाको त्रास फैलिएको छ । कर्णालीको छिमेकी प्रदेशमा कोरोना धेरै नदेखिएपछि कर्णालीमा आन्तरिक चहलपहल बढेको थियो । नेपालगन्जमा ह्वात्तै बढेपछि अहिले उक्त चहलपहल घटेको छ ।

कोरोना परीक्षण रोकियो
किट अभावका कारण कर्णालीमा कोरोना परीक्षण प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गतको प्रयोगशालाका इन्चार्ज आचार्यका अनुसार अहिले इमर्जेन्सी परीक्षणमात्र गरिन थालिएको छ । किट आएपछि पहिलेकै अनुसार कोरोना परीक्षण गरिने उनले जनाए ।

प्रकाशित: २२ वैशाख २०७७ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App