स्वास्थ्य

कतार र युएईद्वारा नेपाललाई १५ टन स्वास्थ्य सामाग्री सहयोग

युएई- खाडीका दुई मुलुकहरु कतार र युएईले  बुधबार नेपाललाई १५ टन स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन। कोरोना भाईरस नियन्त्रणका लागि अग्रपंक्तिमा काम गरिरहेका स्वास्थकर्मीहरुका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री सहित विभिन्न किसिमका स्वास्थ सामाग्रीहरु हस्तान्तरण गरिएको हो।

कतारले बुधबार बिहानै कतार एयरवेजको कार्गो विमान मार्फत थ्री लेयर मास्क ५ लाख थान , मेडिकल मास्क ५५ हजार थान , सर्जिकल मास्क ५५ हजार थान , फेससिल्ड १५ हजार थान , ग्लोव्स ५० हजार थान , सर्जिकल गाउन ३० हजार थान , गगल्स ३० हजार थान लगायतका स्वास्थ सामाग्री नेपाल पठाएको थियो।

कतारबाट पठाईएका स्वास्थ सामाग्री नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए।

यसैगरी संयुक्त अरब ईमिरेट्सले पनि बुधबार साँझ ७ टन स्वास्थ सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ। कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर लडिरहेका नेपाली स्वास्थकर्मीहरुका लागि आवश्यक  पिपिई सहित पिसिआर टेस्ट कीट , एन ९५ मास्क , भिटिएम , सिआरआरटी मेशिन , सर्जिकल ग्लब्स, अक्सिजन प्लान्ट लगायतका स्वास्थ सामाग्री लिएर ईतिहाद एयरवेजको बोईङ्ग काठमाडौ ओर्लेको थियो। ती सम्पूर्ण स्वास्थ सामाग्री बुधबार साँझ नेपालका लागि युएईका राजदूत सेइद हमदन मोहम्मद अल नक्बीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए।

कतारले बुधबार नै नेपाल सहित ईरान , प्यालेस्टाइन , ईटाली , ट्युनिसिया , रुवाणडा लगायतका मुलुकमा समेत मेडिकल सामाग्री पठाएको कतारको सरकारी समाचार एजेन्सी (क्युएनए) ले जनाएको छ। युएईले हालको कोरोना महामारीको संकटसंग जुध्न नेपाल लगायत ३२ देशमा ३ सय ३३ मेट्रिक टन स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिसकेको जनाएको छ।

 

 

प्रकाशित: १८ वैशाख २०७७ ०४:३५ बिहीबार

कोरोना_भाइरस कोभिड_१९ स्वास्थ्य_सामाग्री