स्वास्थ्य

भारतबाट फर्केका स्थानीयबाट यसरी फैलियो उदयपुरमा काेराेना

कोरोना उद्गमस्थल उदयपुरको भुल्के मस्जिद । तस्बिरः महेश्वर

उदयपुर- पछिल्लो सातादिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मुलुककै ‘इपिसेनटर’ बन्न पुगेको उदयपुरमा भारतीय धर्म प्रचारकबाट कोरोना फैलिएको सुरुवाती अनुमान मिथ्या सावित भएको छ । शनिबार आएको पछिल्लो १ सय १० जनाको स्वाब परीक्षण (पिसिआर) रिपोर्टमा सबै नेगेटिभ देखिएपछि भारतीयबाट संक्रमण फैलिएको अनुमान गलत प्रमाणित भएको हो ।

गत बिहीबार पछिल्लो पटक ७८ मुस्लिमसहित स्वास्थ्यकर्मी र अन्यको स्वाब संकलन गरी विराटनगर पठाइएको रिपोर्ट शनिबार आउदा सबै नेगेटिभ पाइएको छ । भारतीय नागरिक सुरुमा उदयपुर टेकेको प्रवेशविन्दु चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरको शिवाईका ५ महिलासहित ५८ को स्वाबको रिपोर्ट नेगेटिभ आएपछि भुल्केमा संक्रमण भारतीयबाट नभएको यकिन भएको निश्कर्षमा जिल्लाबासी पुगेका छन् । उनीहरुसँगै भुल्केसँग सीमा जोडिएको त्रियुगा नगरपालिका २ को मोथियाहीस्थित मस्जिद आसपासका ४ महिलासहित २० को स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

भारतबाट मंसिर २५ गते जोगवनी नाका भएर नेपाल प्रवेश गरेको रेल टिकट प्रमाण बोकेका भारतीय धर्म प्रचारकहरु सदरमुकाम गाईघाटदेखि ५ किलोमिटर दक्षिण भुल्के मस्जिदमा चैत १ गते आएको खुलेको छ । त्यसअघि मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिदमा हुँदै उदयपुरको सुन्दरपुरसँग सीमा जोडिएको सप्तरीकै फत्तेपुर मस्जिद बसेर उदयपुर प्रवेश गरेको ट्राभल हिस्ट्री प्रहरीले पत्ता लगाएपछि संक्रमण उनीहरुबाट नभई नेपालीबाट सरकेको अनुमान गरिएको थियो । शिवाईभन्दा अगावै फत्तेपुर मस्जिदमा बस्नेहरुको स्वाब रिपोर्टसमेत नेगेटिभ आएपछि उनीहरुबाट संक्रमण नभएको अनुमान थप बलियो देखियो ।

भारतीयबाट संक्रमण नफैलिएपछि स्थानीयबाटै सरेको निश्कर्ष जिल्लाबासीले निकालेका छन् । त्रियुगा नगरप्रमुख बलदेव चौधरीले भारतको लखनउमा उद्र्धु भाषा अध्ययनरत भुल्केकै युवा घर फर्केपछि संक्रमण फैलिएको निश्कर्ष निकालेका छन् । घर फर्केपछि उनी मस्जिदको सम्पर्कमा आएको देखिएको हुनाले उनीबाटै संक्रमण फैलिएको प्रारम्भिक निश्कर्षमा पुगेको उनले बताए । मेयर चौधरीका अनुसार चैत ४ गते लखनउबाट रेलमार्ग हुँदै फर्केका उनी जोगवनी भएर नेपाल प्रवेश गरी सार्वजनिक गाडीमार्पmत भुल्के घर आईपुगेको ‘ट्राभल हिस्ट्री’ खुलेको छ । घर आएको केहीदिनपछि ज्वरोसमेत आएको उनलाई स्थानीय मेडिकलबाट औषधि किनेर खाएपछि सामान्य भएसँगै मस्थिदमा बाक्लो आउजाउ भएको पाइएकाले रोग संक्रमण उनीबाटै भएको मेयर चौधरीको ठहर छ ।

उनको परिवारका अन्य ४ जनासमेत संक्रमित भेटिनुले पनि मेयर चौधरीको अनुमानलाई बल मिल्छ । मेयर चौधरीको ठहरलाई सामाजिक विकास मन्त्रालयको अनुमानले थप पष्टि गर्न खोज्छ । ३ दिनअघि भुल्केको स्थलगत अनुगमन गर्न आएका सामाजिक विकास मन्त्री जीवन घिमिरेले भुल्केमा संक्रमण भारतीयबाट नभएर स्थानीय युवाबाटै भएको र ती युवा भारतबाट अध्ययन गरी फर्केका भएको बताएका छन् ।

उसो त संक्रमण हनुअघिकै अवधिमा भुल्केमा लखनाउबाट मात्र नभएर नयाँ दिल्ली र दुवईबाट फर्केका थप दुई युवासमेत संक्रमित भएको पाइएको छ । दिल्लीमा श्रमिक मजदुर रहेका एक युवा र वैदेशिक रोजगारीमा दुवई रहेका अर्का युवा पनि चैत पहिलो साता नै घर फर्केको खुलेको छ । उनीहरु पनि घर फर्किएपछि मस्जिद आउजाउ गर्ने गरेको खुलेको छ । हाल तीनैजनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई विराटनगरस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भईरहेको छ । आइसोलेसनमा राखिएका उनीहरु सबैको अवस्था भने सामान्य अस्पताललाई उद्धृत गर्दै मेयर चौधरीले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदी भने भारतीयबाट संक्रमण नभएको प्रष्ट भईसके पनि ती युवाबाटै संक्रमण भएको भन्ने यकिन गर्न नसक्ने बताउँछन् । विश्वमा कोरोनाले महामारीको रुप लिइसकेका बेला भुल्केमा दुई युवा भारत र एकजना दुवईबाट फर्केको खुलेकाले उनीहरुबाटै संक्रमण फैलिएको हुनसक्ने भए पनि उनीहरुमध्ये कोबाट फैलियो अझै स्पष्ट हुन बाँकी रहेको उनको भनाई छ । यस विषयमा आफूहरुले बोल्नुभन्दा सम्बन्धित विज्ञहरुबाट आएको मात्र आधिकारिक हुने उनी बताउँछन् । ‘सबैको रिपोर्ट हेर्ने निकाय प्रदेश अस्पताल र केन्द्रीय प्रयोगशाला छँदैछ’ सुबेदीले भने ‘त्यहीँका विशेषज्ञ डाक्टरहरुले भन्लान् नि, त्यहीँ आधिकारिक हुन्छ । हामीले यसै हो भन्न मिल्दैन ।’

नेपाल मुस्लिम संघ उदयपुरकी अध्यक्ष नजवुल खानले कोरोना संक्रमण भारतीयबाट नभई स्थानीय युवाहरुबाटै सरेको बताइन् । उनका अनुसार लखनउबाट आएका युवा र दुवईबाट फर्केका दुवैमा संक्रमण देखिएकाले उनीहरुबाट संक्रमण भएको अनुमान ९० प्रतिशत सत्य हो । लखनउबाट फर्केका विद्यार्थी २४/२५ का हुन् भने दुवईबाट फर्केका ३८/३९ का रहेको अध्यक्ष खानले बताएकी छिन् ।

जोबाट जसरी संक्रमण भए पनि मुस्लिम समुदायको मानहानी हुने गरी गलत प्रचार भएकोप्रति भने अध्यक्ष खानको दुःखेसो छ । रोग कसैले सार्न चाहेर सरेको नभई भुलवश संक्रमण भएकाले अनाावश्यक दोषारोपन गर्नुभन्दा विरामीको उपचार र थप संक्रमण हुन नदिनेतर्फ सबैको ध्यान पुग्नुपर्ने उनको सुझाव छ ।

 

प्रकाशित: १४ वैशाख २०७७ ०१:५२ आइतबार

कोरोना_भाइरस कोभिड–१९ उदयपुर