स्वास्थ्य

तातोपानी नाकाबाट अत्यावश्यक सामग्री नियमित आउने

चीनबाट अत्यावश्यक सामाग्री ल्याउनेबारे तातोपानी नाकाको मितेरी पुलमा बैठक बस्दै दुई देशका अधिकारी।  तस्बिर : नागरिक

काठमाडौं – जिल्लाको उत्तरतर्फ मुख्य व्यापारिक तातोपानी नाका भएर बिहीबारदेखि चीनबाट नियमित अत्यावश्यक सामग्री नेपाल आउने भएको छ। दुई देशका अधिकारीबीचको सीमा सुरक्षा बैठकमा स्वास्थ्य र अत्यावश्यक खाद्य सामग्री नियमित आपूर्ति गर्ने सहमति भएको हो। 

‘मेडिकल र अत्यवाश्यक खाद्य सामग्रीको आयात बिहीबारदेखि नियमित हुनेछ,’ बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकसँग भने। स्वास्थ्य र खाद्यबाहेक अन्य सामाग्री भने तत्काल नाकाबाट आयात नहुने उनले जानकारी दिए। लकडाउन अवधिभर कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणसँग जोखिम नियन्त्रणका लागि अत्यावश्यक सामग्री अभाव हुन नदिन सरकारले उत्तरका तातोपानी र रसुवागढी नाका खोल्ने निर्णय गरेको थियो। निर्णयपछि दुबै नाकाबाट एक पटक थोरै सामग्री ल्याइए पनि नियमित आयात हुन सकेको थिएन। अब भने अत्यावश्क सामग्रीको आयात नियमित हुने प्रजिअ ढकालले बताए। 

सीमावर्ती नेलाम काउण्टी र सिन्धुपाल्चोकका अधिकारीबीच मंगलबार मितेरी पुलमा नाका सञ्चालनबारे बैठक भएको थियो। चीनबाट सहज र सुरक्षित ढंगले कसरी र कुन ‘मोडालिटी’बाट सामान ल्याउने भन्ने विषयमा बैठकमा सहमति जुटाइएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। ‘सामाग्री आयात गर्दा दुबै मुलुकले मेडिकल प्रोटोकल पालना गर्नुपर्ने छ,’ बैठकमा सहभागी उनले भने।  

उनका अनुसार नेपाली व्यवसायी÷व्यापारिक फर्मको अर्डरपछि चिनियाँ पक्षले नै सीमासम्म सामग्री ल्याइ दिने छ। मितेरी पुल क्षेत्रसम्म आइपुग्ने सामग्री लिन नेपाली पक्ष त्यहाँसम्म पुग्नुपर्ने छ। बढीमा २० जनासम्म नेपाली चालक र भरियालाईमात्र पुलसम्म पुग्न चीनले अनुमति दिएको भन्सार प्रमुख खत्रीले बताए। ‘अध्यागमन कार्यालयल दिने परिचयपत्रको आधारमा सामग्री आयातमा संलग्न चालक र भरियाले प्रवेश पाउने छन्,’ उनले भने। मितेरी पुल नजिकै चालक र भरियाको नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँ चिकित्सक र आवश्यक उपकरणसहित हेल्थ डेस्क सञ्चालनमा ल्याइसकिएको उनले जानकारी दिए। 

मितेरी पुल क्षेत्रबाट सम्वन्धित व्यवसायीले बुझ्ने सामग्री सुख्खा बन्दरगाह पुगेपछि मात्र भन्सार जाँचपास प्रक्रिया सुरू हुनेछ। ‘आएका सामग्री १२–१४ घण्टासम्म भन्सारको आइसोलेसनमा राखेर मेडिकल परीक्षण पूरा गरेपछि मात्र राजधानी पठाउँछौँ,’ प्रमुख खत्रीले भने। सामाग्री जाँचपासका लागि भन्सार कर्मचारी तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले बुधबार साँझसम्म केही मेडिकल सामाग्री नाकामा आइपुग्ने बताए। 

सरकारको निर्णयपछि गएको बुधबार नाकाबाट २९ बक्स मास्क र सेनिटाइजर नेपाल भित्रिएको थियो। २०७२ वैशाख १२ को भूकम्पको कारण चार वर्ष बन्द भएको तातोपानी नाका गत वर्षको जेठ १५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो। चीनको बुहानबाट कोरोना संक्रमण फैलिएपछि माघ १६ गतेबाट पुनः नाका बन्द गरिएको थियो। 

    
 

प्रकाशित: ३ वैशाख २०७७ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App