स्वास्थ्य

सर्लाहीमा राहतको विषयमा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

सर्लाही – जिल्लाको ईश्वरपुर नगरपालिकामा राहतको विषयमा विवाद बढेपछि दुईपक्षबीच झडप भएको छ। मंगलबार दिउँसो झडपले ठूलो रूप लिन थालेपछि प्रहरीले दुई सेल अश्रुग्याँस नै प्रहार गर्नु पर्‍यो।ईश्वरपुर नगरपालिका–१५, गौरिशंकरमा राहत बाड्ने विषयमा वडाध्यक्षसहित जनप्रतिनिधिको समूह तथा स्थानीय युवाहरूको समूहबीच झडप भएको हो।

दिउँसो १२ बजेतिर वडा कार्यालयमा पुगेको १ सय ५० जना हाराहारीको समूहले ढुंगामुढा प्रहार गरेपछि अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए। ‘राहतको विषयमा वडाध्यक्ष लगायतसंग विवाद गरिरहेका गाउँलेलाई सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि नै ढुंगामुढा प्रहार भयो’, प्रनाउ कुँवरले भने, ‘ढुंगाले लागेर दुईजना सुरक्षाकर्मी नै घाईते भएपछि बाध्य भएर बल प्रयोग गर्नु परो।’ प्रनाउ कुवँरका अनुसार ढुंगाले लागेर प्रहरी सहायक निरीक्षक विरेन्द्र यादव तथा प्रहरी जवान भागेश्वर यादव सामान्य घाईते भएका छन्।

घटना लगतै सुरक्षा व्यवस्था कडा पारिएकाले दिउँसोबाट स्थिति शान्तिपूर्ण रहेको प्रनाउ कुवँरले जानकारी दिए।
वडा नम्बर १५ का वडाध्यक्ष कपिलदेव चौधरी धाँमीले राहतको विषयमा छलफल गरिरहेको अवस्थामा आफूहरुमाथि एक समूहले कार्यालयमै आएर हातपात गरेको बताए। ‘मेरो नाम किन नराखेको भन्दै कार्यालयमा आएर निर्णय पुस्तिका खोसेर च्यातिएको छ’, वडाध्यक्ष धाँमीले भने, ‘म सहित जनप्रतिनिधि माथि हातपात गरिएको छ, मेरो औंलामा चोट पुगेको छ ।’ नाम छुटेको भए सर्वदलिय बैठक बसेर सच्याउँछौं भन्दाभन्दै उल्टै हातपातमा उत्रिएको समूहलाई सुरक्षाकर्मीहरुले सम्झाउँदा समेत नमानेको वडाध्यक्ष चौधरीको दाबी छ। वडाध्यक्ष धाँमीका अनुसार वडा नं. १५ मा राहत वितरणका लागि ५ सय ३४ घरधुरीको नामावली संकलन भएको छ। 
 

प्रकाशित: २ वैशाख २०७७ ११:४२ मंगलबार

राहत झडप प्रहरी