स्वास्थ्य

क्वारेन्टाइनमा मापदण्ड नपुगेको निश्कर्ष

एम्बुलेन्स नै हिड्न नसक्ने गरी अवरोध गरिएको नेपालटार–कटारी खण्ड सडकबाट फर्कदै समन्वय प्रमुख परियारको टोली । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरका क्वारेन्टाइनहरु मापदण्ड बमोजिम नभएको पाइएको छ। जिल्ला समन्वय समिति उदयपुरले गरेको अनुगमनमा क्वारन्टाइन र क्वारेन्टाइनमा राखिएका संभावित संक्रमित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार नभएको निश्कर्ष निस्केको हो।

शनिबारदेखि जिल्लाका बिभिन्न स्थानीय तहहरुका अस्पताल, स्वास्थ्य चौकी तथा क्वारेन्टाइनहरुको अनुमगन गर्दा मापदण्ड अनुरुप नभेटिएको तथा त्यहाँ राखिएका मान्छेलाई पनि मापदण्ड अनुरुप राखेको नपाइएको जिल्ला समन्वय प्रमुख खड्ग परियारले बताए। अनुगमनमा कैफियत भेटिएपछि क्वारेन्टाइनको सुधार गर्न र राखिएका मान्छेलाई मापदण्ड अनुरुप राख्न सम्बन्धित जनप्रतिनिधि र कर्मचारीलाई परियारले अनुरोध गरेका छन्।

परियारका अनुसार उदयपुरगढी गाउँपालिका ६ को नेपालटारस्थित १० बेडको क्वारेन्टनाइन मापदण्ड अनुसार नभएको पाइएको छ। एक मिटरको फरकमा शैय्या (बेड) राख्नु पर्ने क्वारेन्टाइनमा सोभन्दा नजिक बेड राखेको पाइएपछि संख्या घटाएर मापदण्ड अनुसार गर्न निर्देशन दिइएको उनले बताए। अहिलेसम्म मान्छे नराखेको सो क्वारेन्टाइन मापदण्ड अनुसारकै बनाउने गाउँपालिका उपाध्यक्ष सानुकुमारी राउतले बताईन्। गाउँपालिका केन्द्र उदयपुरगढीमा ५ बेडको क्वारेन्टाइन भने मापदण्ड अनुसारकै भएको पाइएको छ। नेपालटारको क्वारेन्टाइन मापदण्ड नपुगेको भए सच्याउने प्रतिवद्धता उपाध्यक्ष राउतले जनाईन्।

प्रमुख परियारका अनुसार रौतामाई गाउँपालिका-७ मुर्कुचीस्थित स्वास्थ्य चौकी क्वारेन्टाईन मापदण्ड अनुसार भए पनि त्यहाँ राखिएकाहरु मापदण्डविपरित बसेको भेटिएको बताए। भारतबाट आएका ३ र गोर्खाका एक गरी ४ जना राखिएको क्वारेन्टाइनमा अलग अलग कोठा र बेडको व्यवस्था मिलाइए पनि उनीहरु एकैठाउँ घुलमिल भएर बसेको पाइएकाले सुधार गर्नुपर्ने निर्देशन दिएका छन्। उनीहरुलाई एक मिटर टाढाको सामाजिक दूरी कायम गरेर राख्न तथा आआप्mनो कोठा र बेडमा राख्न चौकी प्रमुखलाई परियारले निर्देशन दिएको बताए।

स्वास्थ्यचौकी इन्चार्ज श्याम साहले सामाजिक दूरी कायम गर्न र आआप्mनो बेडमा बस्न पटकपटक आग्रह गरे पनि बस्नेहरु अनियन्त्रित हुने गरेको समस्या सुनाए। क्वारेन्टाइनमा बस्ने चारैजनाको र्‍यापिड डाईनोस्टिक टेस्ट (आरडिपी) परीक्षण गरिसकेको र रिपोर्ट नेगेटिभ आएको साहले बताए। उनले तीनजना क्वारेन्टाइन बसेको १४ दिन पुगिसकेको तर, एकजना बसेको ४ दिन मात्र भएकाले अझै राख्नुपर्ने बताए।

कटारी नगरपालिकाको क्वारेन्टाइन अनुगमन गर्न हिडेका प्रमुख परियार सडक अवरुद्ध भएका कारण फर्कनु परेको छ। मदन भण्डारी लोकमार्गको नेपालटार–रिस्कु खण्डको बकपतिमा काठका मुढा र बडेमानका ढुंगाहरु राखेर सडक अवरुद्ध गरेको पाइएपछि जीप अघि बढ्न नसकेर फकर्नु परेको उनले बताए। एम्बुलेन्स र जिपसम्म हिड्न नहुने गरी मुढा र ढुंगाले सडक अवरुद्ध गर्दा कोही विरामी भए उपचार गर्न एम्बुलेन्स हिड्नसम्म नसक्ने तथा सुरक्षाकर्मी र सरोकारवाला निकाय अनुगमन गर्नसमेत अवरोध भएको उनले बताए। यस्तो आउजाउ नै रोक्ने अवरोध गरेको पाएपछि परियारले सम्बन्धित नगर र वडाध्यक्षको ध्यानाकर्षण गराएको बताए।

जिल्ला अस्पताल, बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाका क्वारेन्टाईन र त्यहाँ राखिएकाहरु भने डब्लुएचओ र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार भएको पाइएको छ। जिल्ला समन्वय अधिकारी विजयकुमार कार्कीले केही ठाउँका क्वारेन्टाइन र राखिएका व्यक्तिहरु मापदण्डविपरित भएको पाएपछि सम्बन्धित जनप्रतिनिधि र स्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराइएको बताए।

उदयपुरका ८ स्थानीय तहका ४ सय बढी बेड क्वारेन्टाइनमा हाल ३७ जना रहेका छन्। भारतलगायत तेस्रो मुलुकबाट आएका तथा उनीहरुसँग सम्पर्क गरेका बिभिन्न ३ महिलासहित ६७ जनामध्ये कटारी १ बेलसोतस्थित नेपाली सेनाको रणशार्दुल गण क्वारेन्टाइनमा रहेका थिए। जसमध्ये ३ महिलासहित २६ जना र सदरमुकामस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा रहेका ८ मध्ये ४ जना गरी ३० जना १४ दिन पूरा गरेर घर फर्किसकेका छन्।

क्वारेन्टाइनमा राखिएकाहरुलाई १४ दिन पूरा गरेपछि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकालाई घर पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीले बताए। उनका अनुसार बाँकीको ¥यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण भईरहेको छ। बेलका नगरपालिकाको बानडाँडा क्वारेन्टाइनका ९, चौदण्डीगढी नगरपालिकाका हडिया र बसाहा, रौतामाई गाउँपालिकाका मुर्कुची र आँपटार क्वारेन्टाइनका सबैको आरडिटी परीक्षण सकिएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ।

आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आए पनि विश्व स्वास्थ्य संगठनको नियमानुसार जसमध्ये १० प्रतिशतको स्वाव पनि परीक्षण गर्नुपर्ने भएकलो संकलन गरी परीक्षण गर्न पठाइएको छ। स्वाबको रिपोर्टमा कोरोना नेगेटिभ देखिए उनीहरुलाई घर पठाइने उनले बताए।

जिल्लाको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकाको बाराहा क्वारेन्टाइनमा रहेका १२ जनाको भने आरडिटी परीक्षण गर्न बाँकी छ। अन्य स्थानीयतहतिरै व्यस्त हुनु परेकाले लिमचुङबुङ टोली पठाउन नभ्याइएकाले केहीदिनभित्रै स्वास्थ्यकर्मी पठाएर आरडिटी परीक्षण गरिने सुबेदीले बताएका छन्।  

 

प्रकाशित: २ वैशाख २०७७ १०:४७ मंगलबार

क्वारेन्टाइन मापदण्ड काेभिड_१९ काेराेना