स्वास्थ्य

खोटाङको दिप्रुङमा ६ सय परिवारलाई राहत

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तरकारीसहितको खाद्यान्न वितरण गरिँदै। तस्बिर : नागरिक

खोटाङ – जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका ६ सय परिवारलाई राहत बाँडेको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’ का कारण मारमा परेका श्रमिक तथा असहायलाई गाउँपालिकाले प्रतिघर २५ केजी चामल, २ केजी दाल, एक पोका तेल र एक केजी नून प्रदान गरेको हो।  

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ७७ घरधुरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाडागाँउका १ सय ४ घरधुरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका ८५ घरधुरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका १ सय ४९ घरधुरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स.छितापोखरीका ६७ घरधुरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ३९ घरधुरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ७९ घरधुरीलाई खाद्यान्न प्रदान गरिएको हो। ‘लकडाउन’को मारमा परेका दलित, अल्पसंख्यक तथा सिमान्तकृत, एकल महिला, ‘क’ बर्गको अपांग, विपन्न तथा सुकुम्बासी परिवारलाई कुल १ हजार ५ सय केजी चामल, ६ सय केजी नुन, ६ सय प्याकेट तेल र १ हजार २ सय केजी दाल प्रदान गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। 

खाद्यान्नसँगै तरकारी 

दिप्रुङ चुईचुम्मा गाउँपालिकाकाले ‘लकडाउन’को मारमा परेका किसानको तरकारी खरिद गरेको छ। ‘लकडाउन’का कारण हाट बजार नपाउँदा अधिकांश तरकारी कुहिने र सडिने अवस्थामा पुग्दा मारमा परेका किसानको राहतका लागि गाउँपालिकाले १ हजार २ सय ३६ केजी तरकारी खरिद गरिदिएको हो। दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका २१ कृषकबाट ३१ हजार ३ सय १६ रूपैयाँ बराबरको आलु, काउली र बन्दा खरिद गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

किसानले उत्पादन गरेका तरकारीको बजार सुनिश्चितताका लागि गाउँपालिकाले ५ हजार ९ सय २० रूपैयाँमा १ सय ८४ केजी काउली, ११ हजार ७ सयमा ४६८ केजी आलु र १३ हजार ६ सय ९६ बराबरको ५८४ केजी बन्दा किनिदिएको हो। ‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा खेर जाने अवस्थामा पुगेको तरकारी स्थानीय सरकारले किनिदिएपछि ‘लकडाउन’को मारमा परेका किसानले राहतको महसुस गरेका छन्। 

किसानबाट खरिद गरिएको तरकारी ‘लकडाउन’को मारमा परेका परिवारलाई खाद्यान्नसंगै वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। ‘लकडाउन’का कारण हाटबजार बन्द छ। तरकारी कुहिएर र सडिएर खेर जाने अवस्थामा चिन्तित बनेका किसानको सहयोगका लागि गाउँपालिकाले खरिद गरिदिएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘किसानबाट खरिद गरिएको तरकारी खाद्यान्नसंगै अरूलाई वितरण गरियो। लकडाउनकै कारण कुनै पनि कृषि उपजले बजार पाउँदैन, कुहिएर वा सडेर जान्छ भनेर चिन्ता गर्नु पर्दैन।’ 

 

प्रकाशित: १ वैशाख २०७७ ०८:४२ सोमबार

राहत लकडाउन कोभिड–१९