स्वास्थ्य

कोरोना संक्रमित किशोरीसँगै यात्रा गरेका बाँकेका चार जनाको खोजी

नेपालगन्ज – कोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका बाँकेका चार जनाको खोजी गरिएको छ। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै  नेपाल आइपुगेकी १९ बर्षिया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो।

किशोरीसँग हवाई यात्रा गरेका मध्ये चार जना बाँकेकै रहेको पाइएपछि उनीहरूलाई निगरानीमा राखिएको हो। किशोरी चढेको उक्त जहाजमा आएका अन्य ब्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा सरकारले जहाजमा सवार ब्यक्तिको पहिचान गर्न सुरू गरेको छ। 

सोही जहाजमा बाँकेका चार जनाले पनि यात्रा गरेको पाइएपछि उनीहरूको खोजी  गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिए। ‘जहाजमा चढेका चार जना बाँके निवासी रहेछन्, उनीहरूको खोजी गरेर क्वारेन्टाइनमा राख्न माथिबाट  पत्र आएको छ,’ सिंहले नागरिकसँग भने ‘उनीहरूको नाम र नागरिकता नम्बर खुलाइएपनि पुरा ठेगाना थाहा नहुँदा खोज्न समस्या भएको हो।’  

अहिले उनीहरू चार जनाकै खोजी गर्ने काम भइरहेको उनले बताए । ‘चार जना ब्यक्तिको खोजी गर्न हामी यसमै लागिरहेका छौं, नागरिकता नम्बरको आधारमा उनीहरुको पुरा ठेगाना पत्ता लगाउने काम भइरहेको छ,’ सिंहले थपे । 
 

प्रकाशित: १२ चैत्र २०७६ ०६:३१ बुधबार

कोरोना संक्रमित_किशोरी खोजी