स्वास्थ्य

कोरोना नमस्ते अभियान

फाइल तस्बिर /नागरिक

काठमाडाैँ  - गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटक लक्षित नमस्ते अभियान घोषणा गरेको थियो। अहिले भने पर्यटन लक्षित नभई कोरोना भाइरस-कोभिड–१९० को सङ्क्रमणबाट जोगिने सन्दर्भमा यहाँका मुख्य बजार र चोकचोकमा नमस्ते शब्दको चर्चा र यसको कार्यान्वयन हुने गरेको छ।

विगतमा भेट्दा हात मिलाउने साथीभाइ पनि एकापसमा भेट्दा दुई हात जोडेर नमस्ते गर्ने गरेका छन्। विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न चिकित्सकले अन्तर्वार्तामा भन्ने गरिएको सङ्क्रमणबाट जोगिनका लागि कोही कसैसँग हात नमिलाएर नमस्ते गरौँ भन्ने सुझाव यतिखेर जनस्तरबाटै कार्यान्वयन गर्न थालिएको हो।

सामाजिक सङ्घसंस्थाले पनि यतिखेर सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्। गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकमा अधिकांश सदस्यले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बढ्दै गरेको अवस्थामा सरकारले यसतर्फ चासो दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए। कोरोना भाइरसको हल्लासँगै पोखराको पर्यटनमा नकारात्मक प्रभाव पारेको छ।

विकल्पको खोजीका साथै सम्भाव्य जोखिमबाट बच्नका लागि सचेतना अभिवृद्धि गर्न पनि आफूहरू लागेको उनले बताए। उनका अनुसार सचेतनालाई नै लक्षित गरी पोखरा पर्यटन परिषद्को आयोजनामा आज साँझ लेकसाइडमा सचेतनामूलक सद्भावना र्‍याली आयोजना गरिएको छ। व्यक्ति/व्यक्ति होस् वा समूह अहिले एकापसमा हात मिलाएर हैन नमस्ते गरौँ भन्ने भावना पनि जागृत हुँदै गएको छ। पोखराका सामान्य चिया पसल एवम् चोकदेखि प्रदेशको मन्त्रालय, प्रदेशसभा आदि स्थानमा यतिखेर एकापसमा नमस्ते गर्दै अभिवादन गरेको देख्न सकिन्छ।

कोरोना भाइरसको सङ्क्रमणको हल्ला शुरु भएयता पोखराको समग्र पर्यटन व्यवसाय धरापमा परेको होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य भरतराज पराजुलीले बताए। पोखरामा होटेल व्यवसायमा खर्बौंको लगानी भइसकेको बताउँदै उनले कोरोनाका कारण यतिखेर व्यवसायीहरू ठूलो मारमा परेको उल्लेख गरे।  घुम्न आउने जो कोही सबैभन्दा पहिले पर्यटन व्यवसायीसँग ठोकिने बताउँदै उहाँले सङ्क्रमणबाट जोगिनका लागि सकेसम्म सचेत बन्नुको विकल्प नभएको बताए। सम्भाव्य सङ्क्रमणबाट जोगिनकै लागि पछिल्ला दिन पोखरामा हात मिलाउने भन्दा पनि नमस्ते गर्ने प्रचलन बढिरहेको उनको भनाइ छ।

बेलैमा सावधानी अपनाउन सके यसको सङ्क्रमणबाट जोगिन सकिने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराका निर्देशक डा अर्जुन आचार्यले बताए। स्वास्थ्य संस्थाहरूले सम्भाव्य जोखिमलाई लक्षित गरी त्यसको तयारी गरेको बताउँदै उनले सर्वसाधारण पनि सचेत बन्नुपर्ने आवश्यकता औँल्याए। चिकित्सकहरूले सङ्क्रमणबाट बच्नका लागि घरबाट बाहिर सार्वजनिक यातायात एवम् भीडभाड एवम् कार्यस्थलमा जाँदा पञ्जा, मास्क आदिको प्रयोग गर्न सुझाव दिएका छन्।

त्यस्तै नियमित स्वस्थ, स्वच्छ शरीरका साथै घरायसी प्रयोगका सामानको नियमित सरसफाइ गर्न उनीहरूको सुझाव छ। साथीभाइ भेटघाटमा हात मिलाउने, अङ्कमाल गर्ने जस्ता कुरालाई त्याग्दै नमस्कार गरेर अभिवादन गर्न पनि उनीहरूको सुझाव छ। रासस

प्रकाशित: १९ फाल्गुन २०७६ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App