स्वास्थ्य

धरानमा डेंगु रोगको प्रकोप

धरान– डेंगु रोगको प्रकोप नियन्त्रणमा नआएपछि धरान उपमहानगरपालिकाले लाखखुट्टे नियन्त्रणका लागि आवश्यक फगिङ मेसिन खरिद गर्ने भएको छ।
हालसम्म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मेसिन मागेर प्रभावित क्षेत्रमा फगिङ गर्दै आए पनि डेंगु नियन्त्रणमा आउन नसकेपछि उपमहानगरपालिका आफैँले फगिङ मेसिन किन्ने भएको हो। डेंगु रोग नियन्त्रणका लागि बिहीबार बसेको नगर विपत् व्यवस्थापन समिति एवं सरोकारवालासँगको समन्वय बैठकले मेसिन खरिद गर्ने निर्णय गरेको हो। कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा बसेको बैठकले फगिङ मेसिन उपमहानगरपालिकासँग नभएकोले खरिद प्रक्रिया अपनाएर तत्काल ४ वटा मेसिन खरिद गर्ने निर्णय गरेको हो। उक्त मेसिन खरिदका लागि विपद् व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गर्ने पनि निर्णय भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले जानकारी दिए।

धरानमा पछिल्लो २ साताभित्रै हालसम्म ४० जनाभन्दा बढीमा डेंगु ज्वरोका बिरामी फेला परिसकेका छन्। डेंगु नियन्त्रणका लागि प्रभावित वडा क्षेत्रमा उपमहानगरले बिपी प्रतिष्ठानको मेसिन मगाएर फगिङ गरिरहे पनि प्रभावकारी देखिएको छैन। हालसम्म धरानको वडा नं १३, १५, ९ र ८ मा डेंगु ज्वरोका बिरामी भेटिएका छन्। तीमध्ये सबैभन्दा बढी डेंगुका बिरामी वडा नं १५ मा छन्। यो फगिङले एडल्ट लामखुट्टेलाई मात्र मार्ने काम गर्छ। ‘प्रभावित क्षेत्रमा फगिङ गर्ने काम गरिरहेका छौं, तर फगिङले मात्र डेंगु ज्वरो नियन्त्रणमा आउँदैन। लार्भा नै नष्ट गर्नुपर्छ,’ यादवले भने, ‘लार्भा नष्ट गर्नका लागि घरभित्र र वरिपरि सफा पानी पनि जम्न दिनु हुँदैन। लार्भा भएको पानी पोखाउँदा सुख्खा भएर लार्भा नष्ट हुन्छ।’

मानिसहरूमा पानी जम्न दिनु हुँदैन भन्ने ज्ञान भए पनि व्यवहारमा उतार्दा समस्या भएको उनको भनाइ छ। पानी पोखाउँदा सुख्खा भएर लार्भा नष्ट भए पनि अण्डा भने नष्ट नहुने चिकित्सकको भनाइ छ। लामखुट्टेको अण्डा एक वर्षसम्म पनि सुख्खा भएर रहन्छ। पानी परेपछि भिज्नासाथ लार्भा, प्यूँपा हुँदै फेरि लामखुट्टे हुन्छ। ‘त्यसैले अण्डा, लार्भा नष्ट गर्नको लागि केमिशल, मट्टितेललगायत नै प्रयोग गर्नुपर्छ। फगिङले चै प्युँपाबाट बनेको अडल्ट लामखुट्टेलाई मार्छ,’यादवले भने।

डेंगु रोग पोथी लामखुट्टेले दिउँसो टोकेर मानिसमा संक्रमण हुने गर्छ। यो लामखुट्टे सफा पानीमा मात्र बस्ने भएकोले घर, आँगन कतै पनि सफा पानी जम्न दिन नहुने चिकित्सकको भनाइ छ। साथै, लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ। एउटा लामखुट्टेले एक महिनाभित्र ८ सयदेखि एक हजारसम्म अण्डा पार्छ। लामखुट्टेको आयु मात्र एक महिनाको हुन्छ। डेंगु सार्ने पोथी लामखुट्टे घरघरमा पसेर लुक्ने गर्छ। अण्डा पार्ने बेला प्रोटिन चाहिने हुँदा रगत पिउन मानिसलाई दिउँसो टोक्छ। 

घरदैलो र पर्चा पम्प्लेटिङ अभियान चलाउने
डेंगु रोग नियन्त्रणका लागि धरानको प्रत्येक वडामा अभियान चलाइने भएको छ। बिहीबार बसेको समन्वय बैठकले टोल विकास संस्था, अगुवा कार्यकर्ता, सामाजिक कार्यकर्ता, राजनैतिक कार्यकर्ता, सामाजिक संस्था, महिला स्वयंसेविका र जनप्रतिनिधिसमेतको बैठक राखेर प्रशिक्षण गराउने र घरदैलो अभियान चलाउने निर्णय गरेको छ।

स्वास्थ्य शाखा प्रमुख यादवका अनुसार उनीहरूलाई प्राविधिक एवं विशेषज्ञहरूले अण्डा र लार्भा कसरी नष्ट गर्ने र सफाइ अभियान कसरी चलाउने भनेर प्रशिक्षण गराउनेछ। त्यसपछि, टोल र समुदायमा परिचालित भएर अण्डा, लार्भा नष्ट गर्ने अभियान चलाउने उनले बताए। ‘डेंगुको नियन्त्रणका लागि लामखुट्टेको अण्डा र लार्भा हुने ठाउँ पत्ता लगाएर नष्ट गर्ने तरिका सिकाइन्छ, योभन्दा प्रभावकारी उपाय अरु हुँदैन,’ उनले भने।

यसैगरी, वडाको टोल र चोकचोकमा चेतनामूलक होडिङ बोर्ड तयार गरेर सूचना सम्प्रेषण गर्ने, पम्प्लेटसँगै माइकिङ र मिडियाबाट पनि डेंगु रोगबाट बँच्ने उपाय मानिसलाई जानकारी गराउने निर्णय बैठकले गरेको छ। ‘यो निर्णय कार्यान्वयनमा लैजान हामी सुरु गरिसकेका छौं,’ उनले भने। बिहीबार साँझ पनि पछिल्लो समय डेंगुका बिरामी भेटिएको वडा नं ८ मा फगिङ गरिएको उनले बताए।
 

प्रकाशित: १७ जेष्ठ २०७६ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App