स्वास्थ्य

पाँच किलोको ट्युमर झिकियो

काठमाडौँ - महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ।

अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएकोउक्त अति दूर्लभ शल्यक्रियाका लागि पाँच घण्टा लागेको थियो। शल्यक्रियाबाट ती बिरामीको कलेजो वरिपरि पलाएको पाँच किलो तौलको ट्युमर झिकिएको थियो। सम्भवतः यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको चिकित्सकको जिकिर छ। शल्यक्रियामा उक्त अस्पतालका चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापालगायत सहभागी रहेका थियो।

अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुखसमेत रहेका प्रा.डा. भण्डारीले भने,'बिरामीको कलेजोमा ट्युमर धेरै फैलिएकाले सुरुमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधारमा थियौँ। बिरामीको सहमति लिएर शल्यक्रिया गर्‍यौँ र सफल पनि भयौँ।'

शल्यक्रियापछिको एक हप्तापछिको अस्पताल बसाइँपछि ती बिरामीलाई बिहीबार घर पठाइएको चिकित्सक भण्डारीले जानकारी दिए। उक्त अस्पताल छिट्टै कलेजो प्रत्यारोपण गर्ने तयारीमा छ।(रासस)

प्रकाशित: २८ पुस २०७५ ०४:३९ शनिबार

त्रिभुवन_विश्वविद्यालय_शिक्षण_अस्पताल शल्यक्रिया ट्युमर