स्वास्थ्य

'मार्सी धानको चामलसँग मेडिकल कलेज नसाट्नुहोस्'

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले मार्सीको चामलसँग मेडिकल कलेज नसाट्न कर्णालीका जनताले आग्रह गरेको बताएका छन्।

नेपाली कांग्रेसको निर्णय अनुसार जुम्लामा पुगेर अनशनरत डा.गोविन्द केसीलाई भेटेर फर्केका सांसद रसाइलीले आफैलाई कर्णालीका जनता र नागरिक समाजका अगुवाले उक्त कुरा आग्रह गरेको प्रतिनिधि सभाको बैठकमा बताए।
कर्णालीबासीको भनाई उद्धृत गर्दै रसाइलीले भने, ‘काठमाडौका नेतालाई मार्सी धानको चामल कति चाहिन्छ हामी पठाइदिन्छौ। तर मार्सी धानको चामलसँग मेडिकल कलेज नसाट्नुहोला।’

संसदमा सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिंदै रसाइलीले भने, ‘प्रधानमन्त्री जी तपाईहरु विरामी भए एअर एम्बुलेन्स तयार हुन्छ, तर कर्णाली र दुर्गम भेगका हामी नेपाली जनता उपचार नपाएर मर्नुपरेको अवस्था छ।’
‘सादगी व्यक्तित्व डा. गोविन्द केसीले उठाएका माग जायज छन्, तिनलाई सम्बोधन गरौं, व्यापार गर्न कम्पनीको पछि नलागौं’ रसाइलीले भने।

मार्सी धानकाे प्रसंग

हिजो आइतवार चिकित्सक संघको टोलीसँगको भेटमा प्रधानमन्त्री केपी अोलीले आफू र पुष्पकमल दाहालले झापाका मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईको घरमा खाना खाइरहेको फोटोलाई लिएर भएका टिप्पणीप्रति समेत आपत्ति जनाएका थिए। उनले ‘नातिको घरमा खाना खान जाँदा फेसबुकमा हालेको फोटोलाई जोडेर टिप्पणी भएको र मेडिकल कलेजसँग जोडेर हेरेको’ भन्दै आपत्ति जनाए। ‘खाएँ त खाएँ, नेपालकै भात खाएँ, भारतको खाइनँ नि’, ओलीलाई उधृृत गर्दै ती सदस्यले भने, ‘मेरा नातिको घरमा बसेर खाना खाँदा केको आपत्ति? मेरो नाता पर्दैमा उनको कलेजले सम्बन्धन नपाउने? कोही व्यक्तिको निर्देशनमा चलेर उनलाई सम्बन्धन दिन नहुने?’

प्रकाशित: २५ असार २०७५ १०:०९ सोमबार

मार्सी धानको चामलसँग मेडिकल कलेज नसाट्नुहोस्