स्वास्थ्य

अब सबै किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध निःशुल्क खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्ध देशैभरका किशोरीलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् । मंगलबार मन्त्री स्तरीय निर्णय गर्दै आगामी माघ–फागुनमा खोप लगाउने तयारी थालिएको छ ।  

माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी गरेको छ । मन्त्रालयका अनुसार १५ दिन सञ्चालन हुने अभियानअन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिइने भएको छ ।

यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।  

हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । 

किशोरी उमेरमै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।  ‘हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौँ’, मन्त्री पौडेलले भने, ‘किशोरावस्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रूपमा खोप थाल्ने निर्णय गरेका हौँ ।’  

मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका छन् ।

जसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकाले समेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रूपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए ।  

मन्त्री पौडेलले विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा जर्मनीमा समेत विश्व स्वास्थ्य संगठनका महानिर्देशकलगायत अधिकारीहरूसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका गर्न आग्रह गरेका थिए । भ्याक्सिन सम्बन्धी विश्व सञ्जाल गाभीले समेत मन्त्रालयलाई साथ दिने निर्णय गरिसकेको छ ।

प्रकाशित: २८ कार्तिक २०८१ १४:१० बुधबार

#cervical cancer #pradip paudel