स्वास्थ्य

परिश्रम जाँच्ने डोरो

यस्ताे पनि!

मानिस आफ्नो स्वास्थ्यप्रति निकै सजग हुन थालेको छ। कतिसम्म भने शारीरिक अभ्यास गर्दा बढीभन्दा बढी समय दियो भने स्वास्थ्य अवस्था ठीक हुन्छ भन्ने भ्रममा पर्ने गर्छन्। शारीरिक रूपमा सुगठित व्यक्ति स्वस्थ नै हुन्छ भन्ने हुँदैन। उसको मानसिक अवस्था पनि उत्तिकै सशक्त हुनुपर्छ।

अचेल यस्ता कुरामा ध्यान दिन थालिएको छ। तपाईंको शारीरिक तन्दुरुस्ती पनि होस् र मानसिक स्वास्थ्यको अवस्था पनि गज्जब रहोस्। यसका लागि कति कसरत गर्ने, कति पसिना बगाउने, यस्ता कुरामा पनि ध्यान दिन थालिएको छ। यसका लागि अचेल इलास्टिक डोरो बजारमा आउन थालेका छन्। यी डोरोको काम भनेको तपाईंको शरीरमा निस्किने पसिनाको अवस्था कस्तो छ भन्ने नियमन गर्नु हो। पसिनामा अम्लीयताको अवस्था यसले अध्ययन गर्छ।

शारीरिक रूपमा कडा परिश्रम गर्नेहरूका लागि यो इलास्टिक डोरोले ठूलो काम गर्ने बताइएको छ। सामान्यतः कडा शारीरिक श्रम गरिरहेकाहरूलाई आफूले गरेको कामले भित्र शरीरमा कस्तो असर पुर्‍याइरहेको छ भन्ने चाल पाउँदैनन्।

अन्ततः उनीहरू यति थाकेका हुन्छन् कि उनीहरू सुतेपछि कतिपय अवस्थामा उठ्नै सक्तैनन्। मजदूरहरू बाहेक खेलकूदमा सक्रिय खेलाडीहरू पनि ज्यादै बढी शारीरिक परिश्रम गरिहेका हुन्छन्। उनीहरूका लागि यो डोरो काम लाग्ने अमेरिकाको इलिनोइसस्थित नर्थवेस्टर्न युनिभर्सिटीका प्राध्यापक जोन रोजर्स बताउँछन्।

शरीरले निकाल्ने अम्लीय पदार्थ पिएचको अवस्था तल झर्दैछ भने गरिरहेको परिश्रम तत्काल रोक्नुपर्ने हुनसक्छ। तर यसलाई ध्यान नदिई परिश्रमलाई जारी राख्ने हो भने मजदूर वा खेलाडीको मांसपेशी नराम्रोसँग दुख्न थाल्छ।

अर्कोतर्फ यस्तो डोरो लगाउँदा परिश्रम गरिएको छैन भने पनि त्यो मापन गरिदिन्छ। कडा परिश्रमका बेला हाम्रो शरीरले ल्याक्टेट नामक रसायन उत्पादन गर्ने गर्छ। यो रसायनले मानिसको दुःख गर्ने शक्ति एक तहसम्म बढाउँछ। तर एक हदबाट भने यसले परिश्रम बढी भएको जनाउ दिन्छ। यसले मांसपेसीहरू दुख्ने मात्र होइन, अचानक ऊर्जा सकिएको र अत्यधिक थकान महसुस गराउँछ। शारीरिक रूपमा चुस्त मान्छेले बढीभन्दा बढी ल्याक्टेट उत्पादन गर्छन् र बढी शारीरिक दुःख झेल्न सक्छन्।

रोजर्स र उनको टोलीले यो मापनका लागि एउटा इलास्टिक डोरो बनाएका छन्। यो डोरोमा शरीरमा उत्पन्न भएको पसिनामा भएको नुनीलोपन तथा अम्लीयपन जाँच्छ। नुनीलोपन र अम्लीपय निस्केका बेला डोरोबाट खास किसिमको रङहरू निकाल्ने गर्छ।

शारीरिक अभ्यासमा रमाउने १२ जना स्वयंसेवीहरूमाझ यो डोरो लगाएर परीक्षण गरिएको थियो। साइन्स ट्रान्जिसनल मेडिसिनमा प्रकाशित परिणामअनुसार यो डोरोले सोचेजति प्रभाव भने देखाउन सकेको छैन। यसमा अझै धेरै परीक्षण गर्न बाँकी रहेको जनाइएको छ।

प्रकाशित: ३० भाद्र २०८१ ०८:१४ आइतबार

# Yasto Pani! #Diligence test