स्वास्थ्य

सुगममै छैनन् चिकित्सक

भेरी अस्पताल र आसपासको क्षेत्र। तस्बिर: नागरिक

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भरपर्दो उपचार हुने थलो हो, ‘नेपालगन्ज।’ गुणस्तरीय र भरपर्दो उपचारका लागि आउने बिरामीको यहाँ चाप थामी नसक्नु छ। जहाँ उपचारका लागि ठूलो भरोसा र अपेक्षा गरिएर बिरामीमा आएका हुन्छन्, त्यहाँ नै दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीले हैरानी खेप्नु परेको छ।

पश्चिमको एक मात्र सङ्घीय सरकार मातहतको भेरी अस्पतालमा दरबन्दीअनुसार चिकित्सक छैनन्। यहाँ दैनिक पाँच/सात सय बिरामी आउँछन्। तर, चिकित्सक नहुँदा उनीहरुले महँगोमा निजी अस्पतालबाट उपचार गराउन बाध्य छन् भने विपन्न तथा अति विपन्न वर्गका व्यक्तिले मृत्युलाई चुनौती दिँदै उपचारका लागि समय कुर्नुपर्ने अवस्था छ।

भेरी अस्पतालमा नेपाल सरकारतर्फ एक सय ४७ जना स्वीकृत दरबन्दी भए पनि ८५ जना मात्र कार्यरत छन्। यसमध्ये ५३ जना चिकित्सकको दरबन्दी हो। तर दरबन्दीअनुसार चिकित्सक छैनन्। हाल १९ जना चिकित्सकको दरबन्दी रिक्त छ।

बिरामीको चाप हेरेर ५३ जना चिकित्सकको दरबन्दी पनि कम हो। चिकित्सक नहुँदा अस्पतालले १३ जनालाई करारमा नियुक्त गरेको छ। भेरी अस्पतालका कार्यालय प्रमुख डा. थापाका अनुसार अहिले एक हजार तीन सय ४३ जना दरबन्दी प्रस्तावित गरिएको छ।

अस्पतालमा कर्मचारी र स्वास्थ्यकर्मी अभाव हुँदा अस्पताल विकास समितिले एक सय ६३ दरबन्दी रहेकोमा दुई सय ६३ जना नियुक्त गरेको छ। स्थायी कर्मचारी ६५, करार ७४, थप करार २३ र सुरक्षाकर्मी एक सय एक जना नियुक्त गरिएको अस्पताल विकास समितिले जनाएको छ।

पश्चिममा आउन रुचि नहुँदा पनि दरबन्दीअनुसार चिकित्सक भेरी अस्पतालले नपाएको हो। आवश्यक सेवा सुविधा नहुँदा पनि चिकित्सकहरु काठमाडौं बाहिर जान तयार हुँदैनन्। जसको प्रभाव नेपालगन्जमा परेको छ।

‘यहाँ आकर्षक सेवा सुविधा हुँदैन,’ उनले भने, ‘बस्नलाई राम्रो क्वाटरसमेत छैन। अन्य सुविधाहरू छैनन्। जसले गर्दा चिकित्सक आउन मान्दैनन्।’

काठमाडौंमा अन्य आकर्षक सुविधा हुँदा उनीहरु उतै केन्द्रित हुने उनको भनाइ छ। दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालबाट प्रदान गरिने उपचार सेवा प्रभावित भएको उनी बताउँछन्।

गुणस्तरीय र भरपर्दो उपचार सेवा प्रवाह भएकाले जनतामाझ भेरी अस्पतालको विश्वास बढ्दै जाँदा अहिले अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउँदै उनी भन्छन्, ‘एकातिर बिरामीको चाप बढ्दो छ। अर्कोतिर दरबन्दीअनुसार जनशक्ति छैन।’

बिरामीको संख्या बढ्दै जाँदा र जनशक्ति परिपूर्ति नहुँदा आगामी दिनमा भेरी अस्पताललाई आफ्नो विश्वास कायम राख्न चुनौती देखिएको छ। अहिले चिकित्सक नहुँदा समयमै सेवाग्राहीले उपचार सेवा पाउन सकेका छैनन्।

अप्रेसन गर्नुपर्दा समय कुर्नुपर्ने अवस्था छ। जसले बिरामीलाई झन् सास्ती हुने गरेको छ। न्यूरोसर्जन, यूरोलोजी, अर्थाेपेडिक, नफ्रोलोजिष्ट, ग्यास्ट्रो सर्जनलगायतका ओपिडी सेवा हप्ताका पूरै दिन खुल्दैनन्। यी सेवा बार हरेर मात्र परीक्षण हुने गरेको छ।

चिकित्सक, नर्स र पारामेडिक्स कर्मचारीको चरम अभावका कारण हाल प्रदान गरिरहेका सेवालाई व्यवस्थित गर्न नसकिएको उनको भनाइ छ। यससँगै जीर्ण भौतिक संरचनाबाट सञ्चालित साँघुरा ओपिडी र वार्डबाट जोखिमपूर्ण सेवा प्रवाह भएको उनी बताउँछन्। अहिले भेरी अस्पतालमा बिरामी कुरुवाको लागि अपर्याप्त स्थान र अपर्याप्त कर्मचारी आवास हुँदा पनि सेवा प्रवाहमा समस्या भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भने जनशक्ति अभाव भनेर सेवा प्रवाहमा लापरबाही नगरी भएकै जनशक्तिबाट अधिकतम भरपर्दो उपचार सेवा प्रवाह गर्नुपर्ने बताएका छन्।

केही जनशक्ति अस्पताल विकास समितिबाट नियुक्त गर्न सकिने भन्दै यहाँ आवश्यक जनशक्ति र भौतिक पूर्वाधारका विषयमा आवश्यक पहल गर्ने आश्वासन दिँदै मन्त्री पौडेलले यहाँको दरबन्दी वृद्धि गर्नेसमेत उद्घोष गरे।

नरल/सर्जिकल ३०, मेडिकल ३५, स्त्री तथा प्रसूति ४५, आईसीयू १०, एनआईसीयू १०, अर्थोवार्ड २५, दिवा सेवा ६, इमरजेन्सी वार्ड २५, हेमोडायलाइसिस १०, पोषण १५, बालरोग १०, ईएनटी आठ र जेरियाट्रिक १० गरी हाल भेरी अस्पतालमा दुई सय ३९ इनडोर बेड सञ्चालित छन्।

भेरी अस्पतालले कार्डियोलोजी/क्याथ प्रयोगशाला, नेत्र विज्ञान, न्यूरो सर्जरी, स्पाइन सर्जरी, नेफ्रोलोजी, युरो सर्जरी, आथ्र्राेस्कोपी/संयुक्त प्रतिस्थापन, सिटी–स्क्यान, डेक्सा स्क्यान, एन्डोस्कोपी/कोलोनोस्कोपी लगायतका सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २८ श्रावण २०८१ १९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App