स्वास्थ्य

देशभरि हैजा फैलँदो

दुई सातायता देशका विभिन्न भागमा हैजा फैलने क्रम जारी छ। आइतबारसम्म १२ जनामा हैजा पुष्टि भइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरका विभिन्न स्थानमा सात र कैलालीको धनगढीमा पाँच जनामा हैैजा पुष्टि भएको हो। शनिबारसम्म १० जनामा हैजा पुष्टि भए पनि आइतबार धनगढीमा दुई जना थपिएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए।

शनिबार र आइतबार गरी उपत्यकाका विभिन्न ठाउँबाट थप तीनजना बिरामी उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेर भर्ना भएका छन्। उनीहरूमध्ये एक महिला काठमाडौंको कालिमाटीस्थित भीमसेनथानकी, एक महिला ललितपुरको चापागाउँकी र एक पुरुष थैबको पुनःस्थापना केन्द्रका हुन्।

हैजाको लक्षण देखिएपछि उनीहरूको आरडिटी परीक्षण गरिएको छ। कल्चर परीक्षणको रिपोर्ट तयार भइरहेको छ र त्यो आइसकेपछि मात्र हैजा हो कि होइन भनी यकिन गर्न सकिने डा. घिमिरेले बताए। ललितपुरमा हैजा पुष्टि भएकामध्ये ६ जना गोदावरी नगरपालिकाको थैबस्थित सुधार केन्द्रका हुन् । एक जना भने ग्वार्कोको रहेको बताइएको छ। उपचारपछि धेरैजसो निको भई घर फर्के पनि एक जनाको डिस्चार्ज हुन बाँकी छ ।

काठमाडांैको भीमसेनथानकी महिलामा हैजाको लक्षण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार घटनास्थल पुगी त्यहाँको पानीको परीक्षणका साथै अन्य अध्ययन गर्ने तयारी गरेको जनाइएको छ । ‘सोमबार नै स्वास्थ्य कार्यालयबाट टोली गएर पानी परीक्षण गर्ने कार्यक्रम छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयकी सूचना अधिकारी शारदा चापागाईंले भनिन् । आइतबार र सोमबार टेकु अस्पतालमा उपचारका लागि पुग्नेमा ललितपुर सुधार केन्द्रका एक पुरुष र ललितपुर चापागाउँकी एक महिला रहेको जिल्ला जनस्वास्थ्य कार्र्यालय ललितपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले हैजाको संक्रमण बढ्न नदिन खानेपानी र स्थानीय निकायलाई निर्देशन दिइसकेको बताए । ‘सफा पानीको व्यवस्थापनका लागि स्थानीय तह र खानेपानी कार्यालयलाई निर्देशन दिइसकेका छौं, अरू व्यक्तिगत सफाइ आफैंले पनि गर्नुपर्छ,’ उनले भने ।

ललितपुरका दुईजना संक्रमितको कल्चर रिपोर्ट आउन बाँकी छ । गत सातादेखि नै हैजा पुष्टि भएको ललितपुरको थैबस्थित पुनःस्थापना केन्द्रमा आइतबार पनि थप एक जना बिरामी परेपछि उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल रेफर गरिएको हो । यो केन्द्रमा स्वस्थ पानीको व्यवस्थापन गरिसकिएको र व्यक्तिगत सफाइका लागि पहिला नै निर्देशन दिइसकिएको अवस्थामा पनि पुनः बिरामी देखा परेका हुन् । 

घटना देखिएपछि गोदावरी नगरपालिकाले स्थानीयसँग शुद्ध पानीको विषयमा छलफल कार्यक्रम राख्ने तयारी गरिसकेको डा. पौडेलले जानकारी दिए । पुनःस्थापना केन्द्रमा पानी व्यवस्थापनपछि पुनः संक्रमण देखिनुमा सफाइको कमी रहेको डा. पौडेलको भनाइ छ । केन्द्रमा बसोबास गर्नेहरू धेरै भएकाले सबैले उमालेको पानी प्रयोग नगरेको, पहिल्यै देखा परेको हैजाको जीवाणु कतै रहेको हुन सक्ने भएकाले थप अनुसन्धान गर्ने तयारी भएको बताए । ‘जनस्वास्थ्य कार्यालयले पुनः पानीको परीक्षण गर्ने जनाएको छ र अन्य समस्याको पनि खोजी गर्दैछ,’ उनले भने ।

लगातारको वर्षापछि पानीकोे स्रोत र खानेकुरा दूषित बनेका कारण हैजा देखिएको भन्दै समयमै यसको व्यवस्थापनका लागि सरोकारवाला निकायहरूबाट छलफलपछि समन्वयकारी काम भइरहेको इपिडिमियोलोजी तथा रोेग नियन्त्रण महाशाखाका निर्देशक डा. घिमिरेले बताए । ‘स्थानीय तह, प्रदेश जनस्वास्थ्य कार्यालय, खानेपानी कार्यालयसँग भूमिका निर्वाह गर्न भनिसकेका छौं,’ उनले भने । साथै हरेक निकायले पानीजन्य रोगबाट बच्न सुरक्षित पानी, खाना र व्यक्तिगत सफाइमा ध्यान दिने गरी जनचेतनाको कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको डा. घिमिरेले बताए ।

हैजा तथा झाडापखाला दूषित पानी या खानाका कारण हुन्छ । कोलिफर्म, भिब्रियो कलेरा आदि कीटाणुले मुखभित्र पसेपछि पेटमा संक्रमण गराउने भएकाले सकेसम्म उमालेको र शुद्धीकरण गरिएको पानी पिउने, शौचालय गइसकेपछि राम्रोसँग हात धुने, फलफूल र सलाद राम्रोसँग पखालेर मात्र खाने, ताजा खानेकुरा खाने गर्नाले हैजा तथा झाडापखालाबाट बच्न सकिने डा. घिमिरेले सुझाव दिए । ‘हातको सफाइमा ध्यान दिएर उमालेको या शुद्ध पानी पिए यस्ता रोेगबाट बच्न सकिन्छ,’ उनले भने । 

त्यसैगरी सकेसम्म घरबाहिरको खाना नखाने, खाना व्यवसायीहरूले शुद्ध र सफा खानाको व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । साथै पानी आपूर्ति गर्ने कम्पनीहरूले पनि सक्दो रूपमा शुद्ध पानी उत्पादनमा ध्यान दिनुपर्ने डा. घिमिरले सुझाए । ‘बजारमा पाइने जारका पानी पनि शतप्रतिशत सुरक्षित हुनुपर्छ,’ उनले भने ।

प्रकाशित: १४ श्रावण २०८१ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App