स्वास्थ्य

पुनः प्रयोगको प्लास्टिक झनै विषाक्त

ग्रिनपिस नामक अन्तर्राष्ट्रिय संस्थाले प्लास्टिकको पुनः प्रयोग झन् विषाक्त हुने बताएको छ। सो संस्थाका अनुसार प्रदूषण संकट समाधानका लागि प्लास्टिकको पुनः प्रयोगको उपाय सही नहुने पनि भनेको छ। प्लास्टिकसम्बन्धी अन्तर्राष्ट्रिय सहमति जुटाउन पेरिसमा हुन लागेको अन्तर्राष्ट्रिय बैठकको पूर्वसन्धामा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा पैरवी गर्दै आएको सो संस्थाले त्यस्तो निष्कर्ष निकालेको हो। ‘प्लास्टिक चक्रीय अर्थतन्त्र (सर्कुलर इकोनोमी) मा असंगत देखिएको छ,’ उक्त संस्थाको एक प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा समाविष्ट अध्ययन नतिजाले सुरुको भन्दा पुनः प्रयोग गरिएको प्लास्टिक झन् बढी विषाक्त हुने देखाएको छ। आगामी साता पेरिसमा हुने बैठकमा प्लास्टिकसम्बन्धी छलफल र विश्वव्यापी सन्धिलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला यो प्रतिवेदन सार्वजनिक गरिएको हो।

ग्रिनपिस नामक अन्तर्राष्ट्रिय संस्थाले प्लास्टिकको पुनः प्रयोग झन् विषाक्त हुने बताएको छ। सो संस्थाका अनुसार प्रदूषण संकट समाधानका लागि प्लास्टिकको पुनः प्रयोगको उपाय सही नहुने पनि भनेको छ।

गत वर्ष विश्वका १७३ राष्ट्र दुई वर्षभित्रै उत्पादनदेखि डिस्पोजलसम्मको तहमा प्लास्टिकलाई पूर्ण रूपमा पुनः प्रयोग (रिसाइकल) गर्ने सम्बन्धमा विश्वव्यापी सम्झौता गर्न सहमत भएका थिए।

त्यतिबेला प्लास्टिकलाई डम्पिङ गर्दा वा खुला रूपमा जलाउँदा विकासोन्मुख देशका ठुलो समुदाय प्रभावित बनेको तथ्यबारे छलफल भएको थियो।प्रयोग भइसकेका प्लास्टिक टिपेर जीवन निर्वाह गर्ने समुदायको सरोकारलाई सम्बोधन नगरिएको आरोप पनि त्यतिबेला लगाइएको थियो। सो समुदायको आवाजलाई समावेश नगर्दा ठुला कम्पनी (कर्पाेरेट) हरूको स्वार्थका आधारमा सम्झौता हुन सक्ने आशंका व्यक्त गरिँदै आएको छ।

‘खनिज इन्धन, पेट्रोकेमिकल्स तथा उपभोग्य सरसामान निर्माण गर्ने कम्पनीहरूसहितका प्लास्टिक उद्योगीहरूले प्लास्टिकको पुनः प्रयोग नै प्रदूषण संकटको समाधान रहेको दाबी गर्दै आएका थिए,’ ग्रिन पिस युएसएका प्रमुख ग्राहम फब्र्स भन्छन्, ‘तर तथ्यहरूले के देखाएका छन् भने पुनः प्रयोगले प्लास्टिक झन् विषाक्त हुन्छ।

चक्रीय अर्थतन्त्रमा यसको कुनै स्थान छैन। अब प्लास्टिकको पुनः प्रयोग होइन, ठुलो स्तरमा उत्पादन कटौती गर्नुपर्छ।’ सन् १९५० देखि विश्वमा ८ अर्ब टन प्लास्टिक उत्पादन भइसकेको छ। ग्रिनपिसको प्रतिवेदनअनुसार कुल उत्पादित प्लास्टिकमध्ये जम्मा ९ प्रतिशत प्लास्टिक मात्र पुनः प्रयोगमा आउने गरेको छ र बाँकी सबैले मानव, पशुपन्छी तथा वातावरणीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गरेका छन्।

अध्ययन प्रतिवेदनमा पुनः प्रयोग गरिने प्लास्टिकमा बेन्जिन, क्यान्सरजन्य पदार्थ, डायोक्सिनलगायत इन्डोक्राइन ग्रन्थीलाई प्रतिकूल असर गर्ने अवयवहरू रहने उल्लेख छ। पुनः प्रयोग हुने प्लास्टिकहरूको उच्च आय भएका राष्ट्रबाट न्यून आय भएका राष्ट्रमा निर्यात हुँदै आएको छ।

चक्रीय अर्थतन्त्रमा यसको कुनै स्थान छैन। अब प्लास्टिकको पुनः प्रयोग होइन, ठुलो स्तरमा उत्पादन कटौती गर्नुपर्छ।

विज्ञानले प्लास्टिक पुनः प्रयोग विषाक्त प्रक्रिया भएको प्रमाणित गरेको चर्चा गर्दै इन्टरनेसनल पोलुट्यान्ट इलिमिनेसन नेटवर्कका सल्लाहकार डा. थेरेस काल्र्सनकाले भनेका छन्, ‘सामान्य भाषामा भन्दा प्लास्टिकले सर्कुलर इकोनोमी, हाम्रो शरीर, पानी, हावा तथा खाद्यवस्तुलाई विषाक्त बनाएको छ। विषाक्त रसायन राखेर बनाइएको प्लास्टिकलाई रिसाइकल गरिनु हुँदैन।

यो विषयमा विश्व समुदाय गम्भीर हुनैपर्छ। वैज्ञानिकका अनुसार सन् २०६० सम्म विश्वमा प्लास्टिकको उत्पादन तीन गुणाले बढ्नेछ। ग्रिनपिसले प्लास्टिक उत्पादनमा व्यापक कटौती गर्न र प्लास्टिक डिस्पोजल प्रक्रियालाई वातावरणमैत्री बनाउन भनेको छ। (गार्जियन)

प्रकाशित: १२ जेष्ठ २०८० ०१:१४ शुक्रबार

चक्रीय अर्थतन्त्र ग्रिनपिस नामक अन्तर्राष्ट्रिय संस्था प्लास्टिकसम्बन्धी अन्तर्राष्ट्रिय सहमति प्लास्टिक चक्रीय अर्थतन्त्र (सर्कुलर इकोनोमी)