स्वास्थ्य

इटहरी अस्पताललाई ट्रमा सेन्टरसहित ५० शैर्‍याको बनाइने

फाइल तस्बिर

यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी पूर्वको महानगर उन्मुख सहर हो। तर, जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा इटहरी निकै पछाडि रहेपनि अब भने बिस्तारै सुधार आउँदो छ। इटहरीमा सुविधासम्पन्न ‘क’ वर्गको अस्पतालको नितान्त अभाव भएतापनि इटहरी अस्पताललाई नै स्रोत–साधन र जनशक्ति थप गर्दै सुविधा सम्पन्न बनाउने अभियान थालिएको छ।

पूर्व–पश्चिम तथा कोसी राजमार्गको केन्द्रमा रहेको इटहरी पूर्वमै यातायातको मुख्य चाप हुने स्थान हो। राजमार्गका दिनदिनै साना–ठूला सवारी दुर्घटनाहरू भइरहेका हुन्छन्। तर घाइतेको तत्काल उपचारका लागि इटहरीमा एउटा व्यवस्थित ट्रमा सेन्टर पनि छैन। जसले गर्दा उपमहानगरपालिकाले अब १५ शैर्‍याको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टरसहित ५० शैर्‍याको अस्पताल बनाउने मेयर हेमकर्ण पौडेलले बताए। यहाँका बासीन्दाले विशेष उपचारका लागि धरान, विराटनगर वा सिलिगुडीका अस्पताल धाउनुपर्ने बाध्यतामा कमी आउन थालेको छ।  

केही समयअघि सम्म यहाँका स्वास्थ्य–संस्थामा विशेषज्ञ चिकित्सक नहुँदा हप्तौं पर्खनुपर्ने, विशेषज्ञ चिकित्सक तथा विशेष उपकरणहरूको अभाव हुँदा बिरामी अन्यत्र अस्पताल लैजानुपर्ने इटहरीबासीको बाध्यता थियो। अस्पतालले दक्ष चिकित्सक थप गर्ने क्रममै पछिल्लो समय बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर धिरज सिंह, बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर निशा अधिकारीलाईं थप गरिएको छ।  

अस्पतालले  २४ सैं घण्टा एम्बुलेन्स, अल्ट्रासाउन्ड, भिडियो एक्स–रे, इमरजेन्सी सेवा र फार्मेसी सेवा उपलब्ध गराउँदै आएको छ।  सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिदिनै बढ्दै छ। यहाँ भेन्टिलेटर, आइसियु, एनआइसियुजस्ता सेवा भने थप गर्न बाँकी छ। मेयर पौडेलले भने,  ‘अस्पतालले पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई थप प्रभावकारी तथा व्यवस्थित गर्न भएको स्रोत साधन र जनशक्तिको भरपुर उपयोग गरिनेछ।’

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ।  धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ।  

इटहरीमा ठूला लगानीमा केही स्वास्थ्य–संस्था स्थापना नभएका भने होइनन्। केही वर्षअघि ठूलो लगानीमा खुलेका टिआर हस्पिटल, सिटी हस्पिटल, मेडिस्कट हस्पिटल र पूर्वाञ्चल हस्पिटललगायत स्वास्थ्य–संस्थाहरू बन्द भए। ती संस्थाहरू स्थायी विशेषज्ञ चिकित्सक, विशेष उपकरणको अभाव तथा सेवाग्राहीमा विश्वासको भावना जगाउन नसेकाले बन्द भएको पाइन्छ।  

हाल सञ्चालनमा रहेका सामुदायिक अस्पताल, एपेक्स हस्पिटल, पञ्चकोसी पोलिक्लिनिक लगायत स्वास्थ्य–संस्थामा दक्ष जनशक्ति, विशेष प्रकारका उपकरण, भौतिक पूर्वाधार तथा स्थानको अभाव रहेको देखिन्छ। यस अवस्थामा इटहरी अस्पताललाई व्यवस्थित गरि सेवा थप गरिरहँदा इटहरीसहित आसपासका बासीन्दाले लाभ लाभ प्राप्त गरि रहेका छन्।  

प्रकाशित: १७ फाल्गुन २०७९ ०७:२५ बुधबार