शिक्षा

इन्जिनियरिङ्गका विद्यार्थीको अनुसन्धान क्षमता बढाउन सेट कन्फरेन्स

इन्जिनियरिङ्ग क्षेत्रमा विभिन्न विधामा अध्ययन गरिरहेका र अध्ययन गरीसकेका विद्यार्थीहरुमा अनुसन्धान क्षमता बढाउन सेट कन्फरेन्स गरेको छ।

काठमाडौँको एडभान्स कलेज अफ इन्जिनियरिङ्ग एन्ड म्यानेजमेन्ट अन्र्तगतको विज्ञान, इन्जिनियरिङ्ग तथा प्रविधि (सेट) ले सो कन्फरेन्स आयोजना गरेको हो।  

‘विश्व महामारीको लागि नवप्रवर्तन र प्रविधि’ भन्ने नारासहित आयोजना गरिएको तेस्रो  सेट कन्फरेन्समा देशभरिका इन्जिनियरिङ्ग क्षेत्रका विद्यार्थी, विज्ञ तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो।

कन्फरेन्समा औद्योगिक क्षेत्रका विज्ञहरुले विश्वबजारमा आइरहेका नयाँनयाँ खोजमूलक प्रविधिहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए। सो सम्मेलनमा विद्यार्थीहरुले सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ्ग क्षेत्रमा नयाँ अनुसन्धान गरी कार्यपत्र प्रस्तुत गरेको सेटका अध्यक्ष इन्जिनियर अमितकुमार रौनियारले बताए।

त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्राडा शशीधरराम जोशीले उक्त कन्फरेन्सले विद्यार्थीहरुमा खोज्ने र अध्ययन गर्ने संस्कृतिको विकास गर्ने भएकोले  विज्ञान, प्रविधि तथा इन्जिनियरिङ्ग अध्ययन गराउने सबै कलेजहरुले सो प्रकृतिका गोष्ठी गर्न आवश्यक भएको बताए। उनले एक वर्षभित्र अध्ययन संस्थानले अन्तर्राष्ट्रिय स्तरको सेट कन्फरेन्स गर्ने योजना रहेको जनाए।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै नेपाली विद्यार्थीहरुको पहुँच बढाउन सेट कन्फरेन्सले राम्रो अवसर दिएको छ,’ डिन जोशीले भने, ‘नेपाली विद्यार्थीहरु पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धानमुलक कार्यमा निकै अगाडि बढेका छन्। यस्तो कार्यक्रम अब डिन कार्यालयले नै आयोजना गर्ने तयारी गरिरहेको छ।’ उनले कन्फरेन्समा प्रस्तुत भएका सबै अनुसन्धान कार्यपत्र अनलाइन पोर्टलमा प्रकाशित हुने समेत जानकारी दिए।  

कन्फरेन्समा कलेजका अध्यक्ष रमेश सिलवाल, पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्राडा शशीधरराम जोशी, कलेजका प्रिन्सिपल लोचन लाल श्रेष्ठको उपस्थित रहेको थियो भने औद्योगिक तर्फबाट नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर दिनेशचन्द्र पन्थी,, कलेजका सहप्राध्यापक पद्यमसुन्दर जोशी, वल्र्डलिंक कम्युनिकेशनका बिक्रम राउत र पुल्चोक कलेजका सहप्राध्यापक विकासबहादुर श्रेष्ठले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए।

सो कन्फरेन्सले विद्यार्थीहरुमा आफ्नो क्षेत्रमा अध्ययन गर्ने, अनुसन्धान गर्ने संस्कारको विकास हुनुका साथै अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुमा समेत काम गर्ने अवसर मिल्ने बताए।

प्रकाशित: १८ मंसिर २०७८ ११:०५ शनिबार

अख्तियार दुरूपयोग अनुसन्धान इन्जिनियरिङ्ग