शिक्षा

सात वर्षपछि फेरि उपप्राध्यापकमा नियुक्ति

भक्तपुरका एकजना इन्जिनियरले सात वर्षपछि पुनः उपप्राध्यापक पदमा पुनर्नियुक्ति पाएका छन्। भक्तपुर नगरपालिका वडा नं १० महालक्ष्मीस्थानका इन्जिनियर कृष्णभक्त दुवालले नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण दुवाकोट भक्तपुरमा उपप्राध्यापक पदमा पुनः नियुक्ति पाएका हुन्।

इन्जिनियर दुवाललाई यसअघि तत्कालिन नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्वोदर न्यौपानेले अन्यायपूर्वक वदनियतपूर्ण रुपमा वर्खास्त गरेका थिए। बर्खास्तपछि इन्जिनियर दुवालले श्रम अदालतमा मुद्धा हालेका थिए। दुवालले कलेजमा आफ्नो पुनर्वहालीका लागि निवेदन दिएपछि उनलाई श्रम अदालतले २०७२ साल पुस ३० गते पुनर्नियुक्ति दिन आदेश गरेको थियो। तर पुनः आदेशको पालना भएको थिएन।

पछि फेरि २०७८ मंसिर १ गते पनि दुवालले पुनः निवेदन पेश गरेका थिए। सोही निवेदनको सम्बन्धमा श्रम अदालतबाट २०७२ पुस ३० गते श्रम ऐन २०७४ को दफा १६७ बमोजिम फैसला भए अनुसार निजलाई पत्र प्राप्त भएको मितिले ७ दिनभित्र उपरोक्त निर्णय कार्यान्वयन गर्न कलेजलाई आदेश दिएको थियो।

श्रम तथा रोजगारी कार्यालयको २०७८ कार्तिक २९ को पत्रबाट भएको निर्देशन बमोजिम उनको कलेजमा पुनः नियुक्ति भएको हो।

कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले टिका लगाई एक कार्यक्रमबीच दुवाललाई पुनः कलेजमा स्वागत गरेका थिए। साथै कलेजका प्राध्यापक, कर्मचारी, विद्यार्थीले पनि उनलाई स्वागत गरेका थिए।

कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले अन्यायपूर्ण रुपमा निकालिएका एकजना शिक्षकलाई पुननियुक्ति गर्न पाउँदा हर्ष लागेको प्रतिक्रिया दिए। इमान्दार शिक्षकमाथि धेरै वर्षपछि भए पनि न्याय पाएकोमा उनले गर्व गरे।

इमान्दार शिक्षकमाथि अन्याय गर्न नहुनेमा उनले जोड दिए। यसअघि दुवालले ख्वप कलेज देकोचा भक्तपुरमा प्राध्यापक भएर पनि काम गरिसकेका छन्।

दुवालले पुल्चोक इन्जिनियरिङ कलेज पाटनबाट नवीकरणीय ऊर्जा इन्जिनियरिङमा एमएस्सी गरेका थिए। साथै उनी वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा संसाधन र वातावरणीय इन्जिनियरिङ पिएचडीरत छन्। उनले इन्टरनेशनल सेन्टर फर एकेडेमिक्सबाट फाइनान्समा एमबीए गरेका छन्।

प्रकाशित: ८ मंसिर २०७८ १३:०३ बुधबार

पुल्चोक इन्जिनियरिङ कलेज नेपाल इन्जिनियरिङ कलेज