शिक्षा

इन्जियिरिङ्ग अध्ययन संस्थानका प्राडा संग्रौलाले दिए पदबाट राजीनामा

पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानका एक प्राध्यापकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन्।

संस्थानका सिभिल इन्जिनियरिङ्ग विभागका प्राडा दुर्गा प्रसाद संग्रौलाले परीक्षा महाशाखाबाट प्रश्नपत्र निर्माणमा भइरहेको लापरवाहीविरुद्ध आफूले सार्वजनिक रुपमै पटकपटक लिखित र मौखिक रुपमै अध्ययन संस्थानका जिम्मेवार निकायलाई सचेत गराउँदा पनि सुनुवाइ नभएपछि राजीनामा दिएको बताए। 

मंसिर १ गतेदेखि लागू हुने गरी दिएको राजीनामामा उनले प्रश्नपत्रको लापरवाहीले विद्यार्थीमा पर्न गएको मानसिक पीडा र शिक्षकहरुको आत्मसम्मानमा पारिएको चोटप्रति नैतिक जिम्मेवारी लिँदै राजिनामा दिएको उल्लेख गरेका छन्।

संस्थानमा प्रश्नपत्र निर्माण गर्दा वरिष्ठ, विज्ञ र अवकास प्राप्त शिक्षकहरुमा हुने गरेको विज्ञताको घमण्डका कारण विद्यार्थीहरुमा पर्न गएको मानसिक पीडा र शिक्षकहरुको आत्मसम्मानमा पारिएको चोट आफूले सहन नसकी राजीनामा दिएको उनले जनाए।

‘अध्ययन संस्थानमा लामो समयदेखि अवकास प्राप्त, विषय नै नपढाएको र सेलेवलसँग समेत अपडेट नभएको विज्ञ भनिनेहरुसँग एकलौटी रुपमा प्रश्नपत्र निर्माण गराउने कार्य हुदै आएको छ,’ प्राडा संग्रौलाले राजिनामा दिएपछि नागरिकसँग कुरा गर्दै भने, ‘जसले गर्दा प्रश्नपत्रमा धेरै त्रुटि हुने, विद्यार्थीले नपढेको विषयबारे प्रश्नमा सोधिने, दिनुपर्ने तथ्याँक नदिनुले विद्यार्थीले प्रश्नहरु हल गर्नै सक्दैनन्।’ उनले थपे, ‘हाम्रा संस्थानका अवकास प्राप्त र विषयसँग साक्षात्कार नभएका विज्ञहरुमा जटिल प्रश्न दिएर धेरै विद्यार्थी फेल गराएमा आफू ठूलो हुने भ्रम रहेछ। त्यही कारण हाल इन्जिनियरिङ्गतर्फ ७० प्रतिशत विद्यार्थी वर्षेनी फेल हुने परम्परा बसेको छ।जुन गलत हो।’

उनका अनुसार बढी विद्यार्थी फेल हुनु शैक्षिक गुणस्तर कायम भएको सोच्नु भ्रममात्र हो। ‘विद्यार्थी समुदायमा नियतवस थोपारिएको बोझ एवं मानसिक पीडा र शिक्षक साथीहरुको आत्मसम्मानमा पारिएको चोटप्रति नैतिक जिम्मेवारी बहन गर्दै मैले मंसिर १ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएँ,’ पुल्चोक क्याम्पसका पूर्व प्रमुख समेत रहेको संग्रौला भन्छन्, ‘भदौ ३१ गते सम्पन्न भएको सिभिल दोस्रो वर्ष प्रथम खण्डको फ्युल्ड मेकानिकल विषयको प्रश्नपत्रमा समावेश गरिएका प्रश्नहरु अध्ययन गर्दा परीक्षा कस्तो हुनुपर्ने, पाठ्यक्रमका कुन विषयमा परीक्षाको मूल्यांकन गर्नुपर्ने, प्रश्नपत्रको स्वरुप र स्तरीयता कस्तो हुन पर्नेलगाएतका विषयवस्तुलाई प्रश्नपत्र परिमार्जन कर्ताले सम्पूर्ण रुपमा लत्याई कथित बौद्धिकताको प्रदर्शन गरेको देखियो।’ उनी थप्छन्, ‘संस्थामा बसेर गैर प्राज्ञिक कार्यको साथ दिन मेरो नैतिकताले मानेन।’

सिभिलकै विद्यार्थी सौरभ प्रसाईका अनुसार संस्थामा अध्ययनका क्रमममा निकै कठिनाई भोग्नु परेको थियो। उनले आफू अध्ययन गर्दा परीक्षाको समयमा शिक्षकहरुको अहम् र घमण्डको मारमा विद्यार्थीहरु पर्दै गएको अनुभव रहेको जनाए। ‘पढाइस्तरीय र गुणस्तर राम्रो बनाउनु हामी सबैकोलागि राम्रो पक्ष हो तर शिक्षकबीचको कथित विज्ञताको अहम्का कारण हामीले नपढेको, कोर्षमै नभएको र विदेशी लेखकले तयार विदेशी सन्दर्भमा तयार पारेको प्रश्नपत्र हुबहु सारेर हामीलाई तीन घण्टाको समयमा लेख्नको लागि प्रश्न तयार पारिएको अनुभव मसँग छ,’ सौरभले दुखेसो गरे, ‘प्रश्नपत्र हातमा आउँदा हामीलाई नपढाएको र कोर्ष नै नबुझेको शिक्षकहरुले तयार पारेको प्रश्नपत्र हो भनी स्पष्ट बुझिन्छ।’

संस्थानका डा शशीधर जोशीले प्राडा संग्रौलाले राजीनामा दिएको जनाउँदै यस विषयमा छलफल भइरहेको बताए। परीक्षा सकिएको तीन महिनापछि प्राडा संग्रौलाले राजीनामा दिएकोबारे संस्थानका जिम्मेवार निकायहरुमा छलफल भइरहेको उनको भनाइ छ।

प्रकाशित: ३ मंसिर २०७८ ०९:५१ शुक्रबार

राजिनामा