शिक्षा

राप्ती सोनारीमा भदौं २७ देखि विद्यालय खोल्ने तयारी

राप्ती सोनारी गाउँपालिकाको शिक्षा समितिको आइतबार बसेको बैठक। तस्बिर : अर्जुन/नागरिक

बाँकेको राप्ती सोनारी गाउँपालिकाले दोस्रो लहरको कोरोना महामारीका कारण बन्द रहेका विद्यालय खोल्ने तयारी गरेको छ। राप्ती सोनारी गाउँ शिक्षा समितिको आइतबार बसेको बैठकले यही भदौं २७ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको हो। महामारीका कारण गत वैशाखदेखि गाउँपालिका क्षेत्रभित्र रहेका विद्यालय बन्द छन्।  

‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेसँग आवश्यक समन्वय  गरेर विद्यालय खोल्ने निर्णय भएको गाउँ शिक्षा समितिका सदस्य मोहन गौतमले जानकारी दिए। ‘विद्यालय खोल्नका लागि जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेसँग आवश्यक समन्वय गर्ने र विद्यालयमा स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाउने निर्णय भएको छ,’ उनले भने।  

उक्त बैठकले गाउँपालिका अनुदान शिक्षकको तलब वृद्धि गर्ने र उनीहरुलाई पोषाक भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। गाउँपालिकाले यसअघि प्राथमिक तहका शिक्षकलाई मासिक १० हजार, आधारभुत तहकालाई १५ हजार र माध्यामिक तहका शिक्षकलाई २० हजार तलब अनुदान स्वरुप दिँदै आएको थियो।  

अब भने प्राथमिक तहका शिक्षकलाई १५ हजार, आधारभुत तहकालाई १७ हजार र माध्यामिक तहकालाई मासिक २२ हजार प्रदान गर्ने निर्णय भएको सदस्य गौतमले बताए। गाउँपालिका अनुदान शिक्षकलाई वार्षिक १० हजार पोषाक भत्ता दिने शिक्षा समितिले निर्णय गरेको छ। यस्तै अनुदानका शिक्षकलाई गाउँपालिकाले नै स्थायी गर्ने विषयमा कानुनविद्सँग परामर्श गरेर प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ।

यसैगरी विद्यालयका प्रधानाध्यापकको भत्ता पनि बढाउने निर्णय गरेको छ। प्रधानाध्यापकको भत्ता ३ सयबाट बढाएर प्राथमिक तहको हकमा मासिक ६ सय, कक्षा १० सम्म सञ्चालित विद्यालयका प्रअलाई ८ सय र कक्षा १२ सम्म सञ्चालित विद्यालयका प्रधानाध्यापकलाई मासिक १ हजार प्रअ भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ।  

बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले धेरै लगानी गरेको स्मरण गराउँदै अब शैक्षिक प्रतिफल प्राप्त गर्नतर्फ सबै लाग्नुपर्ने बताए। ‘शिक्षा क्षेत्रमा गाउँपालिकाले धेरै लगानी गरेको छ, म दावीका साथ भन्छु हाम्रो जति शिक्षामा लगानी अरु कुनैपनि पालिकाले गरेको छैन,’ उनले भने।  

खेतीमा गरेको लगानीले तत्कालै प्रतिफल दिने तर, शिक्षा गरेको लगानीले १० वर्षपछि मात्र प्रतिफल दिने अध्यक्ष थारुले बताए। ‘पहिले बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा हुन्थ्यो, अहिले सरकारी विद्यालयबीच प्रतिस्पर्धा हुन थालेको छ,’ थारुले भने ‘अहिले धेरै सुधार भएको छ, शिक्षकमा पनि परिवर्तन आएको छ।’

बैठकमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले शिक्षामा गाउँपालिकाले गरेको लगानी गरिरहेकै बेला कोरोना महामारीले पठन पाठनमा असर पुर्याएको बताईन्। ‘गाउँपालिकाले शिक्षामा लगानी गरिरहेकै बेला कोरोना महामारीले बिद्यार्थीको पढाई चौपट बनाईदियो, अब बिस्तारै राप्ती सोनारीको शिक्षालाई माथी उठाउनुपर्छ,’ उनले भनिन्। लामो समयपछि खुल्न लागेका विद्यालय क्षेत्रको सरसफाई गर्न आवश्यक रहेको र यसका लागि विद्यालयले ध्यान दिनुपर्ने उपाध्यक्ष खत्रीको सुझाव छ।  

नेपाल शिक्षक महासंघ राप्तीसोनारीका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका सदस्य मोहन खनालले शिक्षा क्षेत्रमा राप्ती सोनारी गाउँपालिकाले गरेको लगानी अविष्मरणीय रहेको बताए। ‘शिक्षकलाई तलब खुवाउन नसकेर कयौं विद्यालयको विजोग थियो, शिक्षक नहुँदा पढाईको वातावरण थिएन,’ उनले भने ‘जब गाउँपालिकाले शिक्षामा लगानी गर्यो, अहिले गाउँपालिकाको शिक्षा क्षेत्रले फड्को मारिसक्यो।’

प्रकाशित: २० भाद्र २०७८ १५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App