शिक्षा

काभ्रेमा भौतिक उपस्थितिमै पढाइ : विद्यार्थी-अभिभावक खुसी, शिक्षक दुःखी

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढिरहेको छ। जोखिमका बीच पनि काठमाडौँ उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा भने भौतिक उपस्थितिमै पठनपाठन सुरु गरिएको छ।

काभ्रेको मण्डन देउपुर नगरपालिकाले विद्यार्थीलाई शैक्षिक क्रियाकलापसँग जोड्नका लागि आइतबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु गरेको हो। नगर शिक्षा समितिको गत असार ८ र  र नगर कार्यपालिकाको ९ गतेको बैठकले भौतिक उपस्थितिमै पढाइ सुरु गर्ने निर्णय भएको नगर शिक्षा शाखाले जनाएको छ।

शाखाका अधिकृत लोकेन्द्र विष्टले असार १५ गतेसम्ममा वैकल्पिक माध्यम(अनलाईन, टेलिफोन वा अन्य माध्यम) को प्रयोग गरी विद्यार्थी भर्ना गराउने र पाठ्यपुस्तक वितरण गर्ने लगायतका क्रियाकलाप गर्न निर्देश दिएको बताउँदै उनले साउनबाट भौतिक उपस्थितिमै पठनपाठन क्रियाकलाप अघि बढाइएको बताए।

‘हामीले गत वर्ष वैकल्पिक माध्यमअन्तर्गत रेडियोबाट कक्षा सञ्चालन गरेका थियौं, त्यो खासै प्रभावकारी भएन, हामीकहाँ फेरि इन्टरनेटको पनि समस्या छ’ उनले भने, ‘हामीसँग अरु कुनै उपाय नै रहेन, त्यही भएर हामीले स्वास्थ्य सुरक्षामा मापदण्ड अपनाएर भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएका छौं।’

उनले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरे पनि विद्यालयमा सबै विद्यार्थीलाई एकैपटक नबोलाइएको बताए। ‘हामीले विद्यार्थीलाई सिफ्टवाइज बोलाएर कक्षा सञ्चालन गरेका छौं,’ उनले भने ।

उनले ग्रामीण भेग भएकाले इन्टरनेटको समस्या भएको, बिजुलीको समस्या भएको सुनाउँदै अभिभावकहरुले पनि भौतिक उपस्थितिमै कक्षा सञ्चालनका लागि सुझाव दिएको जानकारी दिए। ‘अधिकांश अभिभावकहरुले भौतिक रुपमै कक्षा चलाउन अनुरोध गरेका थिए, विकल्प नै नभएको अवस्थामा भौतिक उपस्थितिमा पढाइ भएपछि विद्यार्थी र अभिभावक दुबै खुसी छन्।’ शाखा अधिकृत विष्टले भने।

भौतिक उपस्थितिमै पठनपाठनका लागि नगरपालिकाले कक्षा ६ देखि १० सम्मका लागि दिउँसो सवा बाह्र बजेदेखि साँझ सवा चार बजेसम्म, कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका लागि विहान साढे ९ बजेदेखि दिउँसो १२ बजेसम्मको समय तोकेको छ।

४४ सामुदायिक र ७ संस्थागत विद्यालय रहेको सो नगरपालिकामा कक्षा १ देखि १२ सम्म ७ हजार ७ सय विद्यार्थी अध्ययन गरिरहेका छन्। तिनीहरुमध्ये अधिकांश इन्टरनेटको पहुँचमा छैनन्।

शिक्षक चाहिँ तनावमा !

नगरपालिकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेपछि शिक्षकहरु भने तनाव झेल्न बाध्य छन्। सो पालिकाका एक शिक्षकले अहिले पनि कोरोना संक्रमणको जोखिम उत्तिक्कै रहेकाले आफू जोखिम मोलेर पढाइ गर्नुपर्ने बाध्यता रहेको बताए।

‘कोरोनाको संक्रमण उस्तै छ, जिल्लामा पनि संक्रमितको संख्या बढिरहेको छ’ उनले नाम नभन्ने शर्तमा भने, ‘हाम्रै कारण कोरोना संक्रमण भयो भने के गर्ने ?’ उनले आफूसँगै विद्यार्थी समेत चिन्तामा रहेको सुनाए।

विद्यार्थीमा सामान्य ज्वरो आए पनि के गर्ने भन्ने चिन्ता हुन्छ । यस्तो मानसिक त्रासमा पढाउनु परेको छ। यो काम निक्कै जोखिमपूर्ण छ।’ उनले थपे।

प्रकाशित: १७ श्रावण २०७८ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App