शिक्षा

महिलाहिंसाबारे पाठ्यक्रम बनाउने तयारी

काठमाडौं - उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समाजमा बढ्दै गएको महिलाहिंसा न्यूनीकरण गर्न विद्यालयस्तरका पाठ्यक्रमै हिंसाविरुद्धका पाठ समावेश गरिने सरकारी तयारी भइरहेको बताएकी छिन्। उपसभामुख तुम्बाहाम्फेले महिला पत्रकारहरुको छाता संगठन संचारिका समूहका नवनिर्वाचित पदाधिकारिहरुलाई सम्मान गर्दै समाजमा बढ्दै गएको महिलाहिंसा रोक्न महिला मात्र होइन सबै मिलेर आ–आप्mना क्षेत्रबाट अघि बढ्नुपर्ने जनाइन्।

उनले स्कुलका बालबालिकालाई हिंसाबारे प्रभावकारी रुपमा पढाउन सकिएमा तिनीहरुमार्फत सूचना अभिभावकहरुसम्म पुग्ने भएकाले हिंसाविरुद्धका पाठबाटै सचेतना जगाउने र न्यूनीकरण गर्ने उपाय खोजिएको बताइन्।

‘महिलाहिंसा विरुद्धबारे संसदमा प्रस्तुत संकल्प प्रस्तावलाई ऐन सरह कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएपछि नियमावली बनाएर कार्यान्वयन हुन्छ’ उनले भनिन्, ‘यो प्रस्तावमा व्यवस्था गरिएका धेरै विषयबस्तु शिक्षा मन्त्रालय र महिला मन्त्रालयसँग जोडिएकाले ती मन्त्रालयका महत्वपूर्ण भूमिका हुन्छ।’

महिलाहिंसा विरुद्धको सभासद् विन्दा पाण्डेले संकल्प प्रस्ताव महिलाका लागि मात्र नभएर साझा संकल्प प्रस्ताव भएको जनाइन्। सो प्रस्तावमा महिलाको तर्फबाट मात्र नभएर लैंगिक प्रतिनिधिहरुका तर्फबाट समेत छलफल भएको उनले जनाइन्। चार बुँदाको प्रस्तावमा केन्द्रीय संसद्मा प्रतिबद्धता जाहेर गर्ने, अपधारीलाई कारबाही गर्ने, पीडितलाई उपचार तथा क्षतिपूर्ति दिनुका साथै समाजमा पुर्नस्थापना गर्नुपर्ने उल्लेख छ । यसैगरी चौथोमा विद्यालय स्तरको पाठ्यक्रममा कक्षा १ देखि १० सम्मका नानीहरुलाई स्पष्ट हुने गरी हिंसाबारे जानकारी र यसको कानुनी सजायबारे जानकारीमूलक पाठ समावेस गरिनुपर्ने व्यवस्था छ।

‘यसको बारेमा गृह मन्त्रालयले काम गरिरहेको छ। सुरक्षा निकायसँग छलफल हुने काम भइरहेको छ,’ सभासद् पाण्डले भनिन्, ‘हिंसाको एक कारण मदिरा सेवन पनि देखिएको हो ।’ उनले थपिन्, ‘पाठ्यक्रममा हिंसा के हो? कस्ताकस्ता हुन्छन् । किन हुन्छन् । हिंसा गरे कस्तो सजाय हुन्छ भन्नेबारे जानकारीमूलक पाठ पाठ्यक्रममा राख्न काम अघि बढेको छ ।’ घटनाको कारण पत्ता लगाई न्यूनीकरण गर्दै जानुपर्ने उपाय र घरभित्रसम्म चेतना जगाउने काम गर्न विद्यालय स्तरको पाठ्यक्रममा यसको व्यवस्था गरिनु आवश्यक परेको उनको ठहर छ।

सरकारले नोभेम्बर २५ लाई महिलाहिंसा दिवसको रुपमा मनाउने निर्णय गरेको बताउँदै उपसभामुख तुम्बाहाम्फेले महिलाहिंसा जराबाटै उन्मुलन गर्न महिलासाथै पुरुष सशक्तीकरण गर्नुपर्ने आवश्यता उनले औंल्याइन् । ‘सानैदेखि हिंसाबारे सचेतना दिन, बच्ने उपाय सानै कक्षादेखि नानीहरुलाई सिकाउनु पर्छ,’ उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘अनि मात्र १० वर्षपछिको परिकल्पना गर्न सकिन्छ। १० वर्षमा चेतना मात्र होइन हिंसाविरुद्ध एक्सन नै लिनसक्ने जनशक्ति निकाल्न सकिन्छ।’

प्रस्तावक पाण्डेले कोर्षमा हिंसाबारे पाठ राखेपछि यसका लागि शिक्षकले जान्न र बोल्न सचेत गर्न छलफल गर्नुपर्ने सुझाइन्। कोर्षमा व्यवस्था गरेर शिक्षक, अभिभावक र स्थानीय निकायबीच छलफल गराउनु पर्छ। ‘कस्तो र कुन विषय बस्तु समेट्नेबारे हाम्रो तयारी अघि बढेको छ,’ उपसभामुख तुम्बाहाम्फेले सुनाइन् ‘महिला हिंसाबारे जाहेरी दरखास्त समेत प्रहरीले नलिएको अवस्थामा दर्ता प्रक्रिया सहज र प्रभावकारी बनाएर कसरी जाने भन्ने बारे पनि छलफल जारी छ।’ उनले थपिन्, ‘प्रत्येक प्रदेशमा जनप्रतिनिधिहरु विशेष गरी न्यायिक समितिका संयोजक, प्रमुख र उपमेयरलाई बोलाएर केन्द्र सरकारले तयार गरेका महिला हिंसाका कार्यक्रम, नीतिनियम कार्यान्वयन गर्न सहजीकरणका लागि सहयोग गर्न निर्देशन दिएको छ।’

प्रकाशित: ५ आश्विन २०७५ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App