शिक्षा

सेमेस्टरपछि विद्यार्थी शून्य

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस। स्नातकोत्तर तहमा २ संकायका ५ विषय पढाइ हुने क्याम्पसमा सेमेस्टर प्रणाली लागू भएपछि यो वर्ष विद्यार्थी भर्ना नै भएनन्। तस्बिर : भीम/नागरिक

इलाम - त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि पूर्वीपहाडका सरकारी क्याम्पस विद्यार्थी शून्य भएका छन्। क्याम्पसहरूमा एकैजना विद्यार्थी भर्ना नहुँदा स्नातकोत्तर कक्षा नै सञ्चालन हुने या नहुने भन्ने अन्योल बढेको छ।

सेमेस्टर प्रणालीमा भर्ना हुँदा ८० प्रतिशत हाजिर पुग्नुपर्ने, कक्षा कार्यकलापको आधारमा मूल्यांकन गरिनेजस्ता नियम भएकाले विद्यार्थी आकर्षित नभएका हुन्। सम्बन्धित क्याम्पसले ४० प्रतिशत र डिनको कार्यालयले ६० प्रतिशत अंकको मूल्यांकन पद्धति सेमेस्टर प्रणालीमा छ। स्नातकोत्तर तहमा अध्ययन गर्ने बहुसंख्यक विद्यार्थी जागिर खाने, व्यवसाय गर्ने भएकाले पनि सेमेस्टरमा क्याम्पस विद्यार्थीविहीन भएका हुन्।

पूर्वीपहाडका इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभामा स्नातकोत्तर पढाइ हुने त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस छन्। यीमध्ये यो वर्ष धनकुटा र पाँचथरमा मात्रै सेमेस्टर प्रणालीमा पढ्ने विद्यार्थी भर्ना भएका छन्। डिन कार्यालयले प्रत्येक क्याम्पसलाई कम्तीमा १० विद्यार्थी भए मात्रै भर्ना लिन निर्देशन दिएपछि क्याम्पसमा पढ्ने विद्यार्थी नभएका हुन्।

विगत एक दशकदेखि स्नातकोत्तर कक्षा सञ्चालन गरिरहेको इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्नातकोत्तर तहमा चालू शैक्षिक सत्रमा कुनै विद्यार्थी भर्ना भएनन्। मानविकी संकायमा समाज शास्त्र, नेपाली र ग्रामीण विकास, शिक्षा संकायमा शैक्षिक योजना तथा व्यवस्थापन पढाइ भइरहेको स्नातकोत्तरका कुनै पनि संकाय र विषयमा विद्यार्थी भर्ना नभएको क्याम्पस प्रशासनले जनाएको छ।

क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले प्रवेश परीक्षा दिन १० भन्दा कम संख्या विद्यार्थी मात्र आएकाले सेमेस्टर प्रणालीको नयाँ भर्ना गर्न नसकिएको बताए। ‘प्रवेश परीक्षामा आवश्यक संख्याका विद्यार्थी नै नआएर डिग्री प्रथम वर्षको कक्षा यो पटक शून्य छ,’ उनले भने, ‘तर, सेमेस्टर प्रणालीमै पढ्ने गरी केही विद्यार्थी प्रवेश परीक्षापछि मात्र सम्पर्कमा आएका थिए।’ सेमेस्टरको प्रवेश परीक्षाभन्दा पछि वार्षिक प्रणालीको भर्नामा चाहिँ सयभन्दा बढी विद्यार्थी आएको उनले सुनाए। ‘आउँदो वर्ष सेमेस्टरमा विद्यार्थी आए भने डिग्रीको कक्षा सञ्चालन होला, नभए त अन्योल नै छ,’ उनले भने।

तेह्रथुमको चुहानडाँडास्थित चुहानडाँडा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा मानविकी संकायको जनसंख्या अध्ययन पढाइ हुन्छ। गत वर्ष ८ विद्यार्थी भर्ना भएको कक्षामा यो वर्ष एक जना विद्यार्थी पनि भर्ना हुन आएनन्। क्याम्पस प्रमुख हिक्मतबहादुर रायमाझीले केही विद्यार्थीले परीक्षा फारम भर्ने बेला सम्पर्क राखे पनि प्रवेश परीक्षा एक पटक मात्र भएकाले उनीहरू भर्ना हुन नपाएको बताए।

‘यो त ग्रामीण क्षेत्रको क्याम्पस हो तैपनि गत वर्ष विद्यार्थी भर्ना भए तर यो वर्ष कोही आएनन्,’ उनले भने, ‘विद्यार्थी नै नभएपछि डिग्रीको कक्षा अब के होला भन्ने अन्योल त छ तर आउँदो वर्षदेखि विद्यार्थी आउन सक्ने आस छ।’ यहाँ स्नातक अध्यापन गराइरहेकै ५ अध्यापकले स्नातकोत्तरको कक्षामा पढाउने गरेका थिए। २०७१ सालदेखि चुहानडाँडा क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन भएको हो।

भोजपुर बहुमुखी क्याम्पसमा पनि स्नातकोत्तरको नयाँ भर्ना शून्य छ। शिक्षा संकायमा शैक्षिक योजना व्यवस्थापन र नेपाली विषय पढाइ हुने क्याम्पसमा समेस्टेर प्रणाली लागू भएकै कारण विद्यार्थी भर्ना हुन नआएको क्याम्पसले जनाएको छ। क्याम्पस प्रमुख रोहितकुमार श्रेष्ठले दशकयता स्नातकोत्तर चलेको क्याम्पसमा यो वर्ष विद्यार्थी शून्य हुँदा कक्षाकै अन्योल भएको बताए।

‘कक्षामा नियमित हाजिर हुनुपर्ने, कक्षा कार्यकलापमा सहभागी हुँदा मात्रै परीक्षामा अंक आउनेजस्ता कारणले विद्यार्थीले समय दिन नसकेको हुनुपर्छ,’ उनले भने, ‘डिग्रीको कक्षामा पढ्ने विद्यार्थी कुनै न कुनै जागिर वा काममा हुन्छन्। उनीहरूले समय दिन नसकेकाले भर्ना हुन नआएको हुनसक्छ।’ क्याम्पसमा पूर्णकालीन २ र आंशिक ५ शिक्षकले स्नातकोत्तरको कक्षामा अध्यापन गर्छन्। भर्ना हुन केही विद्यार्थी सम्पर्कमा आए पनि उनीहरू प्रवेश परीक्षाबाट छुटेकाले भर्ना हुन नपाएको उनले जनाए।

पाँचथरको फिदिमस्थित पाँचथर बहुमुखी क्याम्पसमा शिक्षा संकायमा शैक्षिक योजना व्यवस्थापन र नेपाली पढाइ हुने गरेको छ। गत वर्ष दुवै विषयमा २९ विद्यार्थी भर्ना भएकामा यो वर्ष नेपालीमा मात्रै ११ जना भर्ना भएका छन्। अर्काे विषयमा चाहिँ भर्ना शून्य छ। क्याम्पस प्रमुख खेम खतिवडाले सेमेस्टर प्रणालीलाई झन्झट मानेर विद्यार्थी भर्ना हुन नआएको हुनसक्ने बताए। ‘प्रवेश परीक्षा एक पटक मात्रै हुनु र पटक–पटक परीक्षा दिन, कक्षा कार्यकलाप गर्न नभ्याउने भएछि विद्यार्थी भर्ना हुन आएनन्,’ उनले भने, ‘कक्षा चाहिँ चल्ने कि नचल्ने भन्ने अन्योल नै छ तर आउँदो वर्ष भर्ना बढ्न पनि सक्छ।’ उनले सेमेस्टर प्रणालीमा क्याम्पसले आन्तरिक रूपमा ३ वटा र माथिल्लो तहले ६ महिना र १ वर्षमा परीक्षा लिने व्यवस्था रहेको जनाए।

गतवर्षसम्म पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम नै रहेको धनकुटास्थित धनकुटा बहुमुखी क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन तीनै संकायमा स्नातकोत्तर पढाइ हुन्छ। तर, यो वर्ष विद्यार्थी संख्या ह्वात्तै घटेको छ। गत वर्ष २ सयभन्दा बढी विद्यार्थी भर्ना भएकामा यो वर्ष तीनै संकायमा गरी ३६ विद्यार्थी मात्रै भर्ना हुन आएको क्याम्पसले जनाएको छ। ‘सेमेस्टर प्रणालीमा कक्षामा उपस्थित हुनुपर्ने भएकाले विद्यार्थी भर्ना हुन आएनन्,’ क्याम्पस प्रमुख निरञ्जन वस्तीले भने, ‘गतवर्षसम्म धेरै विद्यार्थी आइरहेको कक्षामा यो वर्ष यति धेरै घट्नुको अरू कारण छ जस्तो लाग्दैन।’ उनले स्नातकोत्तर पढ्ने विद्यार्थीहरु जागिर गर्दै पढ्ने भएकाले सेमेस्टर प्रणाली लागू भएपछि विद्यार्थी संख्या घटेको बताए।

विगतमा स्नातकोत्तर तहका विद्यार्थी नियमित हाजिर नभई भर्ना मात्र गरेर परीक्षा दिन पुग्ने गरेका थिए। सेमेस्टर प्रणालीमा कक्षाको नियमितता, कक्षा कार्यकलाप, भर्नाको न्यूनतम संख्यालगायतको व्यवस्था अनिवार्य गरिएपछि क्याम्पसहरू विद्यार्थीविहीन भएका हुन्। सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थी दक्ष र क्षमतावान् हुने भए पनि कक्षामा बढी समय दिन चाहिँ नसक्ने हुनले क्याम्पसको भर्ना दर शून्य भएको क्याम्पसहरूले जनाएका छन्।

प्रकाशित: १५ श्रावण २०७५ ०३:१७ मंगलबार

सेमेस्टरपछि विद्यार्थी शून्य