शिक्षा

अब घरायसी कामबाट पनि विद्यार्थीलाई अंक

छोराछोरीलाई घरको काम सिकाउनुभएको छैन भने अब सिकाउन थाल्नुस्। किनभने सरकारले अब बालबालिकाले घरमा गर्ने कामको पनि शैक्षिक मूल्यांकन गर्ने नीति अघि सारेको छ।

घर नै बालबालिकाको पहिलो पाठशाला भन्ने मान्यताका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि बालबालिकाले घरमा गर्ने जुनसुकै कामलाई शिक्षासँग जोडेर मूल्यांकन गर्ने निर्देशिका ल्याउने तयारी गरेको छ।  

बालबालिकाले घरमा आफ्नो लुगा आफैं धोएको, आमालाई भान्सामा सघाएको, बाथरुम र कोठा सफा गरेको, फूलबारीमा काम गरेको, भाँडा सफा गरेको, ओछ्यान मिलाएको, लुगा मिलाएर राखेको जस्ता सक्ने काम गरेबापतको मूल्यांकन गरी अंक पाउने व्यवस्था निर्देशिकामा गर्न लागिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले बताए। बालबालिकाले घरमा अभिभावकसँगै काम गर्दा सिकाइस्तरमा वृद्धि भई चौतर्फी विकासमा सकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएका छन्।  

महानिर्देशक श्रेष्ठले आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी कक्षा ६ देखि १० सम्मको आन्तरिक मूल्यांकन निर्देशिका परिमार्जन गरी बालबालिकाको घरमा गर्ने कामबापतको अंक जोड्ने व्यवस्था गर्न लागिएको जानकारी दिए। ‘शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेका बालबालिकाको सिकाइ उपलब्धिसम्बन्धी विभिन्न अध्ययनले घरमा काम गर्ने बालबालिकाको सिकाइस्तर राम्रो भएको देखाएका छन्’, महानिर्देशक श्रेष्ठले भने, ‘विभिन्न अध्ययनबाट प्राप्त सुझावकै आधारमा अब पाठ्यक्रम विकास केन्द्रले बालबालिकाले घरमा गर्ने कामलाई शिक्षासँग जोड्न लागेको हो। यसले घरमा गर्ने श्रमको समेत सम्मान हुन्छ।’ उनले अगाडि थपे, ‘२५ नम्बरको आन्तरिक मूल्यांकनमध्ये घरमा गरेको कामका लागि केही अंक (१० नम्बरमाथि) छुट्याइनेछ।’ यसका लागि बालबालिकाले घरमा गरेको काममको विवरणसहित अभिभावकको हस्ताक्षर गराएर विद्यालयमा बुझाउनुपर्नेछ। त्यसपछि कक्षा शिक्षकले अभिभावकसँग सोधखोज तथा क्रसचेक गरी अंक दिने व्यवस्था मिलाइने उनले बताए।  

यति मात्र होइन, विद्यार्थीलाई अप्ठेरो लाग्ने र एसइईमा धेरै फेल हुने गणित र विज्ञान विषयलाई समेत सहज बनाउने नीति मन्त्रालयले लिएको छ। कक्षा ९ र १० का विद्यार्थीका लागि गणित र विज्ञानमा अब खुला प्रश्न सोधिने छ। यसमा विद्यार्थीले विश्लेषणनत्मक कोणबाट तार्किक उत्तर लेख्न सक्नेछन्। अहिले एकैखाले उत्तर लेख्नुपर्ने व्यवस्थाले विद्यार्थीको सिर्जनात्मक क्षमतामा कमी आएको महसुस केन्द्रले गरेको छ। 

‘कक्षा ४ देखि १२ सम्मै सामाजिक विषयमा विषयवस्तु निकै भएको गुनासा आएका छन्। अधिक विषयवस्तुले बालबालिकाको सिकाइस्तरमा नकारात्मक असर पारेको छ। यसलाई सम्बोधन गर्न पाठ्यक्रम विकास केन्द्रले सामाजिक विषयको विषयवस्तु घटाउने तयारी गरेको छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘ कति र कुन/कुन विषयवस्तु हटाउने र राख्नेबारे हरेक जिल्लाबाट दुईदुई जना शिक्षकसँग छलफल गरिएको छ। छलफलबाट विषयवस्तु अधिक हुँदा विद्यार्थीलाई मानसिक तनाव भएको निष्कर्ष आएको छ।’ उनले अगाडि भने, ‘यसकारण केन्द्रले पाठ्यक्रम परिमार्जन गरेर अधिक विषयवस्तु हटाउने गृहकार्य सुरु गरेको छ।’ परिमार्जित पाठ्यक्रम बालबालिका केन्द्रित हुने उनले बताए।

प्रकाशित: १४ कार्तिक २०८१ ०६:४७ बुधबार

#education