शिक्षा

बंगलादेश संकटः स्वदेशमै इन्टर्नसीप मिलाइदिन नेपाली विद्यार्थीको माग

शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइयो

बंगलादेशमा उत्पन्न द्वन्द्व र राजनीतिक उथलपुथलका बीचमा त्रासको वातावरण सिर्जना भएको त्यहाँ अध्ययनरत् नेपाली विद्यार्थीहरूले बताएका छन्। बंगलादेशमा मुख्यगरी मेडिकल शिक्ष अध्ययन गर्न नेपाली विद्यार्थी जाने गरेका छन्। हाल त्यहाँ उत्पन्न स्थितीका कारण नेपाली विद्यार्थीहरू त्रासपुर्ण वातावरणमा बाँच्नु परेको नेप्लिज मेडिकल स्टुडेन्टस एसोसिएसन बंगलादेशका अध्यक्ष डा. नवीन यादवले बताए। 

अध्यक्ष यादवकै नेतृत्वको टोलीले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटेर त्यहाँ उत्पन्न परिस्थितीबारे ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण गराउँदा त्यहाँ बस्न मुस्किल भएकाले नेपाल फर्केका मेडिकलका विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिन माग गरेको अध्यक्ष यादवले बताए। उनी आफै बंगलादेशमा रहेको पपुलर मेडकल कलेजमा इन्टर्नसिप गरिरहेका थिए। 

इन्टर्नसीपकै क्रममा त्यहाँ जटिलता बढ्दै गएपछि त्रासका कारण बिचैमा नेपाल फर्कनुपरेको उनी बताउँछन्। स्वदेशमै अध्ययन गर्ने इच्छा हुँदहुदै देशमा अध्ययनको वातावरण नहुँदा बाध्य भएर त्यहाँ पुगेको नेपाली विद्यार्थीहरूको गुनासो छ। यस्तै त्यहाँ जीवनको लामो समर्पण, कडा मिहिनेत, चर्को शूल्क लगानी अनेकौं चुनौतिहरूको सामाना गर्दै अध्ययन गर्नुपरेको पनि गुनासो छ। तर त्यहाँ अध्ययन गरेर डिग्री लिइसक्दा पनि स्वदेशमा प्रोत्साहनका लागि कुनै सुविधा नहुनु दुखलाग्दो विषय भएको विद्यार्थीहरूले मन्त्रिद्वयसँगको भेटमा गुनासो पोखेका छन्। ‘अहिलदे बंगलादेशमा हिन्दूहरूमाथि आक्रमण भइरहेको छ।

 हामी दुई हजार मेडिकल अध्ययन गरिरहेका विद्यार्थी नेपाल फर्की सकेका छौ,’ अध्यक्ष यादवले नागरिकसँग भने,‘हामी फर्केपनि त्यहाँका कलेजमा अझै हाम्रा साथीहरू फसेका छन्। कुन बेला के हुने हो थाहा छैन।’ यस्तो संकटका बेला नेपालमै इन्टर्नसिप गर्न चाहेको उनले बताए । ‘राज्य अभिभावक हो। अभिभावकत्वको जिम्मेवारी निर्वाह गर्न हामीले शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री , पराराष्ट्र मन्त्री र नेपाल मेडिकल काउन्सिलसँग अनुरोध गरेका छौं,’ अध्यक्ष यादवले भने। बंगलादेशमा करिब तीनहजार पाँचसय नेपाली विद्यार्थी अध्ययनरत रहेको एसोसिएसनले बताउँछ । तर नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयसँग यसको एकिन तथ्यांक नरहेको अध्यक्ष यादव बताउँछन्। 

बंगलादेशका निजी मेडिकल कलेज अध्ययनरत विद्यार्थीले एमबिबिएसको अन्तिम परीक्षा उत्तीर्ण गरेपछि इन्टर्नसिप गर्न शुल्क तिर्नुपर्छ। त्यही शुल्क नै पछि मेडिकल कलेजले तलब भनेर इन्टर्नसिप गर्दा मासिक फिर्ता गर्ने गरेका छन्। तर सरकारी कलेजमा इन्टर्नसिप गर्नेले कुनै पनि सुविधा नपाउने स्टफेन नपाउने त्यहाँ इन्टर्नसिप गरिरहेको एक नेपाली विद्यार्थी बताउँछन्। अहिलेकै अवस्थामा नेपाल फर्किएका विद्यार्थी बंगलादेश फर्कनसक्ने अवस्था नरहेको एक विद्यार्थी वताउँछन्। स्वयम् बंगलादेशमा रहेकाहरू पनि तत्काल नफर्कन सुझाव दिइरहेका छन्। 

‘नेपाल फर्केका साथीहरू अब बंगलादेश नआउँदा हुन्छ। केही कलेजले नेपाली विद्यार्थीलाई नेपाल फर्काउन एअरपोर्ट लैजाँदा समेत उहाँहरूमाथि आक्रमण भएको छ,’ बंगलादेशमा फसेका एक विद्यार्थीले भने,‘यहाँको वातावरण अझै असुरक्षित छ। हजार भन्दा बढी मान्छे मारिएका छन्। बाहिर थोरै मात्र भनिएको छ।’ 

आफूहरू सकेसम्म नेपाल फर्कन चाहिरहेको उनले बताए। ‘हामी पनि नेपाल फर्कने क्रममै छौं। अब नेपाल सरकारले अभिभावकको भूमिका खेलेर हामी डाक्टर पासलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिनुपर्छ।’ हाल बंगलादेशको पपुलर मेडिकल कलेज, इमान मेडिकल कलेज, राजशाही मेडिकल कलेज, अकबर खान मेडिकल कलेज लगायतमा इन्टर्नसिप गरिरहेका विद्यार्थी त्यहाँ अड्किएका छन्। 

‘केहीदिनमा समस्या समाधान होला भन्ने आशामा इन्टर्नसीप गर्न यहाँ रोकियौं। तर अवस्था थप नाजुक बन्दै गयो,’ राजशाही मेडिकल कलेजमा इन्टर्नसीप गरिरहेका एक विद्यार्थीले भने। अवस्था र आवश्यकता हेरेर बंगलादेश वा नेपालमा इच्छाअनुसार इन्टर्नसिप गर्ने व्यवस्था मिलाइदिन उनले आग्रह गरे। अध्यक्ष यादवकाअनुसार भारतलगायत विभिन्न देशमा इन्टर्नसिप आफ्नै देशमा गर्न मिल्ने प्रावधान छ। 

सोहीअनुसार नेपालमा पनि हुनुपर्ने उनले बताए। नेपालमै इन्टर्नसिपको व्यवस्था गर्दा यहाँको मेडिकल सेटअप, प्रणाली लगायतका विषयमा ज्ञान भइ स्वदेशकै बिरामीलाई सेवा प्रदानमा फाइदा पुग्ने यादव बताउँछन्। यस्तै प्रकृतिका स्वास्थ्य, शिक्षा सम्बन्धी विभिन्न ६ बुँदे माग राखेर एसोसियसनले मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाएको छ। यी विषयमा नेपाल सरकारले सम्बोधन गरेर समस्या समस्या गर्न ढिलाई नगरिदिन विद्यार्थीहरूको आग्रह छ।

प्रकाशित: २४ श्रावण २०८१ १३:५७ बिहीबार

#Nepalese student #Bangladesh-Crisis