शिक्षा

मध्यम खालका प्रश्नले पनि आएन राम्रो नतिजा

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले गत चैत १७ देखि  २९ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) अर्थात् कक्षा १० को परीक्षा नतिजा बिहीबार सार्वजनिक गरेको छ। बोर्डले यसपटकको नतिजा स्तरीकृत परीक्षा प्रणालीका कारण राम्रो भएको दाबी गरे पनि वास्तविकता भने फरक छ।

बोर्डले यसपटक अंग्रेजी, गणित र विज्ञान गरी तीन विषयमा स्तरीकृत परीक्षा सञ्चालन गरेको थियो। स्तरीकृत परीक्षा प्रणालीमा धेरै अप्ठेरा र धेरै सजिला प्रश्नलाई हटाएर अधिकांश मझौला खालका अर्थात् धेरै विद्यार्थीले उत्तर दिने खालका प्रश्न सोधिन्छ। बोर्डले यसपालि यही प्रणाली अपनाएको थियो। तर नतिजामा सुधार आउन नसकेको भन्ने आधार गणित विषयमा देखियो।

राष्ट्रिय परीक्षा बोर्डले गत चैत १७ देखि  २९ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) अर्थात् कक्षा १० को परीक्षा नतिजा बिहीबार सार्वजनिक गरेको छ।

गणित विषयको परीक्षामा ४ लाख ८३ हजार ५ सय ६५ विद्यार्थी सहभागी रहेकोमा ‘ई’ ग्रेडमा एक लाख ५५ हजार ४ सय ५८ जना परेका छन् अर्थात् ३२.१४८ प्रतिशत विद्यार्थी फेल भए।  ३० अंकभन्दा कम अंक ल्याउने ‘ई’ ग्रेडमा पर्छन्। गणितमा विद्यार्थीले सबै प्रश्नको जवाफ लेख्नुपर्छ। यसमा प्राक्टिकल हँुदैन। अन्य विषयहरूमा २५ प्रतिशत प्राक्टिकल र ७५ प्रतिशत सैद्धान्तिक प्रश्न सोधिन्छ। स्तरीकृत परीक्षा प्रणालीमा मध्यम खालका ६०, अप्ठेरा २० र सहज खालका २० प्रतिशत प्रश्न सोधएको थियो।

बोर्डले सार्वजनिक गरेको नतिजामा अंग्रेजीमा ‘ई’ ग्रेडमा ४ सय ७ र विज्ञानमा १ हजार ७ सय २१ जना परेका छन्। यो विषयमा मझौला प्रश्न सोधिनु र २५ अंकको प्राक्टिकलले न्यून ग्रेडमा विद्यार्थी कम परेका हुन्।

प्राक्टिकलअन्तर्गतको २५ नम्बर स्कुलले उपलब्ध गराउँछ। यसले धेरै विद्यार्थीलाई राम्रो ग्रेडमा पर्न सघाएको प्रष्ट हुन्छ। नतिजा हेर्दा वास्तविक शिक्षण सिकाइमा खासै सुधार नभएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्।

परीक्षामा सहभागी कुल चार लाख ८४ हजार ९ सय ३९ विद्यार्थीमध्ये जिपिए २ देखि २.४० (५० देखि ६० मुनिको अंक) ल्याउने बाहुल्यता छ। यो समूहमा एक लाख २ हजार २ सय ९३ विद्यार्थी परेका छन्। अर्थात् मध्य जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या २१.०९ प्रतिशत छ। गत वर्षको नतिजामा २२ .७४ प्रतिशत विद्यार्थी मध्यम जिपिएमा परेका थिए।

बोर्डले सार्वजनिक गरेको नतिजामा अंग्रेजीमा ‘ई’ ग्रेडमा ४ सय ७ र विज्ञानमा १ हजार ७ सय २१ जना परेका छन्। यो विषयमा मझौला प्रश्न सोधिनु र २५ अंकको प्राक्टिकलले न्यून ग्रेडमा विद्यार्थी कम परेका हुन्।

यसैगरी ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ छ। यो कुल परीक्षार्थी संख्याको ४.६३ प्रतिशत हो। गत वर्ष यो समूहमा १.९४ प्रतिशत अर्थात् ९ हजार ६ सय ३३ विद्यार्थी परेका थिए। यस अर्थमा बोर्डले राम्रो ग्रेड अर्थात् राम्रो जिपिए ल्याउने विद्यार्थीको संख्या स्तरीकृत परीक्षा प्रणालीले वृद्धि गरेको ठहर गरेको हो। त्यस्तै जिपिए ३.२० देखि ३.६० ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ अर्थात् ११.३६ प्रतिशत छ।

‘बोर्डले स्तरीकृत परीक्षाले राम्रो गरेको दाबी गर्नु पनि ठिकै हो। किनभने यसले विद्यार्थीको स्तर थाहा हुन्छ,’ शिक्षाविद् कोइरालाले भने, ‘यसो हो भने सबै प्रश्न लेख्नुपर्ने गणित विषयमा किन न्यून जिपिएमा बढी विद्यार्थी परे त?’ उनले अगाडि भने, ‘२५ नम्बरको प्रयोगात्मक परीक्षाको अंकले जिपिए बढाएर बोर्ड दंग परेको छ।’

उनका अनुसार यसपटक माथिलो ग्रेडमा बढी विद्यार्थी पर्नुको मतलब मध्यम खालका प्रश्नपत्र सोधिन अर्थात् स्तरीकृत परीक्षा प्रणाली पनि हो।’

बोर्डका अध्यक्ष महाश्रम शर्मा स्तरीकृत परीक्षा प्रणालीले परीक्षा नतिजामा सुधार ल्याएको दाबी गर्छन्। उनका अनुसार यसपटकको एसइई परीक्षामा विद्यार्थीलाई प्रिटेस्टेड प्रश्नपत्र सोधिएको थियो। ‘मुख्य कुरा अंग्रेजी, गणित र विज्ञानमा विद्यार्थीमाझ पहिले नै प्रश्नपत्र परीक्षण गरी धेरैले समाधान गर्न सक्ने खालका प्रश्न सोधिएको थियो, उत्तर दिन नसक्ने प्रश्न हटाइएको थियो। सबैले मिलाउन सक्ने गरी प्रश्न सोधिएको थियो,’ अध्यक्ष शर्माले भने, ‘साथै यसपटक भौतिक उपस्थितिमा विद्यार्थीको शिक्षण सिकाइ, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण र मार्किङ स्किमले नतिजामा सुधार आएको हो।’

बोर्डका सदस्यसचिव दुर्गा अर्याल पनि विगतभन्दा अहिले नतिजामा सुधार आएको बताउँछन्। तर उनले गणितमा प्रयोगात्मक परीक्षा नभएकाले नतिजा सुध्रिन नसकेको बताए। ‘गणितमा २५ नम्बरको प्रयोगात्मक परीक्षा हुँदैन। सय पूर्णांककै उत्तर विद्यार्थीले लेख्नुपर्छ,’ उनले ले नागरिकसँग भने, ‘तर अन्य सबै विषयमा स्कुलहरूले २५ नम्बरको प्रयोगात्मक परीक्षा सञ्चालन गर्छ। नम्बर पनि पूरै दिन्छन्। त्यसले पनि नतिजा सुधारमा सकारात्मक भूमिका खेल्छ।’

प्रदेशगत रूपमा वाग्मतीमा सबैभन्दा माथिलो जिपिए ३.६० देखि ४ ल्याउने ११ हजार ८ सय ३७ जना छन्। दोस्रो स्थानमा लुम्बीनी प्रदेश रहेको छ। लुम्बिनीमा यो समूहमा २ हजार ९ सय ८३ विद्यार्थी (१७.६५ प्रतिशत) परेका छन्। तेस्रो स्थानमा मधेस प्रदेश छ। मधेस प्रदेशमा यो जिपिए ल्याउने १६.५० प्रतिशत (२ हजार ३ सय २५ जना) छन्।

बोर्डका सदस्यसचिव दुर्गा अर्याल पनि विगतभन्दा अहिले नतिजामा सुधार आएको बताउँछन्। तर उनले गणितमा प्रयोगात्मक परीक्षा नभएकाले नतिजा सुध्रिन नसकेको बताए।

त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका पूर्वडिन एवं राष्ट्रिय परीक्षा बोर्डका सदस्य प्राडा प्रकाशमान श्रेष्ठले स्तरीकृत प्रश्नपत्रले एसइईको नतिजामा केही हदसम्म सुधार ल्याएको बताए।

‘स्तरीकृत प्रश्नपत्रमा मध्यम खालका ६०, कठिन खालका २० र सहज खालका २० प्रतिशत प्रश्न समेटेर प्रश्नपत्र निर्माण गरिन्छ,’ श्रेष्ठले भने, ‘पहिलेका प्रश्नपत्र निर्माणकर्ताले कि त धेरै कठिन कित धेरै सहज प्रश्न तयार पार्थे। त्यही भएर नतिजा तलमाथि हुने गरेको थियो।’

स्तरीकृत प्रश्नपत्र तयारीमासमेत सहभागी भएका उनले भने, ‘समग्रमा एसइई नतिजा सुधार भएको छ। अगामी दिनमा थप सुधार गर्दै जानुपर्छ।’

प्रकाशित: २२ असार २०८० ०१:०८ शुक्रबार

स्तरीकृत प्रश्नपत्र मध्यम खालका प्रश्नले पनि आएन राम्रो नतिजा