शिक्षा

एउटा सिपले बदलिन्छ जीवन...

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमा कक्षा ९ ‘ए’ की रेनुका यादवले कल्पना पनि गरेकी थिइनन् कि स्कुलमा सिकाइने एउटा सिप सिकेर कमाउन सकिन्छ भनेर। अहिले धेरै नभए पनि उनी आफूलाई चाहिने सामान्य खर्च स्कुलमै सिकेको सिपबाट जुटाउन सक्षम भएकी छन्।

उनले स्कुलमा पढाइसँगै हरेक शुक्रवार सौन्दर्य कलाको तालिम लिइरहेकी छन्। तालिममा उनले थ्रेडिङ, हेयर मसाज, मेडिकेयर, पेडिकेयर, जुरो बनाउने तथा समान्य मेकअप गर्न सिकेकी छन्। पढाइमा सामान्य १४ वर्षीया उनले यो तालिम लिन थालेपछि आफूमा केही गर्न सकिन्छ भन्ने आँट आएको बताइन्।विद्यालय शिक्षा सकेर निस्कँदा एउटा हातमा शैक्षिक प्रामाणपत्र र अर्को हातमा जीवनपयोगी सिप हुने भएकाले उनी निकै खुसी छिन्।  

‘पढाइका साथै मैले स्कुलमा सौन्दर्य कला सिक्न थालेपछि अचेल मेरी आमालाई कपाल काट्न वा थ्रेडिङ गर्न पार्लर जानुपरेको छैन,’ भविष्यमा एडभान्स डिप्लोमा कोर्स गरेर ब्युटिसियन बन्ने सोच बोकेकी उनले भनिन्, ‘अचेल छिमेक वा अन्य चिनेजानेकाले पनि मलाई विवाहमा मेहन्दी र हल्दी लगाउन बोलाउने गरेका छन्।

मैले जानेजति मेकअप गरिदिन्छु। एउटा सानो सिपले मलाई अहिलेदेखि कमाउन सिकाएको छ। यसैबाट अलिअलि पढाइ खर्च निकाल्छु। एउटा सिपले मलाई मेरो जीवन बदलिएजस्तो लागिरहेको छ।’

सोही कक्षाका रवीन पाण्डे पनि घरको धाराको पाइप वा ट्यांकीमा आएको समस्या आफैं समाधान गर्न सक्षम बनेका छन्। १४ वर्षीय उनी पनि यही काम गरेर पढाइ खर्च निकाल्न सक्ने भएका छन्। उनी स्कुलमा पढाइसँगै प्लम्बिङसम्बन्धी सिप सिक्छन्। सिप सिक्ने मात्र होइन, त्यसलाई व्यवहारमा पनि उतार्न थालेका छन् उनले। ‘अहिले घरमा धारा बिग्रेमा प्लम्बर बोलाउनुपरेको छैन,’ उनले उत्साहित हँुदै भने, ‘साथीभाइको घरमा गएर पनि आफूले जानेजति काम गरिदिन्छु। त्यसबाट अलिअलि कमाइ भइहाल्छ। पढाइ सकेपछि थप तालिम लिएर भविष्यमा पलम्बर बन्ने सोच बनाएको छु। विदेशमा पनि यो काम गर्नेको माग बढी रहेको थाहा पाएको छु।

कक्षा ९ मै पढ्ने सिर्जना कुमाल मूर्ति र चित्रकला सिक्दै छिन्। स्कुलले ‘शिक्षामा सिप कार्यक्रम’ अन्तर्गत प्रत्येक शुक्रबार विद्यार्थीलाई व्यावहारिक सिप सिकाउने गरेको छ। ‘अब किताब पढेर मात्र पुग्दैन। व्यावहारिक सिप सिके केही न केही गरेर सक्षम बन्न सकिन्छ,’ उनले भनिन्, ‘मैले स्कुलमै माटोको पाला बनाउन, फलफूल राख्ने टोकरी बनाउन सिकेकी छु। त्यस्तै सजाउने सामग्री कछुवा, मुखौटो, खरायोलगायत पनि बनाउन सिकेकी छु। अरू पनि सिक्दैछु। प्रत्येक शुक्रबार चार घन्टा हामी यस्तै सिप सिकेर रमाउँछौं। यसले हामीलाई पढाइमा समेत थप रुचि जगाएको छ।’ स्कुलले व्यावसायिक शिक्षा दिन थालेपछि छात्रछात्रासँगै अभिभावक पनि खुसी छन्। काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका विद्यालयमा चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘शिक्षामा सिप कार्यक्रम’ले विद्यार्थीमा निकै उत्साह जगाएको स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए। उनले शिक्षामा सिप कार्यक्रमअन्तर्गत ९० घण्टा विभिन्न खाले सिप सिकाइने बताए। ‘अब विद्यालय शिक्षा पूरा गर्ने विद्यार्थीले एक हातमा शैक्षिक योग्यता र अर्को हातमा सिपमूलक ज्ञान प्राप्त गरेको प्रमाणपत्र पाउनेछन्,’ कँडेलले भने। कार्यक्रमको प्रभावकारिताबारे प्रत्येक शुक्रबार महानगरपालिकाले अनुगमनसमेत गर्छ।

काठमाडौंकै कालिमाटीस्थित नीलबाराही माविका विद्यार्थी पनि विद्यालयमा पढाइसँगै सौन्दर्य कला सिक्छन्। कक्षा ९ की छात्रा रञ्जिता प्रधानले सौन्दर्यकलाले मेकअप र व्यक्तित्व निर्माणसम्बन्धी सिप सिकाउने भएकाले आफूलाई निकै मन परेको बताइन्। ‘मैले सौन्दर्य कला र विभिन्न स्टाइलमा कपाल काट्ने सिपसँगै आफूलाई कसरी स्मार्ट बनाउने र स्वस्थ राख्ने भन्नेबारे पनि सिकेकी छु,’ १३ वर्षीया उनले भनिन्, ‘खानपिन तथा स्वस्थ जीवनशैलीबारे पनि सौन्दर्य कलामा सिकाइने रहेछ। अहिले मैले आमाको कपाल र आइब्रो मिलाइदिने, कपालमा कलर गरिदिने गरेकी छु। यसबाट आमाको खर्च बचेको छ।

स्कुलकी प्रिन्सिपल जानुका नेपालले स्कुलले मोबाइल मर्मतसम्बन्धी सिप पनि सिकाउन चाहेको तर महानगरपालिकाले ब्युटिसियन कार्यक्रम मात्र दिएको बताइन्। ‘सौन्दर्य कला सिक्न पाएकोमा छात्रा निकै उत्साहित छन्,’ उनले भनिन्, ‘सौन्दर्य कलाले विद्यार्थीलाई व्यक्तित्व उत्कृष्ट बनाउन, स्वस्थ जीवन जिउन र आत्मनिर्भर बन्न सिकाएको छ।’ पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनपयोगी, सिपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको महानगरपालिका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताए।

महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्। जसमध्ये ५९ मावि र ३० प्राथमिक छन्। शिक्षामा सीप कार्यक्रम यो वर्ष ५६ वटा माविमा कार्यान्वयनमा ल्याइएको छ,’ कोइरालाले भने, ‘महानगरले शिक्षामा सिप कार्यक्रमका लागि १ करोड ८० लाख रकम विनियोजन गरिसकेको छ।’ अहिले महानरभित्रका ११ वटा सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषय पनि पठनपाठन गराइन्छ। समय अनुकूल दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौंं महानगरपालिकाले ११औं नगरसभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ।  

९० घण्टे सीपमूलक तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएको छ। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान मर्मत, पाइप जडान तथा मर्मत, चित्रकला र मूर्तिकला विधालाई पनि पाठ्यक्रममा समावेश गरिएको छ।

‘यसरी प्रदान गरिने शिक्षाबाट विद्यार्थीले दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधान गर्न सक्नेछन्,’ महानगरपालिका शिक्षा विभागअन्तर्गत सामुदायिक विद्यालय हेर्ने अधिकृत मोतीराज भट्टराईले भने, ‘प्रतिस्पर्धी जीवनका लागि व्यावहारिक शिक्षा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हो।यसले विद्यार्थीमा श्रमप्रति आदर र सम्मान भाव जगाएको छ।

प्रकाशित: १९ असार २०८० ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App