शिक्षा

पोखरामा ‘प्राज्ञिक मूलधारमा आविष्कार र अनुसन्धान’ विषयबारे छलफल

पोखरामा प्राज्ञिक मूलधारमा आविष्कार र अनुसन्धान’ विषयक गण्डकी युनिभर्सिटी ईन्टरनेसनल कन्फेरेन्स शुरु भएको छ। गण्डकी विश्वविद्यालयको आयोजनामा शुरु भएको त्रिदिवसीय सम्मेलनको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरे। 

उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालमा रहेका विश्वविद्यालयले शिक्षाका लागि विदेश जाने विद्यार्थी रोक्न सक्नुपर्ने बताए। उनले विद्यार्थीले नेपालमा किन पढ्न नचाहेको हो? र किन सबै विद्यार्थी विदेश गएर पढ्न चाहेको हो? भन्ने प्रश्न गरे।

नेपालका विश्वविद्यालयमा विकृति र विसंगति छाउँदा विद्यार्थी शिक्षाका लागि विदेशिने गरेको बताउँदै उनले भने, ‘यहाँका विश्वविद्यालयमा समयमा भर्ना आह्वान हुँदैन, अध्ययन अध्यापन हुँदैन, परीक्षा पनि समयमा हुँदैन, अनि रिजल्ट बेलैमा आउँदैन। जहाँ ज्ञान, सीप दिने हो त्यहिं यस्तो विकृति विसंगति भएपछि त्यस्ता विश्वविद्यालयले कस्तो विद्यार्थी उत्पादन गर्ने हो?।’

उनले विद्यार्थी संगठन राजनीतिक दलको स्वार्थपूर्ति गर्ने हतियारका रुपमा मात्र प्रयोग हुने गरेको र विद्यार्थी संगठनले पनि बन्द, हड्ताल र तालाबन्दी गरेर अध्ययन अध्यापनमा बाधा पु¥याएको भन्दै त्यसलाई सुधार्न विश्वविद्यालयले वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। 

गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले शिक्षामा नीजिकरण र व्यापारीकरण हुँदा समान शिक्षा लागु हुन नसकेको बताईन्। उनले विज्ञान र प्रविधिामा आधारित सीपमूलक शिक्षा अहिलेको आवश्यक्ता भएकाले त्यसतर्फ जोड दिन विश्वविद्यालयहरुलाई आग्रह गरिन्। 

आविष्कार केन्द्रका संस्थापक महाविर पुनले पोखरालाई १५ वर्ष भित्र सिलिकन भ्याली बनाई छाड्ने घोषणा गरे। पोखरालाई हैदराबाद, बैंग्लोर जत्तिकै अवस्थामा नपु¥याएपनि सोहि लेबलको सिलिकन भ्याली बनाउन आफूहरु लागेको उनको भनाई थियो। 

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, बोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष कैलाशनाथ प्याकुरेल लगायतले विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि पढाई बाहेक अतिरिक्त क्रियाकलाप लाई पनि उत्तिकै ध्यान दिदै आएको बताए। 

त्रिदिवसीय सम्मेलनमा नेपालसहित ७ देशका अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थीको सहभागिता छ। जहाँ २० वटा सेसनमा ९१ वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलन आयोजक समितिका संयोजक डा.राजकुमार थापाले जानकारी दिए।

प्रकाशित: ३० जेष्ठ २०८० १०:५० मंगलबार

पोखरा प्राज्ञिक मूलधारमा आविश्कार र अनुसन्धान