शिक्षा

महानगरको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमले विद्यार्थी दंग

काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि कार्यन्वयन हुने गरी विद्यालय तहका विद्यार्थीको लागि शिक्षामा सीप कार्यक्रम लागु गरेपछि विद्यार्थीहरु दंग परेका छन्।

किताबी रटानबाट वाक्कदिक्क बनेका आफूहरुलाई शिक्षा साथै विद्यालय तहबाटै सिप पनि सिक्न पाउने अवसर पाएकोमा विद्यार्थीले खुशी साटेका छन्।

महानगरपालिकाले कार्यक्रमबारे जानकारी गराउन विद्यालय, शिक्षक,अभिभावक र विद्यार्थीहरुलाई काठमाडौं महानगरपालिकाभित्रको राष्ट्रिय सभागृहमा उपस्थित गराएको थियो। सोहि कार्यक्रममा महानगरभित्रका मावि विद्यालयहरुको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको पनि उपस्थित थियो। शिक्षामा सीप कार्यक्रमले विद्यालय शिक्षा पुरा गरेपछि आफूहरुलाई शैक्षिक ज्ञान साथै ब्यवहारिक र सिप मुलक ज्ञान पाउने थाह पाएपछि विद्यार्थीहरु दंग गरेका थिए।

‘दिनहुँ किताब मात्र रट्ने र आफूसँग कुनै ब्यवहारिक ज्ञान नभएकोले विद्यालय शिक्षा पास भएपछि के गर्ने भन्ने मलाई निकै चिन्ता थियो,’धुम्बराही माविका कक्षा ९ की छात्रा मनिषा गुरुङले भनिन् ‘महानगरले कार्यन्वयन गरेको कृषि तथा सहरी खेती, सोन्दर्य कला,कपाल शैली,कष्ठकला, पाककला लगाएत १० वटा निर्धाराण् गरिएको क्षेत्रले विद्यालय शिक्षा पुरा गर्दा कम्तीमा हामी विद्यालयका विद्यार्थी शिक्षासाथै सिप सिकेर बाहिरिने भयौं।’ उनी दंग पर्दै भनिन्,‘मैले सौन्दर्य कला सिकेर पढाइसाथै पार्लर खोलेर आर्थिक आयआर्जन गर्न सक्ने हुन्छु।’

सोही विद्यालयका अर्का छात्र रविन्द्र रावत पनि आफूले दैनिक जिवनसँग जोडिएको विषयमा ब्यवहारिक ज्ञान हासिल गर्न पाउने अवसर पाएकोमा खुशी ब्यक्त गरे। ‘घरमा स साना काम जस्तै धारा, विजुलिको स्वीच लगाएतका विग्रेमा पनि पलम्बर वा मिस्त्री बोलाउनु पर्ने बाध्यता अब दूर हुने भयो,’ कक्षा ९का रविन्द्रले खुसी साटे‘किताब विहिन शुक्रबार कति रमाइलो हुने भयो। अब हामीले विद्यालयमै जिवनपयोगि सीपमुलक शिक्षा पाउने भयौं।’

शैक्षिक सत्र २०८० देखि काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ देखि १२) सम्म ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ थालनी गरेको छ।

पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको महानगर शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताए।

यस प्रकारको तालिम सञ्चालन गर्न चालु आर्थिक वर्ष २०७९∕०८० को स्वीकृत बार्षिक कार्यक्रममा बजेटको व्यवस्था गरिएको छ। ‘महानगरमा कुल ८९ सामुदायिक विद्यालय छन्। जसमध्ये ५९ मावि र ३० प्राथमिक छन्। शिक्षामा सीप कार्यक्रम यो वर्ष ५६ माविका कक्षा ९ मा कार्यन्वयन भएको छ,’ विभाग प्रमुख कोइरालाले भने ‘अगामी शुक्रबारदेखि यो कार्यक्रम लागु हुन्छ।’ उनले थपे ‘महानगरले शिक्षामा सीप कार्याक्रमकोलागि एक करोड ८० लाख रकम बिनियोजन गरिसकेको छ।’

अहिले ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषयहरु पठन पाठन भइरहेका छन्। यस्ता कार्यक्रमबाट प्राप्त सिकाइ र सीपलाई संस्थागत गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्ने यसको मूख्य लक्ष्य हो। वर्तमान समयअनुकूलका दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौँ महानगरपालिकाले ११ औँ नगर सभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ। तालिम सुरु भएसँगै नीति कार्यान्वयनमा आएको महानगर प्रमुख बालेन्द्र साहले स्पष्ट पारे।

९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोवाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिनेछ।

यसरी प्रदान गरिने शिक्षाबाट विद्यार्थीहरुले दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधान गर्न सक्नेछन्,’ मेयर साहले भने, ‘ विद्यालय तह पूरा गर्दा विद्यार्थीले शैक्षिक प्रमाणपत्रसँगै रुचि अनुसारको जीवनमा उपयोगी सीपको प्रमाण पत्र पनि प्राप्त गर्ने छन्। प्रतिस्पर्धी जीवनका लागि व्यावहारिक शिक्षा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हो।’ उनले थपे ‘यसले विद्यार्थीहरुमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुनेछ। विद्यार्थीले किताबमा पढेको ज्ञानलाई ब्यवहारमा उतार्ने छन्। फ्रि टाइमको सदुपयोग हुन्छ।’

हरेक तालिमको १ समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिनेछ। कार्यक्रमको शुरुवात पहिलो वर्ष शैक्षिक सत्र २०८० मा कक्षा ९ का लागि नमूना कार्यक्रम चलाइनेछ। यसका लागि विद्यालयहरुलाई अनुदान रकम उपलब्ध गराइने उपप्रमुख सुनिता डंगोलले जनाइन्। उनले विद्यार्थीले तीन घण्टे परीक्षामा प्राप्त गरेको नम्बर क्षणीक भएको बताउँदै जिवनशैली बनाउने आधारनै सीपमुलक शिक्षा भएकोमा जोड दिइन्।

‘सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेर मान्यता प्राप्त संस्था÷निकायवाट प्रशिक्षण प्रशिक्षक तालिम लिएका व्यक्ति तालिमका प्रशिक्षक हुनेछन्,’ उपप्रमुख डंगोलले भनिन्,‘प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदबाट लेबल २ उत्तीर्ण गरेको,सम्बन्धित विषयमा कम्तीमा डिप्लोमा तथा प्रमाणपत्र तह अथवा राष्ट्रिय सीप परीक्षण समितिबाट न्यूनतम तह – २ अथवा सो सरह डिग्री प्राप्त गरेर १ वर्षको प्रशिक्षण अनुभव हासिल व्यक्तिलाई पनि प्रशिक्षकका रुपमा ग्रहण गरिनेछ।’ उनले थपिन्‘बिद्यार्थीले हासिल गरेको सीपलाई सिटिइभिटभिले प्रमाणीकरण गर्ने ब्यवस्था गरिने छ।’

विदेशबाट सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेका वा सीप हासिल गरेका व्यक्तिहरुको हकमा नेपाल सरकारवाट मान्यता प्राप्त संस्थाहरूवाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र भएका व्यक्ति, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्बाट वा आधिकारिक दर्तावाल संघ संस्थाहरुबाट सम्बन्धित विषय तथा भारको तालिम प्रशिक्षण गर्न योग्यता हासिल गरेका सम्बन्धित विद्यालयमा कार्यरत शिक्षकहरुले पनि तालिममा प्रशिक्षण गर्न सक्नेछन्।

विद्यालयले कार्यक्रम सञ्चालन गर्दा सूचना प्रकाशन गरेर जनशक्ति माग गर्नु पर्नेछ। यसरी सूचना प्रकाशन गर्दा योग्यता प्राप्त गरेका जनशक्ति प्राप्त हुन नसके विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विषयसँग सम्बन्धित दक्ष व्यक्ति वा सेवा प्रदायक संस्थाहरुसंग सत्रका आधारमा सेवा करार लिई बैकल्पिक प्रशिक्षकको व्यवस्था गर्न सक्नेछन्।

‘पाठ्यक्रम निर्माणमा सहजीकरण गर्ने, कार्यक्रमको अनुगमन र निरीक्षण गर्ने, विद्यार्थी र अभिभावकको माग अनुसार थप विधाको पाठ्यक्रम निर्माण गर्ने काम गर्न विज्ञसहितको एक समीति गठन गरि अघि बढ्ने छौं,’ शिक्षाविभाग प्रमुख कोइरालाले भने ‘शिक्षामा सीप कार्यक्रमकोलागि विद्यालयहरुको सबै ब्यवस्थापन महागनरले गर्ने छ। विद्यार्थीले निःशुल्क शिक्षा पाउने छन्।’

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रख हेरम्बराज कँडेललले अब विद्यालय तहबाटै विद्यार्थीले दैनिक जिवनसँग जोडिएका विषयबस्तुबारे सीपमसहितको ब्यवहारिक ज्ञान पाउने सहरानिय काम महानगरले ल्याएकोमा प्रसंसा गरे। ‘अब विद्यार्थी विद्यालय शिक्षा पुरा गरेपछि सीपसहितको ज्ञान लिएर बाहिरन्छन्,’ उनले भने ‘अब विद्यालय तहका विद्यार्थी आर्थिक रुपमा आत्मनिर्भर भएर बाहिरिने कार्यक्रम सहरानिय छ।’

प्रकाशित: १३ वैशाख २०८० ०७:४४ बुधबार

काठमाडौं महानगर बुक फ्रि फ्राइडे