शिक्षा

विद्यार्थीले अन्तरजिल्ला र अन्तरकलेज स्थान्तरण हुन नपाउने

फाइल तस्वीर

त्रिभुवन विश्वविद्यालयले परीक्षा र स्थानान्तरणमा व्यवस्थापन गर्ने भन्दै विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ। विश्वविद्यालयले निजी कलेजमा भर्ना भएका विद्यार्थी अबदेखि आंगिक कलेजमा बीचमा स्थानान्तरण हुन नपाउने समेत निर्णय गरेको छ।  

विश्वविद्यालयको प्राज्ञिक परिषद्को फागुन २८ को निर्णयले विद्यार्थीलाई अन्तर कलेज र अन्तर जिज्लामा रोक लगाएको हो।  

त्रिवि प्राज्ञिक परिषद्को फागुन २८ गतेको निर्णयको बुँदा नम्बर ९९ मा आंगिक क्याम्पसबाट आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजबाट सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै स्थानान्तरण गर्न पाइने ब्यवस्था गरेको छ। ‘जुनसुकै अवस्थामा पनि आंगिक क्याम्पसबाहेक अन्य क्याम्पसहरूमा एउटै जिल्लाभित्र स्थानान्तरण गर्न नपाइने ’त्रिविको निर्णयमा उल्लेख छ ‘प्रथम र अन्तिम वर्ष- सेमेष्टरमा स्थानान्तरण गर्न नपाउने। तर आंगिक क्याम्पसहरूमा ऐक्षिक विषय छनौट र प्रयोगशालाको ब्यवस्थापनको कारणले यस निर्णयले प्राविधिक समस्या उत्पन्न हुने भएमा अन्तिम वर्ष-सेमेष्टरमा स्थानान्तरण गर्न पाउने वा नपाउने सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार सम्बन्धित डिनलाई हुने छ।’ सोही निर्णयमा थप व्यवस्था गरिएको छ, ‘यसबाहेक अन्य ढंगले भए गरेका सबै स्थानान्तरण र नियमविपरीत स्थानान्तरण भएका क्याम्पसबाट दिएका परीक्षा स्वतः रद्द हुनेछ।’

शिक्षाध्यक्ष शिवलाला भुसालले विद्यार्थीमा परीक्षाको समयममा चिट चोर्ने विकृति रोक्न र विद्यार्थीलाई आंगिक कलेजमै टिकाइ राख्न त्रिविले स्थानान्तरणमा नयाँ व्यवस्था गरेको दाबी गरे। ‘पहिले निजीमा भर्ना हुने पछि त्रिविको प्रमाणपत्र मात्र लिने उद्देश्यले पनि विद्यार्थीले आंगिक कलेजमा स्थानान्तरण गरेको पाइयो। यति मात्र होइन भर्ना एउटा कलेजमा गर्ने पछि परीक्षाको समयमा चिट चोर्न पाउने कलेजमा स्थानान्तरण गर्ने विकृति पनि पाइयो ,’उनले भने, ‘सुरुमा निजीमा भर्ना हुने अनि पढाइको बीचमा सरकारीमा भर्ना हुने गलत प्रवृति देखियो। पैसाजति निजीमा बुझाएर सरकारीमा प्रमाणपत्र मात्र लिन आउने विकृति रोक्न स्थानान्तरणमा व्यवस्थापन गर्न खोजिएको हो।’

तर त्रिविको यस्तो निर्णयलाई शिक्षाविद् तथा विद्यार्थीहरूले विद्यार्थीलाई अंकुश लगाउन खोजेको प्रतिक्रिया दिएका छन्। शिक्षाविद् विद्यानाथ कोइरालाले विश्व समुदाय शिक्षा क्षेत्रमा खुल्दै गएको समयमा त्रिविका पदाधिकारीले स्थानान्तरणको सवालमा विद्यार्थीलाई खुम्च्याउने खालको निर्णय गरी विद्यार्थीमाथि अंकुश लगाएको बताए। ‘विदेशी विश्वविद्यालका विद्यार्थी भर्ना भएपछि विभिन्न देशमा गएर विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर संयुक्त रूपमा विद्यावारिधिको डिग्री प्राप्त गर्छन्,’कोइरालाले भने, ‘अबको २१औं शताब्दीमा त्रिविको यो निर्णय विद्यार्थीको हितमा हुँदै भएन। बरु त्रिविले विद्यार्थीले रहर गरेको माध्यम र कलेजमा अध्ययन गर्न र रोज्न पाउने नीति बनाउनु पर्छ। विद्यार्थीले चाहेको ठाउँ र कलेजमा पढ्न पाउनुपर्छ। त्रिविले आफनो प्रश्नपत्र चिट चोर्न नसक्ने खालको बनाउन सक्नुपर्छ। विद्यार्थीको क्षमता विकासमा जोड दिनुपर्छ। सुरुमा निजीमा भर्ना भए पनि पछि पढ्न नसक्ने अवस्था हुन सक्छ। उसले आंगिकमा पढ्न पाउने व्यवस्था गर्नुपर्छ।’

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन सभापति श्यामराज ओझाले जथाभावी स्थानान्तरणले आंगिक र सामुदायिक कलेजमा विद्यार्थी घट्ने विकृति बढेकोले त्रिविको निर्णय केही हदसम्म ठिक भएको भए पनि निजीबाट आंगिकमा आउने बाटो खुला गर्नुपर्ने बतए। ‘त्रिविभित्र आंगिक र सामुदायिकमा विद्यार्थी भर्ना हुने र पछि शिक्षकको आफ्नो निजी कलेज भएकोले षड्यन्त्रपूर्वक विद्यार्थी निजीमा लाने विकृति पछिलो समय बढेको अवस्थामा त्रिविको निर्णय केही हदसम्म ठिक छ,’ओझाले भने, ‘तर निजीबाट समस्या भएर सामुदायिक तथा आंगिक कलेजमा आउन चाहने विद्यार्थीलाई रोक्नु हुँदैन। यस सवालमा निजीबाट आंगिकमा आउने स्थानान्तरणको बाटो खुलाउनु पर्छ।’

प्रकाशित: २८ चैत्र २०७९ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App