कुशल व्यवस्थापकबिना कुनै पनि व्यवसाय फस्टाउन सक्दैन। समाजको जुनसुकै क्षेत्र होस्, त्यसको कुशल व्यवस्थापन उसले मात्रै गर्न सक्छ जोसँग व्यवस्थापनको सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान प्रयाप्त मात्रामा हुन्छ। कुशल व्यवस्थापक बन्न चाहने विद्यार्थीका लागि उपयुक्त पढाइको विषय हो, बिबिए (ब्याचलर्स इन बिजनेस एड्मिनेस्टे«सन)। व्यवस्थापन संकायअन्तर्गत पर्ने बिबिए पढ्न चाहने विद्यार्थी पनि हिजाआज उत्तिकै छन्।
कान्तिपुर इन्टरनेसनल कलेज बुद्धनगर नयाँ वानेश्वरका कार्यकारी निर्देशक प्रतापराज जोशी अरू विषयजस्तो एक क्षेत्रमा मात्रै नभई सबैतिर उत्तिकै प्राथमिकतामा रहेकाले बिबिएप्रति विद्यार्थीको आकर्षण बढेको बताउँछन्। ‘बैंक, होटल सबैतिर कुशल व्यवस्थापन चाहिन्छ। त्यसकारण बिबिए पढेका विद्यार्थीको आवश्यकता सबैतिर हुन्छ, एक क्षेत्रमा मात्रै होइन,’ उनले थपे। बिबिएको अध्ययनले संस्था बनाउन, संस्थालाई व्यवस्थित रूपमा अगाडि लान पनि सिकाउने भएकाले यसको महत्व ज्यादा रहेको उनको बुझाइ छ।
व्यावसायिक र प्रयोगात्मक शिक्षाको अभावमा नेपालका धेरै युवा विदेश पलायन हुने गरेका छन्। कतिपय युवा अध्ययनका लागि विदेश जाने गरेका छन् त कतिपय युवा रोजगारीको खोजीमा विदेश गइरहेका छन्। तर बिबिए पढेपछि विदेश जान नपर्ने जोशीको भनाइ छ। ‘न पढ्नका लागि विदेश जानुपर्छ न त काम गर्नकै लागि,’ जोशीले भने, ‘पढ्नका लागि नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पढाइ हुन्छ भने काम गर्नका लागि नेपालकै लागि कुशल व्यवस्थापकहरू उत्तिकै चाहिरहेका छन्।’ जोशी व्यवस्थापनका विद्यार्थीका लागि बिबिए एक आर्कषक शैक्षिक कार्यक्रम भएकाले पनि कलेजले सञ्चालन गरिरहेको बिबिए कार्यक्रमलाई व्यवस्थित गर्दै प्रयोगमुखी, व्यावहारिक र रोजगारका अवसरसहितको कार्यक्रम आफूहरूले लिएर आएको बताउँछन्।
गुणस्तरीय शिक्षामा समुन्नत, सभ्य समाज अनि भावी पिँढीको सुन्दर भविष्य निहित हुन्छ। यति जान्दा जान्दै पनि कोही रोजगारीको खोजीमा विदेश पलायन हुन्छन् त कोही भविष्य खोज्न भन्दै नेपाली युवा विदेशी भूमिमा पुग्ने गरेका छन्। भविष्य खोज्दै उच्च शिक्षा अध्ययनका लागि विदेश जाने युवाले विदेशमा सिकेको ज्ञान, सिप र क्षमतालाई कतिले व्यवहारमा उतारेका छन् त कतिले आफूले आर्जन गरेको ज्ञान र सिपलाई सही सदुपयोग गर्न नजान्दा बेरोजगार भएर भौंतारिरहेको देखिन्छ। तर बिबिए पढेपछि बेरोजगार भएर बस्न नपर्ने बिबिए अध्यापनरत कलेजका सञ्चालक, प्रिन्सिपल, सिइओ, प्राध्यापकहरू दाबी गर्छन्।
बिबिएका लागि नेपालमा नै अध्ययन गर्ने तर राजधानीका महँगा कलेजमा पढेमात्रै गुणस्तरीय शिक्षा पाउन सकिन्छ भन्ने पनि छैन। देशैभरिका कलेजहरूमा पनि बिबिए पढ्न सकिन्छ। ती ठाउँमा पढेर पनि उत्कृष्ट अंक हासिल गर्न सकिन्छ। तथापि बिबिए पढ्नका लागि राजधानीलगायत विभिन्न ठुला सहरमा रहेका कलेज धाउनेको जमात पनि कम छैन यहाँ।
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका चेयरम्यान पङ्कज जलान कुशल व्यवस्थापक बन्न धेरै युवाले यी विषय अध्ययन गर्ने गरेको बताउँछन्। व्यावहारिक अनि प्रयोगात्मक शिक्षा आर्जन गरे मात्र सफल व्यवस्थापक बन्न सकिन्छ भन्ने विद्यार्थीको सोचलाई आत्मसाथ गरेर काठमाडौंका विभिन्न कलेजहरूमा बिबिएको अध्ययन अध्यापन भइरहेको उनको भनाइ छ। दक्ष तथा अनुभवी शिक्षक, मल्टिमिडियाको माध्यमद्वारा अध्ययन–अध्यापन, प्रर्याप्त खेल मैदान, प्रयोगात्मक शिक्षाका लागि उचित व्यवस्थापन बिबिए अध्ययन अध्यापनका विषेशताहरू हुन्। ‘बिबिए अध्ययनपछि भविष्य सुनिश्चित छ,’ जलान दाबी गर्छन्।
काठमाडौं बिजनेस क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ भविष्य सुनिश्चित भएकाले विद्यार्थीको रोजाइ बिबिए बनेको अनुभव सुनाउँछन्। ‘यही कारणले काठमाडौंका धेरै कलेजहरूले विद्यार्थीको माग बमोजिम बिबिए कक्षा सञ्चालनमा ल्याएका हुन्,’ उनले भने, ‘बिबिए सैद्धान्तिक, व्यावहारिक र प्राज्ञिक ज्ञानयुक्त जनशक्ति उत्पादन गर्ने कार्यक्रम हो।’
व्यवस्थापकीय जिम्मेवारी लिने र नेतृत्व निर्माणमा सघाउने यो व्यवसायलाई अन्य डिग्री प्रोग्रामभन्दा भिन्नरूपमा हेरिएको छ। यसबाट प्राप्त गर्ने विद्यार्थीको आत्मविश्वास पनि यसको मुख्य विशेषता हो। यी विषय अध्ययन गरेका विद्यार्थीले आफूलाई अरूभन्दा फरक रूपमा उभ्याउन सक्ने बताउँछन् प्रिन्सिपल श्रेष्ठ।
कुनै बैंक तथा वित्तीय संस्थामा जागिरका लागि प्रतिस्पर्धा गर्न जानुपरे बिबिए अध्ययन गरेका विद्यार्थी भनेपछि उनीहरूसँग प्रतिस्पर्धा गर्ने मानिस हुँदैनन् भन्ने कलेज सञ्चालकहरूको दाबी छ। किनकि उनीहरूमा अरू विषय अध्ययन गरेका विद्यार्थीमा भन्दा व्यावहारिक र सैद्धान्तिक ज्ञान बढी हुन्छ। विद्यार्थीले भोलि कामकार्य सुरु गरेपछि सामना गर्नुपर्ने सारा समस्याका बारेमा विद्यार्थीलाई अभ्यास गराइन्छ। रिपोर्ट राइटिङ, वर्कसप, करियर काउन्सिलिङजस्ता अतिरिक्त क्रियाकलाप यी विषय अध्ययन गर्दा अनिवार्य भएकाले विभिन्न कर्पोरेट हाउस र फमहरूमा गएर विद्यार्थीले इन्टर्नसिप गर्नुपर्छ। त्यही भएर यी विषय अध्ययन गरेका विद्यार्थी आफैमा दक्ष हुन्छन्।
कलेजले विद्यार्थीलाई अध्ययन गराउँदासमेत अन्य विषयभन्दा फरक रूपमा यो विषयलाई अध्ययन गराउने सोच अघि बढाएको देखिन्छ। नेतृत्वदायी र क्षमतावान् जनशक्ति उत्पादनमा देश तथा विदेशमा अध्यापन गरेका प्राध्यापकहरूद्वारा रचनात्मक विश्लेषण र समस्या समाधानको सीमामा केन्द्रित रहेर विद्यार्थीलाई सिकाइन्छ।
सेमिस्टार प्रणालीअन्र्तगत ४ वर्षे कोर्षमा अध्ययन अध्यापन गराउने शिक्षक आफैमा अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुलिसकेका हुन्छन्, जसले विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रयोगात्मक, रचनात्मक र समय समयमा गेस्ट लेक्चर, केस स्टडिज, सेमिनार, टे«निङ, फिल्ड भिजिटसमेत गराएर गुणात्मक शिक्षा दिइन्छ।
यी विषय अध्ययन गराउँदा सेमिस्टर प्रणालीअन्र्तगत ६÷६ महिनामा परीक्षा हुने प्रावधान छ। सोहीअनुरूप फाइनान्स, कम्युनिकेसन, कम्प्युटरलगायतका विषय अध्ययन गराइने भएकाले यी विषय आफैमा स्तरीय छन्। यी विषय आफैमा रोजगारमूलक विषय भएकाले यी विषय अध्ययन गरेका विद्यार्थीका लागि रोगजारको बाटो अब्बल छ। रोजगारको बाटो अब्बल भएकै कारण पछिल्लो समय विद्यार्थीको रोजाइमा पर्ने गरेको छ बिबिए ।
प्रकाशित: २७ मंसिर २०७९ ०१:४८ मंगलबार