नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा १४ औँ महाधिवेशनमा पनि नेतृत्वको प्रत्यासी बन्ने तयारीमा जुटेपछि उनको विपक्षी समूहका नेताहरू त एकताबद्ध भएका छन् नै, साथै उनी पक्षकै प्रभावशाली नेता एवं उपसभापति विमलेन्द्र निधीले समेत यसपटक दाबी प्रस्तुत गरेपछि उनी अप्ठयारोमा परेका छन्। पार्टी नेतृत्वमा पुनः दोहोरिने रणनीतिका साथ देउवाले महाधिवेशन नजिकिँदै गरेका बेला विभागहरू गठन र विस्तार गरेकामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाले प्रतिवाद गरिरहेकै छन्। त्यसैबेला आफ्ना पक्षका नेता निधीले आगामी महाधिवेशनमा सर्वसम्मत हिसावले नेतृत्व चयन हुनुपर्ने भन्दै त्यसका लागि आफैँलाई प्रस्तुत मात्रै गरेका छैनन्, पार्टीका वरिष्ठ नेताहरूसँगको भेटघाट र छलफल तीव्र बनाएका छन्। र, निधीको यो सक्रियताले सबैभन्दा अप्ठ्यारो देउवालाई बनाइदिएको छ।
त्यसो त यसपटक पनि आफैँ नेतृत्वमा पुग्नेगरी देउवाले तयारी सुरु नगरेका होइनन्। उनले केही दिनअघि मात्र महामन्त्री शशांक कोइरालासँग सहयोग मागे भने निधीलाई पनि यसपटक सर्वसम्मतिबाट नेतृत्व चयन हुने सम्भावना नरहेको भन्दै आफैँलाई सहयोग गर्न आग्रह पनि गरे। तर सर्वसम्मतिका लागि कसै न कसैले पहल लिनुपर्नेदेखि देउवालाई पार्टी अभिभावक बन्न निधीले गरेको प्रस्तावलाई नाजायज भन्न मिल्दैन। त्यसमाथि देउवाले १५ औँ महाधिवेशनमा सहयोगको आश्वासन दिँदा निधीले त्यसबेला आफू ७० वर्षको भइसक्ने र सभापतिमा ‘सुट’ (उपयुक्त) नहुने जुन तर्क गरेका छन्, त्यो विचारणीय छ। निधीको यो तर्क नेपाली कांग्रेसको सवालमा मात्र होइन, सबै राजनीतिक दलले विचार गर्नुपर्ने पक्ष हो।
यतिखेर नेपालका दुई ठूला राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस महाधिवेशनको कसरतमा छन्। तर दुवै दलमा नेतृत्वको दाबी गर्नेमा भने ज्येष्ठ उमेर र विगतमा नेतृत्व गरेर परीक्षण भइसकेका नेता नै देखिन्छन्। एकाध युवा नेताले पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजे पनि अन्ततः कुनै न कुनै गुटको शरणमा परेर पुरानै नेतृत्वलाई समर्थन गर्न पुग्ने विगत अभ्यास देखिएकै हो। यसपटक पनि दुवै पार्टीमा त्यस्तै प्रवृत्ति देखिन थालेको छ। त्यसैले यो अवस्थामा शीर्ष राजनीतिक नेतृत्वले आफू फेरि पनि नेतृत्वमा दोहोरिने दाउपेच गर्ने होइन, नयाँका लागि बाटो खुला गरिदिनुपर्छ। एक हिसावले भन्ने हो भने अहिले नेतृत्वमा आउन खोजेका नेताहरूले चाहे पार्टीमा होस् वा सरकारमा रहँदा नै किन नहोस्, महतवपूर्ण पद सम्हालिसकेका छन्। र, उनीहरूको हैसियत र क्षमता एक हिसावले परीक्षण भइसकेको हो। यो अवस्थामा दुवै पार्टीले विचार गर्नुपर्ने पक्ष अहिलेको परिस्थितिअनुसारको चुनौती सामना गर्न सक्ने र पार्टीलाई एक ढिका बनाएर लैजान सक्ने युवा नेतृत्वको खोजी हुनुपर्छ। विगतमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका शीर्ष नेताहरूले पार्टीको अभिभावक बनेर नयाँ नेतृत्वलाई मार्गनिर्देश गर्न सक्ने हो भने मात्रै दलहरूको सुदृढीकरण संभव छ। आफू बाँचेसम्म नेतृत्व गरिरहने सोच राख्नु भनेको नयाँ नेतृत्वका निम्ति ठाउँ नबनाउनु पनि हो।
पार्टीका युवा नेताहरूले न नेतृत्वका लागि हस्तक्षेप गर्ने आँट गरेका छन् न त शीर्ष नेताले नै उनीहरूलाई अघि सार्ने अवस्था छ। यो स्थितिमा कुनै युवा नेताले राजनीतिक नेतृत्वका लागि आकांक्षा देखाए भने ‘बेला भएको छैन’ भन्ने पार्टीपक्तिंको आममनोविज्ञानले पनि हतोत्साही बनाउने गरेको छ। तर यहाँनेर काग्रेस र नेकपाभित्र चमत्कारी नेताका रूपमा चर्चा हुने बिपी कोइराला र मदन भण्डारी कुन उमेरमा नेतृत्वमा पुगेका थिए भन्ने कुरा हेक्का राख्न जरुरी छ। कोइरालाले ३८ वर्षको उमेरमा पार्टीको नेतृत्व सम्हालेका थिए भने ४५ वर्षको उमेरमा प्रधानमन्त्री भएर मुलुककै बागडोर सम्हालेका थिए। भण्डारीले ३५ वर्षको उमेरमा पार्टी नेतृत्व सम्हालेका थिए। यस हिसावले नेतृत्व सम्हाल्न ज्येष्ठ नागरिक नै हुनुपर्ने पार्टीपक्तिंको मनोविज्ञानलाई कांग्रेस र कम्युनिस्ट पार्टीका इतिहासले नै खण्डित गरिसकेका छन्।
विश्वका अन्य देशमा युवा पुस्ता नेतृत्वमा आएको चर्चा हुने गरेको मात्र होइन, उनीहरूको नेतृत्व प्रभावकारी भएको पनि देखिएकै विषय हो। हामीकहाँ नेताहरू लि क्वान युको उदाहरण दिएर थाक्दैनन्। उनले आफू वृद्ध भएपछि ‘मिनिस्टर मेन्टर’ पदमा आफू रही गो चोक टाङलाई प्रधानमन्त्री पद हस्तान्तरण गरेका थिए। बेलायतदेखि फ्रान्ससम्म युवा नेताका हातमा देश गएका घटना हामीले केही वर्षयता देखिरहेका छौँ। कतिपय युरोपेली मुलुकमा युवा महिलाका हातमा जिम्मेवारी पुगेकोसमेत देखिएको छ। कोरोना विषाणु सिर्जित महामारीमा यस्तो युवा नेतृत्व प्रभावकारी भएका समाचार टिप्पणीसमेत सार्वजनिक भएका छन्।
त्यसैले यसपटक कांग्रेस र नेकपाका युवा नेताले आआफनो दलमा एकत्रित भएर नेतृत्वलाई भन्ने बेला आएको छ– ‘अबको नेतृत्व हाम्रो।’ तर, युवाहरू आआफैँ मिल्न र संगठित हुन नसक्ने तर गुटको फेर समातेर नेताको सहयोगी मात्रै बन्ने कुराले फेरि पनि पार्टी र राजनीतिक परिस्थिति दुवैको रूपान्तरण हुन सक्दैन। र, पार्टी नेतृत्वमा युवाको हस्तक्षेप नहुँदासम्म पुरानै पुस्ता राजनीतिको केन्द्रमा भइरहने र त्यसले अनेकौँ गुट÷उपगुटको जन्म मात्र होइन, पार्टीभित्र सधैँको किचलो रहिरहने अवस्था रहन्छ। साथै नेतृत्वमा जान नसक्ने पक्षका नेताले आफ्नो पालो कुरेर मात्रै बसिरहने प्रवृत्तिले पार्टी पनि यथास्थितिमा मात्रै रहिरहने संभावना रहन्छ। त्यसैले पनि राजनीति र पार्टीलाई साँच्चै रूपान्तरण गर्ने हो भने यसपटक दुवै पार्टीमा क्षमता भएका युवाहरू एकत्रित भएर नेतृत्वका लागि आफ्नै पुस्ताबाट हस्तक्षेप गर्नुको विकल्प छैन।
प्रकाशित: १ भाद्र २०७७ ०४:५८ सोमबार