सम्पादकीय

सावधानी अपनाऔँ

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी हामीकहाँ पनि समुदाय स्तरमा देखिइसकेको छ। सुरुमा विदेशबाट आएका व्यक्तिमै सीमित संक्रमण बिस्तारै समुदाय तहमा प्रवेश ग-यो, अहिले उच्च पदाधिकारी समेत यसबाट प्रभावित हुन थालेका छन्।  

पछिल्लो समय कोरोना विषाणुले आफ्नो स्वरूप परिवर्तन गरिरहेको छ। सुरुमा हामीले कोरोना आए/नआएको थाहै पाएनौँ। कैयन्लाई लागिसकेर पनि आफैँ निको भयो। जसलाई कोरोना लागेको थाहा भयो, तिनलाई पनि लक्षण देखिएन। तिनले समेत संक्रमणलाई जिते। हुँदाहुँदा वरिष्ठ नागरिकले समेत यसलाई जिते। त्यो स्थितिमा हामी सबैले नेपालीको रोग प्रतिरोधात्मक क्षमताप्रति उल्लास मनाएका हौँ। विशेषज्ञले यसबाट जोगिन निरन्तर सावधानी अपनाउन आग्रह गरिरहे। जतिबेला अन्तर्राष्ट्रिय जगत्ले मास्क र फेस सिल्ड अनिवार्य गरिरहेको थियो, त्यो बेला पनि हामी निस्फिक्री अनुहार देखाएर हिँडिरहेका थियौँ। मास्क लगाइहाल्नुपरे पनि चिउँडो वा कानमा झुन्ड्याएर हेलचक्र्याइँ गरिरहेका थियौँ। विशिष्ट व्यक्ति समेत यसको प्रभावमा परेपछि माक्स लगाउनुको फरक देखिन थालेको छ।  

मुलुकको न्यायिक निकाय सर्वोच्च अदालतमा समेत कोरोना विषाणु संक्रमित देखिएका छन्। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका ६ जना सुरक्षाकर्मी यसबाट संक्रमित भइसकेका छन्। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव समेत यसबाट प्रभावित भइसकेका छन्। सावधानी अपनाए जोकोही संक्रमित हुन सक्छ। संक्रमितको सम्पर्कमा पुगेका जोसुकैमा यसको प्रभाव स्वतः पर्छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनदेखि ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोसम्म कोरोना भाइरसबाट प्रभावित भइसकेका छन्। छिमेकी भारतमा अमिताभ बच्चनजस्ता लोकप्रिय कलाकार र उनको परिवारलाई समेत यसले छाडेन। जब यो आमरूपमा फैलिन थाल्छ, त्यसपछि जोसुकै यसको प्रभावमा पर्ने निश्चित छ। यसको फैलावटको प्रकृति बुझेपछि तदनुकूल सबैले आफूलाई तयार राख्नुपर्ने बाध्यात्मक अवस्था छ।  

कोरोनाको भन्दा ठूलो डर भोकको छ। अतः सबैले भोकका निम्ति पनि काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ। यस्तो अवस्थामा थोरै मात्र सावधानी अपनाउन सक्यौँ भने हामी कोरोना विषाणु संक्रमणबाट जोगिन सक्छौँ।

कोरोना विषाणु संक्रमणलाई हाम्रो मुलुकले जसरी व्यवस्थापन गरेको छ, त्यो उत्साहप्रद छैन। पहिलो त, यसले सुरुदेखि नै हेलचक्र्याइँ गर्दै आएको छ। दोस्रो, यसका निम्ति आवश्यक औषधि आदि खरिद र संरचना तयारीमा ध्यान दिइएन। तेस्रो, बन्दाबन्दी गर्ने र खोल्ने समयको हेक्का राखिएन। आवश्यक सावधानीमा ध्यान नदिइएका कारण कोरोना समुदाय तहमा पुगेको हो। अझ पनि कोरोना संक्रमणको जाँचको दायरा बढाउनेतर्फ ध्यान दिइएको छैन। जाँचको दायरा बढाउन ‘इनफ् इज् इनफ्’ का युवा अभियन्ताले माग गर्दा समेत ध्यान पु¥याउन सकिएन। कतिपय अवस्थामा अग्रस्थानमा रहेर कार्य गर्नेलाई समेत मास्क, स्यानिटाइजर लगायत अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध नहुँदा फैलावटले तीव्रता पाएको देखिएको छ। त्यस्तै, सरकारले बन्दाबन्दी हटाउनुलाई सर्वसाधारणले कोरोना विषाणु संक्रमण अन्त्य सूचकका रूपमा लिनु पनि आफैँमा घातक हुन पुगेको छ।  

कोरोना हामीबीच लामो समयसम्म रहन्छ भन्ने यथार्थबोध भएपछि सबै मुलुकले बन्दाबन्दी खोल्ने र क्रमशः नवीन सामान्यकाल (न्यु नर्मल)तर्फ फर्कने अभ्यास गरिरहेका छन्। त्यही अभ्यासलाई हाम्रो मुलुकले पनि पछ्याएको हो। तर, त्यस अवस्थामा फर्कन हाम्रो सावधानी, तयारी र ढंग पुगेको पाइँदैन।  

कोरोनाको भन्दा ठूलो डर भोकको छ। अतः सबैले भोकका निम्ति पनि काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ। यस्तो अवस्थामा थोरै मात्र सावधानी अपनाउन सक्यौँ भने हामी कोरोना विषाणु संक्रमणबाट जोगिन सक्छौँ। विज्ञका अनुसार यसमा सावधानी भनेकै अत्यावश्यक नभई बाहिर ननिस्कने, भीडभाडबाट जोगिने, निस्कनैपरे माक्स लगाउने, बेलाबेला हात सफा गर्ने, खानपानसँगै व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने नै हो।  

संक्रमण संख्या बढ्दै गएर अस्पतालले थामिनसक्नुको अवस्था आउनु आफैँमा भयावह हुन्छ। अहिले नै भेन्टिलेटरको अभाव हुन थालिसकेको छ। संक्रमण संख्या बढ्दै जाँदा उपचार पाउन नसकिने अवस्था हुन्छ। हामीकहाँ यसै पनि गुणस्तरीय स्वास्थ्य सेवाको अभाव छ। यो स्थितिलाई बुझेर आफैँ सुरक्षित हुने बाटोमा लाग्नुको विकल्प छैन। कोरोना विषाणुबारे जति पनि जानकारी सार्वजनिक भएका छन्, त्यसलाई गम्भीरतापूर्वक लिँदै आफ्नो कार्य–व्यवहारमा सुधार गर्नुको विकल्प छैन। पछिल्ला दिनमा वीरगन्जमा देखिएको संक्रमण र काठमाडौंमा भइरहेको फैलावट दुवैका आधारमा पनि ठूलो संकटको संघारमा हामी उभिएको अनुभूति हुन्छ। राजधानी काठमाडौंका आम नागरिकले यो अवस्थालाई गम्भीरतापूर्वक लिई केही साता मात्रै संयमित भए पनि यसबाट हामी जोगिन सक्छौँ। बेलैमा विचार पु-याऔँ।

प्रकाशित: २३ श्रावण २०७७ ०५:०४ शुक्रबार

Download Nagarik App
Download Nagarik App