सम्पादकीय

बाढी विनाशमा तयारी

मुलुक अविरल वर्षाका कारण निम्तिएको बाढी/पहिरो पीडाले सताइएको छ। सोमबार एकै दिन यही कारण ८ जनाले ज्यान गुमाउनुप-यो। सयौँ मानिस घाइते भएका छन्। घरबास भत्केको र बगाइएकाले उनीहरूको विचल्ली हुन पुगेको छ। सबैतिरजसो यही नियति जारी रहेकाले उद्धार र राहतका कामसमेत प्रभावकारी हुन सकेका छैनन्। वर्षा जारी रहेकै कारण पनि सहयोग गर्न चाहनेलाई समेत अनुकूल अवस्था मिलिरहेको छैन। पीडितहरू यही कारण ‘न समाउने हाँगो न त टेक्ने खुड्किलो’ को अवस्थामा अड्कन बाध्य छन्।

मानवीय क्षतिमात्र भएको छैन। धन/सम्पत्तिको क्षति पनि उत्तिकै भएको छ। राजधानीलाई मोफसलसँग जोड्ने मुख्य राजमार्गहरूमात्र हैन, जिल्ला–जिल्ला, प्रदेश–प्रदेश र पूर्व–पश्चिम अनि उत्तर–दक्षिण जोड्ने राजमार्गसमेत क्षतविक्षत भएका छन्। राजमार्गकै ठूला पुल भत्केका छन्। यो अवस्थाले राजधानी र मोफसलमात्र हैन, आपसी जिल्लाबीच पनि सम्बन्ध टाढिएको अवस्था छ। यो सम्बन्ध विच्छेदको अवस्थाले धेरैका धेरै काम प्रभावित भएका छन्। र, उद्धार तथा राहत वितरणमा समेत अप्ठेरो अवस्था सिर्जना भएको छ।

प्राकृतिक प्रकोप रोक्न वा हटाउन सक्ने क्षमता आजको मानवसँग छैन। उसले सक्ने भनेको यस्ता प्रकोपले पु¥याउने हानिको आकार सानो तुल्याउनेसम्म हो। र, यो भनेको यस्ता सम्भावित विपद् र त्यसले निम्त्याउने क्षति आकलन गरी सकेसम्म कम गराउन सम्पूर्ण तयारी गर्नु हो। तर हाम्रो सन्दर्भमा पूर्वतयारी पुगेको देखिएन। जस्तो–ठूला ठूला बाढी रोक्न नसकिए पनि सम्भावित पहिरोयुक्त ठाउँ पहिचान गरेर त्यहाँका बस्ती हटाउन सकिन्थ्यो। त्यस्ता ठाउँमा बस्नैपर्ने बाध्यता पहिचान गरेर त्यहाँबाट अन्यत्र सुरक्षित ठाउँमा सार्न सकिन्थ्यो। यस्ता सामान्य कुरामा समेत हामी चुक्यौँ। अहिले हुनु नपर्ने जनधनको क्षति यही कमजोरीको परिणाम हो भन्नेमा शंकै छैन।

विपद् प्राकृतिक र गैरप्राकृतिक गरी दुई प्रकारका हुन्छन्। हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भूस्खलन, डुबान, खडेरी, आँधी, हुरी, बतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी बिष्फोट, डँढेलो आदि प्राकृतिक विपद् हुन्। त्यसैगरी महामारी, अनिकाल, डँढेलो, कीट वा सूक्ष्म जीवाणु आतङ्क, पशु तथा चराचुरुंगीमा हुने फ्लु, प्यान्डामिक फुलु, सर्पदंश, जनावर आतंक, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त ग्यास, रसायन वा विकीरण चुहावट, ग्यास बिष्फोटन, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण, वन विनाश वा भौतिक संरचनाको क्षति तथा प्रकोप उद्धार कार्यमा हुने दुर्घटना आदि गैरप्राकृतिक विपद् हुन्।  

यस अर्थमा गैरप्राकृतिक घटना रोकथाम गर्न सम्भव भए पनि प्राकृतिक घटना रोकथाम सम्भव छैन। त्यसैले अहिले हामीले भोगेको क्षति प्राकृतिक विपद्का कारण भएकाले यसमा रोइकराइ भन्दा पनि सम्भावित उपायतर्फ लाग्नु उत्तम हुनेछ। भनाइको मतलव अब हामीले गर्न सक्ने भनेको पूर्वतयारी, प्रतिकार्य, पुनस्र्थापना र पुनर्निर्माण भएकाले त्यतैतर्फ ध्यान दिनुपर्छ। संख्या गिन्ती र क्षतिको विवरण यसका लागि आवश्यक हुन्छ नै तर यसैलाई मात्र उपलब्धि ठान्न थालियो भनेचाहिँ फेरि पनि धोका पाइरहने सम्भावना कायमै रहन्छ।

यतिबेला यस्ता घटना न्यूनीकरण तथा राहत र उद्धारमा सरकारी प्रयास यथेष्ठमात्रामा देखिएको छैन। सत्तारुढ दलभित्रको राजनीतिक किचलो पनि यसमा धेरथोर जिम्मेवार देखिन्छ। त्यसबाहेक अन्य दलको भूमिका पनि खासै देखिएन जबकि प्रायः सबै ठूला दलले विपद्प्रति प्रतिबद्धता सार्वजनिक गरेका छन्। जस्तो– राजनीतिक दलसम्बन्धी कानुनमा दलको काम, कर्तव्य र अधिकारअन्तर्गत विपद् जोखिम न्यूनीकरण शिक्षा अभियान सञ्चालन गरी पूर्वतयारी कार्यमा सहयोग पु¥याउने, राष्ट्रिय विपत्तिको समयमा खोज, उद्धार, सहयोग, पुनस्र्थापनागायतमा आवश्यक सहयोग गर्ने उल्लेख छ। त्यसैगरी नेपाली कांग्रेसको घोषणापत्रमा ‘विपद् व्यवस्थापनको प्रतिबद्धता’ शीर्षक नै राखिएको छ। जसमा स्थानीय, प्रदेश र केन्द्र सरकारले आफ्नो गाउँ, नगरमा विपद्को जोखिम आकलन, जोखिम क्षेत्रको नक्साङ्कन, स्थानान्तरण र विपद्को  

पूर्वतयारी गर्ने कामलाई विशेष प्राथमिकता दिनेछ भन्ने उल्लेख छ। यसरी नै एमाले र माओवादीको संयुक्त वाम गठबन्धनको घोषणापत्रमा पनि‘पुनर्निर्माण र विपद् व्यवस्थापन’ शीर्षकअन्तर्गत भूकम्प, बाढी र पहिरोलगायत विपद् व्यवस्थापनका लागि स्थायी संयन्त्र निर्माण गरिने र हरेक स्थानीय तहमा विपद् व्यवस्थापन केन्द्र र कोष स्थापना गरी विपद् पूर्वतयारी, खोज र उद्धार, राहत सामग्रीको पूर्वभण्डारण तथा प्रतिकार्य योजना बनाइने भनिएको छ।

यसरी प्रत्येक वर्षजसो उत्पन्न हुने यस्तो राष्ट्रिय विपद्का बेला संघीय सरकारको मुख्य जिम्मेवारी त छ नै, घटना हुनुअघि क्षति कम गराउन आवश्यक पूर्वतयारी र घटना भइसकेपछि राहत अनि उद्धार जस्ता कार्यमा स्थानीय सरकार र सँगै राजनीतिक दलहरूसमेत जिम्मेवार भएर लाग्ने हो भने आगामी दिन विपद्बाट हुने क्षति घटाउन सकिनेछ। सबैले अर्को पक्षको थाप्लामा मात्र जिम्मेवारी थोपरिरहने हो भने हामीलाई पनि कुनै दिन उसले आफ्नो सिकार बनाउन सक्नेमा दुई मत छैन।

प्रकाशित: ७ श्रावण २०७७ ०५:२३ बुधबार

Download Nagarik App
Download Nagarik App