आउने सातादेखि माध्यमिक विद्यालयको कक्षा १० पूरा गरेका विद्यार्थीको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसइइ) सुरु हुँदैछ। प्रत्येक वर्ष विद्यार्थी स्कुल पूरा गर्छन्। त्यसपछि तिनको सपना के हुन्छ? ती कहाँ जान्छन्? तिनको उद्देश्य के होला? वास्तवमा यी सबै विद्यार्थी एउटा अन्योलपूर्ण भविष्यतर्फ उन्मुख हुन्छन्। तिनका सपना टुटिसकेका छन्। के बन्ने भन्दा पनि कसरी भविष्यमा बाँच्ने भन्ने समस्याले तिनको जीवन गाँजेको छ।
यस्ता सपना टुटेका कथाहरू क्रमशः समाचार बनेर सार्वजनिक भइरहेका छन्। तर ती सपनालाई विशृंखलित हुन नदिने प्रयास गरिएको छैन। भक्तपुरको बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा पूरा गरी बिदाइ हुँदै गर्दा लेखिएका सन्देशले धेरैलाई उद्वेलित तुल्याएको छ। विगतको स्कुल लिभिङ सर्टिफिकेट अर्थात् (एसएलसी) को ठाउँ अहिले १२ कक्षाले लिइसकेको छ। १२ कक्षा पूरा गरेपछि विद्यार्थीले पूरै पढाइ छाड्ने वा विश्वविद्यालयको थप अध्ययनतिर लाग्ने गरेको देखिन्छ। एसइइ सकेपछि पनि दुई वर्ष बाँकी हुन्छ।
किशोरावस्था सकिएर युवावस्थामा प्रवेश गरेको र स्कुल पनि सकिएको यो बेलामा सही सपना पाल्न सकिएन भने जीवन निराश हुन्छ। त्यस्तो बेलामा भक्तपुरको बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीले जस्तै बिदाइ हुँदाको वाचा लेख्नुपर्ने हुन्छ–‘अब खाडीमा भेटौंँला।’ यो सन्देशसहितको समाचार नागरिकको मुख पृष्ठमा शुक्रबार छापिएयता हजारौंँ मानिसले सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका छन्। समाचारले धेरैलाई दुःखी तुल्याएन मात्र, अहिलेको विद्यार्थी जीवन यथार्थलाई समेत यसले प्रकट गरेको छ।
देशमा यतिबेला दुईखाले शिक्षा प्रणाली छ– एक, सार्वजनिक शिक्षा। दुई, निजी शिक्षा। सार्वजनिक स्कुलको अध्ययनबाट मात्र धेरैले आफ्ना सपना पछ्याउन सक्ने महसुस गरेका छैनन्। निजी क्षेत्रको शिक्षाका पनि अनेकन आयाम छन्। जसका सन्तानले उपभोग गर्न सक्छन्, तिनले यहाँ अध्ययन गरी विदेशमा थप शिक्षाको बाटो तय गर्छन्। जसले सक्दैनन् ती फेरि यहीँको शिक्षामा अल्मलिन्छन्। हाम्रो शिक्षा प्रणालीले धेरैलाई सिप हासिल गर्ने भन्दा पनि प्रमाणपत्र मात्र दिने हैसियत राख्छ। तिनले अध्ययन पूरा गरेपछि अचेल खाडी मुलुकमा रोजगारीका निम्ति जानुबाहेक विकल्प छैन।
शिक्षा प्रणालीले स्वरोजगारीका निम्ति तयार पार्न वा अन्य रोजगारी देशमै खोज्न सक्ने गरी कसैलाई पनि सिपयुक्त बनाउन सकेको छैन। देशभित्रै काम गर्न सक्ने सिपालु जनशक्तिको आवश्यकता छ। अस्पतालमा चिकित्साकर्मीको अभाव छ। सरकारी कार्यालयमा समेत भर्ना गर्न सकिने अनेकन ठाउँ छन्। निजी क्षेत्रले पनि जनशक्ति खपत गरिरहेको छ। यी सबैका निम्ति आवश्यक पर्ने जनशक्ति तयार पार्नेतिर हाम्रो शिक्षा प्रणालीले योगदान गर्न सकेको छैन।
यस्तो विषम स्थितिमा जोसुकैले वैदेशिक रोजगारीको बाटो अपनाउनुको विकल्प छैन। देशभित्रै उद्योगधन्दा खुलेका भए यहीँ रोजगारीको व्यवस्था हुन सक्ने थियो। तर देशलाई हामीले विदेशी वस्तुको एकलौटी बजार बनाएका छौंँ। करेसाबारीमा एक मुठा साग उत्पादन गर्न नसक्ने तर विदेशबाट परिवारजनले पठाएको रेमिटान्स रकमबाट यी सबै वस्तु उपभोग गर्ने अवस्थामा हामी पुगेका छौंँ। एकातिर, देशको अर्थतन्त्रलाई वस्तु आयात गर्दा प्राप्त हुने भन्सार राजस्वबाट चल्ने बनाएका छौंँ। अर्कोतिर, देशभित्रै आवश्यक वस्तु उत्पादन गरी उपभोग मात्र गर्ने होइन, विदेश पठाउनेसम्मको हैसियत बनाउन पनि सकेका छैनौँ। आजको दिनमा व्यापार गरेर कमाइ नगर्ने मुलुकको अर्थतन्त्र झन्झन् कठिन हुन्छ।
देशभित्रै शिक्षाको गुणस्तर बढाउने हो भने उच्च शिक्षाका निम्ति विदेश जानुपर्ने आवश्यकता हुँदैन। देशले सात महिनामै ७७ अर्ब रुपियाँ विदेशमा शिक्षाका निम्ति खर्च गर्ने अवस्था आएको कारण यही हो। लोकतान्त्रिक मुलुकमा आमनागरिकलाई आफूले चाहेका ठाउँमा भ्रमण गर्न र शिक्षा आर्जनमा छूट हुन्छ। शिक्षाका निम्ति यत्रो रकम खर्च भयो भन्दा पनि देशभित्रै शिक्षाका केन्द्रहरू निर्माण गर्ने हो भने विदेशबाट यहाँ पनि अध्ययन गर्न विद्यार्थी नआउने होइनन्। हामीकहाँ नर्सिङ शिक्षा पूरा गरेका विद्यार्थीले विदेशमा गएर पनि काम गर्न सक्ने अवस्था थियो। तर त्यसलाई अनायासै बन्द गराइएको छ। चिकित्सा शिक्षालाई व्यवस्थित बनाएर यहीँ विद्यार्थीलाई आकर्षित गर्न सकिने सम्भावनातिर पनि ध्यान गएको छैन। भएकै कलेजको गुणस्तर वृद्धि गर्ने र तिनलाई थप सहजीकरण गर्ने प्रयास पनि भएन।
यस्तो विषम अवस्थामा प्रत्येक युवाले विदेश गएर आफ्ना सपना पूरा गर्ने अवस्था आउनु आफैंँमा दुःखद छ। हाम्रो जनशक्तिलाई सिपयुक्त बनाएर मात्र विदेश पठाउने हो भने पनि तिनको कमाइ गर्ने क्षमता बढ्छ। वैदेशिक रोजगारीमै युवालाई पठाएर तिनले पठाएको रेमिटान्सबाटै मुलुक चलाउने हो भने त्यसलाई व्यवस्थित बनाउन पनि थाल्नुपर्छ। र, यस्तो व्यवस्था सदाकालका लागि चल्न पनि सक्दैन। आज दैनिक दुई हजार व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाउने हाम्रो मुलुककै निम्ति पनि आवश्यक जनशक्ति अभाव भइसकेको छ। देशका कृषियोग्य जमिन बाँझिन थालेका छन्। जनसंख्याको सन्तुलन पनि गुम्न थालिसकेको छ।
देशभित्र सपनाले मलजल पाएनन् भने ती विदेशिन्छन्। ती विदेशिदैनन् मात्र, तिनका मनमा देश बन्न नसकेको गम्भीर पीडा पनि हुन्छ। आज देशमा यी पीडाले बढ्ता पिरोलेको छ। मुलुकको राजनीतिले सबै क्षेत्र ध्वस्त पार्ने क्रममा शिक्षा पनि एउटा भएको छ। यसमा मात्र सुधार गर्ने हो भने पनि अहिलेको निराशा चिर्न मद्दत पुग्ने थियो। देशभित्रै सम्भावना देखाइदिन सक्ने शिक्षा हुने हो भने ‘अब खाडीमा भेटौँला’ भन्ने अवस्थामा कमी आउन सक्छ। सपना टुटाउने होइन, सजाउने कसरी? अहिलेको मुख्य माग यही हो।
प्रकाशित: १२ चैत्र २०७९ २३:२७ आइतबार