सम्पादकीय

धूमपानविरुद्ध ध्यानदृष्टि

मेक्सिकोले धूमपानविरुद्ध सख्त कानुन ल्याएर विश्वको ध्यानाकर्षण गरेको छ। दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने कानुन ल्याएपछि अहिले यसको सर्वत्र चर्चा भइरहेको छ। यो मुलुकले सन् २००८ मै कानुन बनाएर बार, रेस्टुरेन्ट र कार्यस्थलमा धूमपान गर्न नपाइने व्यवस्था गरेको थियो। अब यो कानुनलाई अझ बृहत् बनाइएको छ। अब सार्वजनिक पार्क, सामुद्रिक किनार, होटल, कार्यालय तथा रेस्टुरेन्टमा पनि यो नियम लागु हुने भएको छ। धूमपानसम्बन्धी विज्ञापनमा रोक मात्र लागेको छैन, पसलमा समेत देखिने गरी सूर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको छ। इ–सिगरेट र धुवाँ लिने भेप्स आदिलाई समेत भवनभित्र प्रयोगमा रोक लगाइएको छ। निजी घर र निवासमा भने धूमपान गर्न सक्ने पारिएको छ।  

हाम्रो मुलुकमा पनि सूर्तीजन्य पदार्थको विज्ञापन गर्न रोक लगाइएको छ। त्यसैगरी सार्वजनिक स्थानमा यसको प्रयोग हुन नसक्ने गरी प्रतिबन्ध लगाइएको छ। व्यवहारमा भने सार्वजनिक स्थानमा यसको पालना भएको छैन। कतिपय रेस्टुरेन्टमा चुरोटको धुवाँले अन्य उपभोक्तालाई खपिनसक्नुको अवस्था सिर्जना हुन्छ। सार्वजनिक स्थानका रूपमा सडकलाई समेत लिनु उचित हुन्छ। सडकमा हिँड्दासमेत धूमपान गर्दै हिँड्नेहरूले अरूलाई उत्तिकै बाधा पारिरहेका हुन्छन्। अझ कतिपय व्यक्ति प्रातः भ्रमणमा समेत यस्ता धूमपानबाजको फेला पर्छन्। तिनका कारण सम्पूर्ण सडक गनाउँछ। धूमपान गर्नेको मात्र होइन, अन्य व्यक्तिलाई समेत यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ। यसकारण पनि धूमपानलाई अहिले गरिएको व्यवस्थाअनुसार सख्तरूपमा कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको छ।  

काठमाडौँ महानगरपालिकाको नयाँ नेतृत्वमा बालेन्द्र शाह (बालेन) आइसकेपछि सार्वजनिक स्थानमा धूमपानमा रोक लगाउने चर्चा सुरु भएको पनि हो। यस्तो कार्यको स्वागत हुनु स्वाभाविक हो। तर, अझै पनि यसलाई नियन्त्रण गर्ने प्रभावकारी उपाय अपनाएको देखिएको छैन। राजधानीकै कतिपय सार्वजनिक स्थानमा बसेर धूमपान गरेको देखिन्छ। त्यसैगरी कतिपय ठूला भवनको एउटा कुनामा धूमपान गर्ने ठाउँ बनाइएको छ। तर त्यो धुवाँ निकाल्ने पंखा नराखिएका कारण त्यही भवनभित्रै धुवाँ रङ्मङ्गाएर फैलन्छ। त्यसले अन्य व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ। यसले भवनभित्रको वायुलाई प्रदूषित मात्र गर्दैन, परोक्षरूपमा त्यहाँभित्र रहेका धूमपान नगर्ने व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ। त्यसकारण कुनै भवनभित्र धूमपान गर्ने हो भने धुवाँ बाहिर फ्याँक्ने चिम्नीसहितको कोठाको व्यवस्था हुनुपर्छ। अन्यथा कुनै पनि सार्वजनिक भवनहरूमा धूमपान गर्न रोक लगाउनु उचित हुन्छ।  

धूमपानको प्रचारप्रसारमा मात्र होइन, यसको सार्वजनिक प्रयोगमा रोक लगाउने गरी सरकारलाई आवश्यक जिम्मेवारी पूरा गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय मीनबहादुर सायमाझी र कल्याण श्रेष्ठको संयुक्त इजलासले २०६६ कात्तिक ४ मा आदेश दिइसकेको छ। आदेशमा भनिएको छ, ‘धूमपानबाट निस्कने विषालु धुवाँले वातावरणलाई प्रदूषित पार्ने हुँदा धूमपान गर्नेहरूबाट नगर्नेहरूको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक उल्लंघन हुने अवस्था सिर्जना हुन पुग्छ। संविधान प्रदत्त मौलिक हकको संरक्षण गर्ने प्रमुख दायित्व राज्यको भएकाले स्वच्छ वातावरणमा बाँच्न पाउने आमनागरिकको हकको प्रत्याभूति हुने कार्य पनि राज्यले निर्वाह गर्नुपर्छ। यसका लागि राज्यले निरोधात्मक र नियन्त्रणात्मक उपायहरू अवलम्बन गर्न सक्छ।’

धूमपानविरुद्धको प्रचारप्रसारमा तुलनात्मकरूपमा प्रगति भएको छ। चुरोटको बट्टामा क्यान्सरजन्य रोग लागेका तस्बिरसमेत छापिन थालेको छ। तैपनि धूमपानलाई निरुत्साहित गर्ने नीतिगत काम हुन सकेका छैनन्। सार्वजनिक स्थानमा अहिले पनि ठूलो संख्याले धूमपान गरेका देखिन्छ। अझ हामीकहाँ खैनी, गुट्खा जस्ता घातक सुर्तीजन्य वस्तुको उपभोग तीव्र गतिमा भइरहेको छ। यसले वातावरणीय समस्यासमेत उत्पन्न गरेको छ। खैनी, गुट्खा आदि खानेहरूले जथाभावी यसका पोका फ्याँकेर वातावरणलाई हेर्नै नहुने बनाएका छन्। त्यसलाई सफा गर्न उत्तिकै समस्या पर्छ। अझ यस्ता नकुहिने प्लास्टिकका सामग्री बग्दै गएर जलचर आदिलाई समेत असर पार्ने अवस्था हुन्छ। हामीकहाँ यसै पनि वर्षाद्का बेला बाढीले बगाएर यस्ता सामग्री सजिलै नदीसम्म पुग्छ।  

सूर्तीजन्य वस्तु उपभोगबाट हुने मृत्यु विश्वव्यापीरूपमा निकै ठूलो छ। एक तथ्यांकअनुसार विश्वमा प्रतिवर्ष ७० लाख मानिसको मृत्यु सूर्तीजन्य वस्तुको उपभोगबाट हुन्छ। अहिलेको सूर्ती उपभोगको प्रवृत्तिमा परिवर्तन भएन भने आगामी सन् २०३० मा ८० लाख मानिस यसको सिकार हुनेछन्। धूमपानबाट प्रत्यक्ष मात्र होइन, परोक्षरूपमा समेत सर्वसाधारण प्रभावित हुन्छन्। आफूले धूमपान नगरे पनि अरूका कारणबाट धेरैले ज्यान गुमाउने अवस्था हुन्छ। नेपालमा पनि यसका प्रयोगकर्तामध्ये प्रतिवर्ष २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको छ। धूमपानबाट मुटु र स्वास÷प्रस्वाससम्बन्धी रोग लाग्छ। यसका साथै क्यान्सको प्रमुख कारक पनि यसैलाई मान्ने गरिएको छ।

यसर्थ, धूमपान रोक्न सक्दा मुलुकको स्वास्थ्यसम्बन्धी खर्च कम हुन्छ। सुर्तीजन्य उद्योग र व्यापारले धेरै ठूलो मात्रामा मुलुकलाई कर र राजस्व प्राप्त भए पनि स्वास्थ्य क्षेत्रमा गरिने खर्च निकै ठूलो हुन्छ। अतः सर्वसाधारणको स्वास्थ्य जोगाउन पनि यसमा बढी भन्दा बढी कर लगाउने र सहज उपलब्ध नहुने व्यवस्था गर्नु उचित हुन्छ। सर्वसाधारणको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने हो भने मेक्सिकोमा जस्तै गरी धूमपानविरुद्ध कडा कानुन बनाउन सक्नुपर्छ। प्रत्यक्ष धूमपान गर्नेलाई मात्र होइन, तिनका कारणले अरूलाई समेत जोगाउन विशेष पहल हुनु आवश्यक छ। 

प्रकाशित: ३ माघ २०७९ ००:१८ मंगलबार

धूमपान