अर्थ

गण्डक जलविद्युत् केन्द्रलाई आधुनिकीकरण गरिने

नेपाल विद्युत् प्राधिरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका-७ सूर्यपुरास्थित १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत् केन्द्रको पुनर्स्थापना र आधुनिकीकरण गर्ने भएको छ। 

विद्युत्गृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरण पुराना र जीर्ण बनेर चल्न नसक्ने अवस्थामा पुगेपछि प्राधिकरणले पुरानो प्रविधिका उपकरणको स्थानमा नयाँ जडान गरी केन्द्रलाई पुनर्स्थापना र आधुनिकरण गर्न लागिएको हो। विद्युत् केन्द्र परिसरमा रहेका अधिकांश भवन र संरचना समेत जीर्ण बनेका छन्।

नेपाल र भारत सरकारबीचको गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्झौता बमोजिम निर्माण गरिएको जलविद्युत् केन्द्रमा १९७९ को अप्रिलबाट विद्युत् उत्पादन सुरु गरिएको थियो। भारत सरकारबाट गण्डक सम्झौता बमोजिम नेपाललाई जलविद्युत्गृह ३१ अगष्ट १९८१ मा हस्तान्तरण गरिएको थियो। एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले गण्डक जलविद्युत्गृहको पुनर्स्थापना र आधुनिकीकरणको विस्तृत डिजाइन, लागत अनुमान तयार गरी प्राधिकरणमा पेश गरिसकेको छ।

 जलविद्युत् केन्द्रको पुनर्स्थापना र आधुनिकीकरणका लागि करिब ४२ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ। विद्युत्गृहमा ५/५ मेगावाटका तीन वटा युनिट रहेका छन्। त्यसमध्ये २ वटा चल्ने अवस्थामा छन् भने एउटा युनिट बिग्रिएर लामो समयदेखि चल्न सकेको छैन। चालु अवस्थामा रहेका युनिटका उपकरण पुराना भएकाले फेर्नुपर्ने अवस्थामा छन्।

दुई देश बीचको गण्डक सम्झौता बमोजिम गण्डक बाँध सञ्चालनको सम्पूर्ण अधिकार भारतमा निहीत रहेकाले भारतले नहरमा पानी छोडेका आधारमा विद्युत्गृह सञ्चालन हुन्छ। जसले गर्दा विद्युत्गृहलाई सजिलोसँग वर्षैभरी निरन्तर सञ्चालन गर्न चुनौतीपूर्ण छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले स्थलगत अनुगमन भ्रमण गरी जलविद्युत् केन्द्रको अवस्थाका बारेमा जानकारी लिएको छ। कार्यकारी निर्देशक घिसिङले ४१/४२ वर्षअघि निर्माण भएको विद्युत् केन्द्रका उपकरण पुरानो भई चल्न नसक्ने अवस्थामा पुगेका र केन्द्र आफैं पनि जीर्ण बनेकोले पुनर्स्थापना तथा आधुनीकरणका लागि छिट्टै टेण्डर गर्न लागिएको बताए।  

‘मर्मतसम्भार र निरीक्षण भन्दै भारतीय पक्षबाट हरेक साल अक्टोबर-नोभेम्बर र मार्च-अप्रिलमा गरी झण्डै चार महिना नहर बन्द गर्ने गरिएको छ, नहर बन्द गरिएपछि पानी उपलब्ध नहुँदा विद्युत्गृह सञ्चालन गर्न सकिंदैन, चार महिना विद्युत् उत्पादन बन्द हुँदा हामीले दैनिक रूपमा लाखौं रूपैयाँ आम्दानी गुमाउँछौं’, उनले भने, ‘उपकरणहरू पुरानो भएकाले पानी उपलब्ध हुँदा समेत विद्युत् केन्द्र पूर्ण क्षमतामा चल्न सकिरहेको छैन त्यसैले यसको पुनर्स्थापना र आधुनिकीकरण गर्न लागिएको हो।’

नेपाल-भारत सीमाको बिहार राज्यको बाल्मिकी नगरमा नारायणी नदीमा बाँध बनाइएको छ। उक्त बाँधबाट गण्डक मुख्य पूर्वी र पश्चिम दुई वटा नहर निर्माण गरी भारतर्फ सिँचाइका लागि नारायणी नदीको पानी लगिएको छ।

भारतको उत्तर प्रदेश राज्यमा सिँचाइका लागि निर्माण गरिएको गण्डक मुख्य पश्चिम नहरबाट विद्युत्गृह सञ्चालनका लागि पानी उपलब्ध हुन्छ। बाँधबाट झण्डै १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा विद्युत्गृह रहेको छ।

बिहार राज्यको जलसंसाधन विभागले गण्डक बाँधको सञ्चालन र मर्मत सम्भार गर्दै आएकाले उसकै नियमनमा बाँध सञ्चालन हुन्छ। विभागले आफ्नो राज्यको आवश्यकता अनुसार बाँधका ढोका खोली पानी लैजाने हुँदा सोही बमोजिम गण्डक जलविद्युत् केन्द्रबाट विद्युत उत्पादन हुँदै आएको छ।

हिउँदमा सिँचाइका लागि पानी नचाहिने भएकाले हरेक वर्ष विभागबाट मर्मतसम्भार तथा निरीक्षणका नाममा नहर बन्द गरिदिँदा उक्त समयमा विद्युत् उत्पादन गर्न नसकिएको गण्डक जलविद्युत् केन्द्रका प्रमुख सुनीलकुमार चतुर्वेदीले बताए। ‘हरेक वर्ष नहरको मर्मत गरिने भनिएको हुन्छ तर हामीले हेर्दा मर्मतको काम भएको देखिंदैन, हरेक साल करिब ४ महिना नहर बन्द हुँदा विद्युत् उत्पादन गर्न सकिंदैन’, चतुर्वेदीले भने, ‘हरेक वर्ष नहर मर्मत गर्नु पर्दैन। यसबारे पटकपटक विभागका अधिकारीहरूसँग छलफल गरिएको छ तर कुनै निष्कर्ष निकाल्न सकिएको छैन।’

उत्पादित विद्युत् गण्डक विद्युत् केन्द्रको परिसरमा रहेको १३२ केभी गण्डक सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत बर्दघाट सबस्टेसन र भारतको रामनगरतर्फ प्रवाह गर्न सकिन्छ। प्राधिकरणले आवश्यक परेको वेलामा रामनगर सबस्टेसनबाट करिब ४० मेगावाट विद्युत् गण्डक हुँदै आयात गर्ने गरेको छ। प्राधिकरणले गण्डकमा रहेको १३२/३३ केभी सबस्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरी परासी क्षेत्रमा विद्युत् आपूर्ति गरिरहेको छ।

प्रकाशित: २७ कार्तिक २०७९ ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App