अर्थ

वर्षौंदेखि चुनावी एजेन्डा बन्यो तर हर्दौनामा बनेन पुल

कपिलस्तुको महाराजगञ्ज नगरपालिका– १० हर्दौना भएर बहने बाणगंगा नदीमा पुल बनाउने कुरा वर्षौंदेखि चुनावी एजेन्डा बन्दै आएको छ।  

पञ्चायत, बहुदल र संघीय लोकतान्त्रिक व्यवस्था आउँदासम्म हर्दौनामा पुल चुनावी नारा बनिरहेको छ। हरेक पटकको चुनावमा उम्मेदवारहरूले हर्दाैना र यशोधरा गाउँपालिका– ८ स्थित ईटवा सुल्तनवापुर जोड्ने पुल बनाउने आवश्वास दिँदै आए तर अहिलेसम्म त्यहाँ पुल बन्न सकेको छैन। पुल नहुँदा स्थानीय नागरिक डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ‘अब बन्छ मलाई जिताउनु’ भन्दै उम्मेदवारहरू मत माग्न हरेक पटक आउँछन्। जितेपछि भुसुक्कै बिर्सिन्छन् । अहिले हर्दौनाबासी यसरी नै दुखेसो गरिरहेका छन्।  

‘हर्दौनामा पुल बने यस क्षेत्रको कायापलट नै हुन्छ’ ७० वर्षीय स्थानीय चिन्नीलाल बढई भन्छन् ‘नेताहरूले पुल कै बाहानामा कैयौं पटक भोट तानेर हामीलाई मूर्ख बनाएका छन्।’ आफू सानो छँदै यहाँ पुल बन्ने कुरा बारम्बार उठ्दै आए पनि अहिलेसम्म बन्न नसकेको गुनासो उनले गरे।  

तत्कालीन हर्दौना गाविस र अहिले महाराजगञ्ज नगरपालिका वडा नम्बर १० मा ५ गाउँ पर्छन्। यो भारतसँग सीमा जोडिएको क्षेत्र पनि हो। हर्दौनादेखि उत्तरमा कजारहा हुँदै गैडाहवासम्म पक्की बाटो छ। हर्दौनामा पुल बने सदरमुकाम तौलिहवा जाने बाटो निकै छोटिन्छ। हर्दौनामा पुल बने हर्दौना मात्र होइन जिल्ला कै विकासले फड्को मार्छ। बाणगंगा नदीको लक्ष्मणघाट, रामघाट बिजगौरी र बर्गदीघाट पुल बनेर सञ्चालनमा आइसकेको छ तर हर्दौनामा भने अहिलेसम्म आश्वासन बाहेक केही नपाएको चिन्नीलाल बताउँछन्।  

लगातार चार पटक सांसद पदमा निर्वाचित बृजेशकुमार गुप्ता, नेता सुरेन्द्रराज आचार्य अहिले सो क्षेत्रमा आमनेसामने भएका छन्। दुबै नेता यसअघि २०७४ सालमा सम्पन्न निर्वाचनमा हर्दौनामा पुल बनाउने एजेन्डा लिएर गाउँ पसेका थिए। सांसद गुप्ताले चौथो पटक सांसद जिते पनि पुल बनाउन नसकेको चिन्निलालले बताए। अहिले फेरि दुबै उम्मेदवारले हर्दौनामा पुल बनाउने कुरा उठाएका छन् तर हर्दौनाबासी भने यहाँ पुल बन्छ भन्ने कुरा आश गर्नै छाडेको बताउँछन्।  

हर्दौनाका अर्का स्थानीय ६५ वर्षीय लालता यादवले नेताहरू गाउँमा पुल बनाउने र नदीको वहाव मोड्ने भन्दै पटकपटक भोट माग्न आए पनि निर्वाचन पछि सबैले बिर्सिने गरेको बताए। पुल नहुँदा कठिन यात्रा मात्र होइन बाढीको जोखिम समेत बेहोर्नुपरेको उनले बताए। आफूलाई जानकारी भएसम्म गाउँमा अहिलेसमेत ७ पटक भन्दा बढी नदी पसेर लाखौंको जनधन क्षति गरेको छ। बाढीले गर्दा अहिलेसम्म यस क्षेत्रका ७ जनाले ज्यान समेत गुमाइसकेका छन्। नदीले बाहाव परिवर्तन गर्दा गाउँको २ सय बिघाभन्दा बढी जमिन बगरमा परिणत भएको लालतले बताए। नदीको पश्चिम पट्टी रहेको आफनो ४२ बिघा जमिन बगरमा परिणत भएकाले अहिले आफूलाई परिवार पाल्न समेत धौधौ भएको उनले बताए। केही महिना अघि आएको बाढीले पश्चिम पट्टी २५ मिटरभन्दा बढी कटान गरेको छ।  

नदी कटान रोक्न राखिएका सबै पोल बाढीले भत्काइसकेको छ। पुल नबन्दा र नदीको वहाव परिवर्तन गर्ने कार्य नहुँदा हर्दौनाबासी आक्रोसित बनेका छन्। स्थानीय नागरिक यस पटक नेताको आश्वासनमा नफस्ने बताउँछन्। ठोस प्रतिबद्धतासहित पुल बनाउने र नदीको बहाव परिवर्तन गर्ने गरी काम अघि बढाउनेलाई मतदान गर्ने हर्दौनाबासीको भनाइ छ। उता कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आचार्यले आफनो पहलमा बाणगंगा नदीको सिँचाइ तटबन्ध लगायतका कामका लागि ६ अर्ब बढीको बजेट स्वीकृत गराएको दाबी गरे। यस पटक आफू निर्वाचित भए हर्दौनाबासीको चाहना र सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: २० कार्तिक २०७९ ०२:४६ आइतबार

महाराजगञ्ज नगरपालिका